हुम्लामा ५ म्याग्निच्यूडको भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको केही विवरण आउन सकेकाे छैन ।

गत भदाै ५ मा सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडकोको भूकम्प गएको थियो ।

प्रकाशित : भाद्र २९, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

बुधलाल

कान्तिपुर संवाददाता

झापामा कन्काई नदीछेउ शिवगन्ज भन्ने गाउँ छ  । त्यहाँ एउटा सानो परिवारको बसोबास थियो  ।

आमा, बाबा र छोराछोरी चार जनाको सानो र सुखी परिवार ।एघार वर्षका बुधलाल कक्षा ६ मा पढ्थे, उनकी ६ वर्षीया बहिनी हीरादेवी कक्षा १ मा पढ्थिन् । बाबा वस्तुभाउको हेरचाहका साथै खेतबारी खनजोतको काम गर्नुहुन्थ्यो । आमा घरको कामधन्दा सकेर करेसाबारीमा सागसब्जी लगाउनुहुन्थ्यो । कुखुरालाई चारो दिने, बाख्रापाठालाई खोरमा हुल्ने काम बुधलालको भागमा थियो । हीरादेवी सानै भएकीले उनका लागि काम छुट्ट्याइएको थिएन । परिवारका सबै जना एक–अर्कालाई औधि माया गर्थे ।


भदौ महिना चर्को गर्मी थियो । बाबाआमा आइतबारे हाट जान तयार हुनुभयो । हिजो राति नै जमाएर राखेका दहीका हन्डीहरू बाबाले एकएक गरी भारमा राखिसक्नुभएको थियो । करेसाबारीबाट निस्किएका तरकारी र कुखुराका अण्डा पनि बजारमा बेच्न लैजान आमाले ढाकीमा राख्नुभयो ।घरबाट निस्कनै लाग्दा आमाले बुधलाललाई भन्नुभयो, ‘बाबु घर छाडेर कतै नजानू । बहिनीको र आफ्नो ख्याल राख्नू । खोलातिर नजानू, खोलाको पानी अझै घटेको छैन । हामी आइहाल्छौं ।’बुधलालले ‘हुन्छ’ भन्दै टाउको हल्लाए । ‘फर्कंदा ममफुली र ढुङ्ग्री ल्याइदिनू है त,’ उनले भने । हातमा चिउँडो अड्काएर टीभी हेर्दै गरेकी हीरादेवीले टाउको उठाउँदै भनिन्, ‘मलाई पनि चटपट है ।’ ‘हुन्छ, सबै कुरा ल्याउँछु, घर छाडेर कतै नजानू,’ निस्कँदानिस्कँदै आमाले फेरि सम्झाउनुभयो । बुधलाल र हीरादेवी टीभी हेर्न थाले । दुवैका लुगा पसिनाले छपक्क भएको थियो । बुधलाल गर्मीले छट्पटिए । बाहिर निस्किए र आँपको गाछमुनि गयो । रूखको एउटा पत्ता पनि हल्लिएको थिएन । त्यहाँ पनि उसलाई गर्मीले छाडेन । खोलातिर हेर्‍यो । २–४ जना ठूला मान्छेहरू नुहाउँदै गरेको देखे । उनी पनि लुसुक्क खोलातिर लागे । कपडा फुकालेर किनारमा राखे र खोलाभित्र पसे । खोलाको छेउछाउमा नुहाउँदानुहाउँदै पानी धेरै भएको ठाउँमा पुगे । बुधलालले पौडन जानेनन्, उनी अत्तालिन थाले, २–४ घुट्की पानी पनि निले ।


त्यत्तिकैमा कसैले उनको पाखुरामा पक्रेर बाहिर निकाल्यो । पल्लाघरे सोनुदाइ हुनुहुँदो रहेछ । ‘ओई फुच्चे, एक्लै किन आएको ? घर जाऊ,’ दाइले भन्नुभयो ।
अनुहार अँध्यारो बनाउँदै बुधलाल घरतिर लागे । साँझमा बाबाआमा घर फर्कनुभयो । सोनुदाइले बाटैमा बुधलाल डुबेको कुरा बाबाआमालाई भनिसक्नुभएछ । घर आउनासाथ टाउकाको ढाकी भुइँमा राखेर आमाले बुधलाललाई काखमा बसाल्नुभयो ।‘आमाले भनेको किन नमानेको ?’ यति भन्नासाथ आमा सुक्कसुक्क रुन लाग्नुभयो । ‘तिमीले किन दुःख देको बाबु ?’ बाबाले थप्नुभयो ।बुधलाललाई नरमाइलो लाग्यो । आमाको आँखामा आँसु देखेर उसलाई पछुतो भयो । उसले भन्यो, ‘अबदेखि हजुरहरूले भनेको सबै मान्छु ।’


‘अब त्यसो नगर्ने भनिसक्यो त,’ बाबाले आमालाई सम्झाउनुभयो, ‘अब काममा लाग ।’सारीको सप्कोले आँखा र नाक सफा गरी आमाले बुधलालको हातमा बजारबाट ल्याएको खानेकुराको पोको राखिदिनुभयो । हीरादेवीले पनि झटपट आमाको हातमा रहेको चटपटको पोको लिएर खान थालिन् । बुधलालको निधारमा एकपटक चुम्बन गरी आमा खाना बनाउन भान्सातर्फ लाग्नुभयो ।त्यस दिनदेखि बुधलाल आमाबाबाले भनेको सबै मान्छन् । उहाँहरूले नगर भनेको कुरा हाम्रै हितका लागि हो रहेछ भन्ने उनले बुझेका छन् । आमाबाबा हाटबजार जाँदा घरको हेरचाह राम्ररी गर्छ । बुधलालको परिवार हाँसीखुसी बसेका छन् ।

सविता मैनाली

प्रकाशित : भाद्र २९, २०७६ ११:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×