कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकतामा कांग्रेसको ‘बटमलाइन’– 'अंगीकृतमा ०६३ कै प्रावधान’

कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले नागरिकता ऐन २०६३ मा भएको वैवाहिक अंगीकृतसम्बन्धी व्यवस्थालाई पार्टीको ‘बटमलाइन’ बनाएको छ ।

नागरिकतामा कांग्रेसको ‘बटमलाइन’– 'अंगीकृतमा ०६३ कै प्रावधान’

बालुवाटारमा आइतबार सत्तारूढ दलसँगको शीर्ष छलफलमा कांग्रेस नेताहरूले राज्य प्रणालीविरुद्ध सडकमा असन्तुष्टि बढिरहेका बेला नागरिकतालगायत दर्जनभन्दा बढी विवादास्पद विधेयक बहुमतको आडमा पारित नगर्न प्रधानमन्त्री केपी ओलीलाई सचेत गराएका छन् ।

पछिल्ला घटनाक्रमबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा आफैं समय लिएर आइतबार साँझ बालुवाटार पुगेका थिए । देउवासहितका ११ शीर्ष नेता छलफलमा सहभागी थिए । सत्तारूढ दलका तर्फबाट नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए । प्रधानमन्त्री ओलीले सहमति जुटाउनकै लागि आफूले नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा मतदान हुन नदिएको जानकारी कांग्रेस नेताहरूलाई गराएका थिए ।

राज्य व्यवस्था समितिको शनिबारको बैठकले विवादित विषयको टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई दिने निर्णय लिएको थियो । ‘नागरिकता ऐन ०६३ मा भएको व्यवस्था हाम्रो बटमलाइन रहेको जानकारी गराएका छौं,’ कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने, ‘त्यतिबेला सर्वदलीय सहमतिकै आधारमा यस्तो व्यवस्था राखिएकाले यसलाई चलाउन हुन्न भन्ने हाम्रो धारणा हो ।’

प्रस्तावित विधेयकमा विदेशी महिलालाई अंगीकृत नागरिकता कति वर्षमा प्रदान गर्ने, प्रक्रिया के हुने र कुन–कुन अधिकार दिनेजस्ता विषयमा सहमति नजुट्दा नागरिकता ऐन एक वर्षदेखि राज्य व्यवस्था समितिमै अड्किएको छ । नागरिकता ऐन २०६३ मा अंगीकृत नागरिकता लिन चाहने विदेशी महिलाले विवाह गरेपछि निश्चित ढाँचामा निवेदन दिन सक्ने व्यवस्था छ । निवेदनसँगै आफ्नो मुलुकको नागरिकता त्याग्न कारबाही चलाएको निस्सा पेस गरे हुने तर पेस गर्न नसके पनि अंगीकृत नागरिकता रद्द नहुने व्यवस्था ऐनमा छ ।

अहिलेको प्रस्तावित विधेयकमा भने नागरिकता त्यागेको अन्तिम प्रमाण ६ महिनाभित्र पेस नगरे रद्द हुने व्यवस्था छ । यस्तो प्रावधान राखिएमा मधेसमा अशान्ति बढ्न सक्ने भन्दै कांग्रेस नेताहरूले प्रधानमन्त्रीलाई सचेत गराएका हुन् । अंगीकृत नागरिकतासम्बन्धी प्रावधानप्रति सबै पार्टीमा रहेका मधेसी नेता तथा सांसदको विशेष चासो रहँदै आएको छ ।

प्रधानमन्त्रीले नागरिकता विधेयकमा बृहत् छलफल गरेर मात्रै अघि बढ्ने जानकारी गराएका थिए । बैठकमा सहभागी नेकपा महासचिव विष्णु पौडेलले नागरिकतालगायत धेरै विधेयकमाथि छलफल भएको बताए । ‘उहाँहरूले कानुन निर्माणका विषयमा चासो राख्नुभएको थियो, त्यस्ता कानुन बनाउँदा हाम्रो चासो पनि सुनियोस् भन्नुभयो,’ पौडेलले भने, ‘हामीले छलफलबाटै अघि बढ्न चाहेका छौं । त्यहीअनुसार पहल गरिरहेको बतायौं ।’


पौडेलले सत्तापक्ष र प्रतिपक्षबीचको छलफलले विश्वासको वातावरण बनाउने काम गरेको बताए । ‘प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्ष हाम्रो राजनीतिक प्रणालीकै अंग भएकाले यसलाई मजबुत बनाएर अघि बढ्नुपर्छ भन्नुभएको छ, उहाँहरू पनि यो मान्यतामा स्पष्ट हुनुहुन्छ,’ पौडेलले थपे, ‘नागरिकता विधेयकको सन्दर्भमा उहाँहरूको कन्सर्न राख्नुभएको छ । हामीले छलफल गरेरै अघि बढ्छौं भनेका छौं ।’

कांग्रेसले नागरिकता विधेयकका अतिरिक्त मिडिया काउन्सिल, मानव अधिकार, सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, भूमि व्यवस्था, सम्पत्तिको पैत्रिक हक, प्रहरी संगठनसम्बन्धीलगायत दर्जन बढी विधेयकमाथि प्रतिपक्षसँग छलफल नभएको र संविधानविपरीत रहेको भन्दै आपत्ति जनाएको थियो ।

संघीयतालाई कमजोर बनाउने र केन्द्रीकृत शासन सत्तालाई बल पुग्ने गरी आएका विधेयकका कारण सडकमा असन्तुष्टि चुलिएको कांग्रेसको ठहर छ । कांग्रेसले राष्ट्रिय सभाबाट पारित हुने क्रममा रहेको भूमिसम्बन्धी विधेयकका प्रावधानलाई लिएर असन्तुष्टि जनाएको थियो ।

कांग्रेसले हदभन्दा बढी जग्गा राख्न पाउने, बिक्रीवितरण गर्न सक्ने र गौचरण रहेका खुला ठाउँमा समेत सरकारी भवन निर्माण गर्न सक्ने गरी विधेयक ल्याएकामा असन्तुष्टि जनाएको छ ।

सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राज्य प्रणालीमाथि असन्तुष्टि बढिरहेका बेला विवादास्पद प्रावधान रहेका विधेयक हतारिएर पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका थिए । ‘यो छलफललाई सकारात्मक रूपमा लिनुपर्छ, राज्य प्रणालीमाथि चारैतिर खतरा आइरहेका बेला कतिपय विधेयक हतारिएर अहिल्यै पारित गर्नुपर्छ भन्ने पक्षमा जानु हुँदैन,’ दाहालको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले पनि छलफललाई आफूले सकारात्मक रूपमा लिएको बताए । सोमबार सर्वदलीय बैठक गर्ने योजना भइरहेका बेला कांग्रेस सभापति देउवाले बैठकको संयोजन गरेकामा ओलीले धन्यवादसमेत दिएका थिए । उनले प्रतिपक्षसँग संवाद गरेरै अघि बढ्न आफू तयार रहेको बताउँदै राज्यप्रणालीमाथि आइरहेका खतरालाई मिलेरै सामना गर्नुपर्ने बताएका थिए ।

कांग्रेस सभापति देउवाले बैठकको सुरुमै बाँकेमा आफ्नो पार्टीको कार्यक्रममा आक्रमण भएको घटनाको विषयलाई गम्भीरतापूर्वक उठाएका थिए । पार्टीको राष्ट्रिय जागरणक्रममा बाँकेमा नेकपाकै कार्यकर्ताले कार्यक्रम स्थलमा प्रवेश गरी आक्रमण गरेको भन्दै देउवाले उनीहरूमाथि कारबाही हुनुपर्ने माग गरेका थिए । ओलीले आक्रमणमा संलग्नविरुद्ध मुद्दा दर्ता भइसकेको जानकारी गराउँदै कारबाही हुने आश्वासन दिएको जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिए । सोही विषयलाई लिएर आइतबार संसद् बैठकसमेत अवरुद्ध भएको थियो ।

सरकारका कतिपय निर्णय र गतिविधिले समेत गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा सडकमा असन्तुष्टि चुलिएको कांग्रेस नेताहरूको धारणा थियो । कांग्रेसविरुद्ध तत्काल मुद्दा दर्ता हुने तर कांग्रेस कार्यकर्ताले कुनै घटनामा जाहेरी लिएर गए प्रहरीले दर्ता नै नगरिदिने प्रवृत्ति बढेको कांग्रेस नेताहरूले बताएका थिए । सरकारका गतिविधि र कतिपय निर्णयले समेत सडकको असन्तुष्टिलाई बल पुगेको तर्क कांग्रेस नेताहरूको थियो ।

‘अहिलेको राज्यप्रणाली हामी सबैले बोकेर ल्याएका हौं, प्रणालीमाथि खतरा आउँदा हामी सबै एक हुनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘प्रतिपक्षसँग संवाद राम्रो भएको छैन, केही कमजोरी भएका छन् । अब कमजोरी सुधारेर अघि बढिन्छ ।’ कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको बताए ।

प्रकाशित : भाद्र ३०, २०७६ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?