कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सरकारी अस्पतालमा दलालको सञ्जाल

‘सरकारीमा आईसीयू खाली छैन भन्दै निजीमा लग्दा दलालले एक जना बिरामीबापत १० हजार रूपैयाँसम्म कमिसन पाउँछन् ’
जितेन्द्र साह

विराटनगर — सरकारी अस्पतालमा सहज र सुलभ उपचार हुने आसमा आउने विपन्न सेवाग्राही ठगिने गरेका छन् । अस्पतालमै दलालबाट उनीहरू ठगिने गरेका हुन् । दिनहुँ हजार हाराहारीमा बिरामी पुग्ने विराटनगरस्थित कोसी अस्पतालमा दलालको बिगबिगी छ ।

सरकारी अस्पतालमा दलालको सञ्जाल

दलालले अस्पतालका कर्मचारी, समाजसेवी, स्वयंसेवी, स्वास्थ्यकर्मी र दलका सहयोगी कार्यकर्ता भएको भन्दै आफूहरूलाई चिनाउने गरेका छन् । बिहानैदेखि अस्पताल भित्र, बाहिर, वरिपरि, बहिरंग, आकस्मिक, प्रसूति, प्रयोगशाला एवं एक्सरे कक्ष चहारिरहेका हुन्छन् ।


अस्पतालले चिकित्सकदेखि प्रशासनिक कर्मचारीका लागि परिचय कार्ड भिर्नुपर्ने अनिवार्य नगरेकाले दलाललाई सजिलो भएको छ । उनीहरूले विपन्न एवं अशिक्षित सेवाग्राहीलाई सहयोग गरिदिने भन्दै अस्पतालको सामाजिक सेवा एकाइले प्रदान गर्ने न्यूनतम २५ देखि शतप्रतिशत उपचार छुटसमेत झुक्याएर लिने गर्छन् । ‘चिकित्सकले परीक्षणहरू लेखेमा छुट गराइदिन्छु भन्दै उनीहरू विश्वासमा पार्छन्,’ सुनसरीको बर्जु–३ का सेवाग्राही श्रीप्रकाश पण्डितले भने, ‘त्यसपछि बिरामीलाई थाहै नदिई अस्पतालले गरिबलाई दिने छुट दलालले लिन्छन् ।’


विपन्न, दलित, जनजाति, आदिवासी, मधेसी, एकल महिला, ज्येष्ठ नागरिक, आश्रित, दुर्घटनामा परेका, प्रहरीले ल्याएका थुनुवा एवं विपतमा परेकालाई उपचार सेवाबाट वञ्चित हुन नदिन सरकारले बर्सेनि यो अञ्चल अस्पताललाई थप बजेट उपलब्ध गराउँदै आएको छ । अस्पतालले सामाजिक सेवा एकाइमार्फत दिने यो सेवामा समेत दलालले चलखेल गर्छन् ।


गाउँतिरका बिरामी ओर्लने विराटनगरको स्थानीय बसपार्क एवं सफारी स्ट्यान्डदेखि अस्पतालसम्म दलाल सक्रिय छन् । ‘दलालका आँखा यति तेज हुन्छन् कि बिरामी गाडीबाट झर्न नपाउँदै मिठोचिल्लो कुरा गर्दै सफारीमा बसाएर कोसी अस्पताल लगिहाल्छन्,’ विराटनगर शनिमन्दिर चोकका मोहम्मद कादरीले भने ।


हालै मात्र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त भएका डा. गुणराज लोहनीले अस्पतालका लागि दलाल ठूलो समस्या रहेको स्विकारे । जनगुनासोअनुसार उनले पहिलो चरणमा केही स्वयंसेवी स्वास्थ्यकर्मी र प्रसूतिका अनुशासनहीन सफाइ कर्मचारीलाई अन्य विभागमा सरुवा गरेको बताए ।


निजी अस्पताल, प्रयोगशाला, दलाल र औषधि पसलसँगको मिलेमतोमा बाहिर बिरामी पठाउने गरेको ती स्वयंसेवी स्वास्थ्यकर्मीमाथि आरोप थियो । बच्चा जन्मेपछि प्रसूतिका सफाइ कर्मचारीले पाँच सय/हजार रुपैयाँ माग्ने र नदिँदा दुर्व्यवहार गर्ने गरेको गुनासो सेवाग्राहीले अस्पताल प्रशासनसँग गरिरहेका थिए । ‘प्रवेश द्वारदेखि हरेक विभागमा निगरानी बढाएका छौं, बिरामीसँगै उनीहरूलाई आउन नदिन चिकित्सक एवं कर्मचारीलाई निर्देशन दिएको छु,’ लोहनीले भने ।


पाँचवर्षे कार्यकालमा १० दलाललाई कारबाही गरेको पूर्वमेसु एवं अस्पतालको मानसिक रोग विभाग प्रमुख डा. रोशन पोखरेलले बताए । ‘प्रहरी खोरमा दुई/तीन दिनसम्म थुनाउने, अस्पतालबाट लखेट्ने र चेतावनी दिनेसम्म गर्‍यौं,’ उनले भने, ‘तर सकिएन, केही दिन सब ठीकठाक हुन्छ, फेरि उस्तै, अहिले थप नयाँ जन्मेका छन् ।’


सस्तोमा उपचार गराइदिने भन्दै यो समूहले अस्पतालमा आएका बिरामीको विभिन्न कोणले आर्थिक शोषण गरिरहेका हुन्छन् । यो अस्पतालमै विशेष छुटमा चाँडो उपचार गराइदिने, अवैध गर्भ बोकेकालाई चिकित्सकसँगकै मिलेमतोमा महँगा निजी अस्पतालमा लग्ने, सरकारी अस्पतालमै निःशुल्क वा सहुलियत शुल्कमा शल्यक्रिया हुने सेवाग्राहीलाई निजीमा पठाउने एवं निजी प्रयोगशाला वा औषधि पसलमा बिरामीलाई फकाएर लगि यो समूहले पैसा कमाउँछन् ।


अस्पतालमा हजार रुपैयाँ शुल्कमा विज्ञ चिकित्सक टोलीद्वारा सुरक्षित गर्भपतन हुन्छ । अन्य मान्यता प्राप्त निजी अस्पतालमा २ हजार ५ सय रुपैयाँ शुल्कमा यो सेवा उपलब्ध छ तर दलालले समस्यामा परेका चेलीलाई महँगा अस्पताल लान्छन् ।


पत्थरीलगायत विभिन्न शल्यक्रिया यो सरकारी अस्पतालमा निजीको भन्दा ७५ प्रतिशत कम शुल्कमा हुन्छ तर दलालले सस्तोमा काम गराइदिएको भन्दै सोझासाझा बिरामीबाट पैसा असुल्नुका साथै बढी रकम ठग्नलाई वरिपरिका निजी अस्पतालमा समेत लान्छन् ।


नियमविपरीत कोसी अस्पतालको दुई सय मिटरभित्र ८ वटा निजी अस्पताल, चिया पसलझैं झन्डै ६० वटा नर्सिङ होम, क्लिनिक, ल्याब र औषधि पसल सञ्चालित छन् । मुलुक संघीयतामा जानुअघिको स्वास्थ्य निर्देशिकाअनुसार दुई अस्पतालबीचको दूरी कम्तीमा एक किमि हुनुपर्ने उल्लेख छ । ‘संघीय स्वास्थ्य मन्त्रालयले पुरानो निर्देशिका परिमार्जन गर्दै छ, दुई साताभित्र नयाँ आइपुग्ला,’ प्रदेश १ स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले भने, ‘यो आएपछि मात्र केही भन्न मिल्ला ।’


कोसी अस्पतालकै नाम चलेका चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीको वरिपरि निजी अस्पताल र नर्सिङ होममा प्रत्यक्ष वा परोक्ष लगानी वा संलग्नता छ । यी निजी अस्पताल एवं दलालबीच पनि दह्रो मिलेमतो ‘खुला गोप्य’ झैं भएको छ । ‘सरकारीमा आईसीयू खाली छैन भन्दै निजीमा लग्दा दलालले एक बिरामीबापत १० हजार रुपैयाँसम्म कमिसन पाउँछन्,’ अस्पताल नजिकैका एक औषधि व्यवसायीले भने । यसमा अस्पतालकै कर्मचारी एवं स्वास्थ्यकर्मीको संलग्नता हुन्छ ।


कोसी अस्पतालमा कार्यरत एक चिकित्सकले परीक्षणहरू लेखी आफ्नै प्रयोगशालामा पठाएको प्रमाण फेला परेपछि छ महिनासम्म बिरामी हेर्न नपाउने गरी गत वर्ष कारबाही गरिएको डा. पोखरेलले बताए । त्यो घटनापछि यहाँ उपचारका लागि आएका बिरामीका हकमा उत्कृष्ट उपकरण एवं दक्ष प्राविधिकयुक्त यो अस्पतालकै प्रयोगशालामा परीक्षण गराउन अनिवार्य गराएको उनले बताए ।


सामान्यदेखि जटिल परीक्षण हुने यो अस्पतालको प्रयोगशाला एवं एक्सरे विभागमा दिनहुँ करिब ६ सय सेवाग्राही आउँछन् ।

चिनेसम्म दलाललाई लखेट्ने गरेको एवं उनीहरूसँग विवादसमेत हुने गरेको अस्पतालस्थित छिमेकी प्रहरीका हवल्दार गणेश बस्नेतले बताए । ‘गरिब, असहाय, ज्येष्ठ नागरिक, एकल महिला एवं समस्यामा परेकालाई छुट दिँदा अस्पतालले विधिवत उधारो लेखेर प्रिन्टेड बिल काट्छ,’ उनले भने, ‘त्यति बराबरको रकम सरकारले अस्पताललाई दिने हुनाले क्रेडिट लेखिएको हुन्छ ।’


तर दलालले बिरामीलाई बाहिर भन्दा धेरै छुटमा उपचार गराइदिएको भन्दै क्रेडिट बिलमा उल्लेख गरिएको रकम अशिक्षित सोझा बिरामीबाट लिने गरेको बस्नेतले बताए । ‘समाउँछौं पनि तर प्रमाण अभावमा छुट्छन्,’ हवल्दार बस्नेतले भने, ‘विभिन्न दलमा आबद्ध गाउँका टाठाबाठा ती दलालविरुद्ध सर्वसाधारण गाउँले उजुरी दिन डराउँछन् ।’ अस्पतालमा कडाइ गर्दा दलालले धेरै पटक सरुवा गराइदिने धम्की दिएको उनले बताए ।


अस्पतालका अनुसार थाइरोइड, मुटु परीक्षणका लागि गरिने इकोकार्डियोग्राम र क्यान्सर पत्ता लगाउन गरिने मासु परीक्षणमा ज्येष्ठ नागरिकबाहेक अरूलाई सामान्यतः छुट हुन्न । अस्पतालकै कर्मचारीले समेत यी परीक्षण गराउँदा अनिवार्य रूपले बिल काट्नुपर्छ । ‘तर विभिन्न दलका नेता र पहुँच भएका दलालले जटिल परीक्षणमा समेत दबाब दिएर ५० प्रतिशत छुट गराउँछन, दिन नमान्दा नक्कली बिलसमेत पेस गर्छन्,’ अस्पतालका एक प्राविधिकले भने, ‘छुट गराएको आधा रकम बिरामीबाट असुल्छन्, नक्कली बिल लिएर आउने दलाललाई फर्काउँछौं, यसो नगर्नुस् भनेर सम्झाउँदा उनीहरू उल्टै हामीसँग झगडा गर्छन् ।’


दैनिक १ सय ५० देखि २ सयले छुट सेवा लिने गरेको सामाजिक सेवा एकाइका प्रमुख नूतन भट्टराईले बताए । यो सेवाअन्तर्गत ज्येष्ठ नागरिक एवं पूर्णतया अपांगले पुर्जीको समेत शुल्क तिर्न नपर्ने गरी उपचार पाउँछन् । निम्न वर्गकाले औषधिसमेत पाउँछन् । ज्येष्ठ नगारिक अस्पताल भर्ना हुँदा खानाबाहेक सबै खर्च अस्पतालले बेहोर्छ ।


तर सामाजिक सेवा एकाइबाट प्रत्यक्ष रूपले दिनहुँ ८/१० गरिब र बाँकी टाठाबाठा लाभान्वित हुने गरेको गुनासोपछि सतर्क रहेको उनले बताए । बिरामीको निकट बताउने दलालबाट आफूहरू हैरान भएको भट्टराईले स्वीकारे । उनले भने, ‘विभिन्न दलका नेता र मन्त्रीको मान्छे हुँ र जनताको सेवा गर्न आएको भन्दै छुट काउन्टरमै आएर होहल्ला गर्छन् र धम्क्याउँछन् ।’


एकाइमा बिरामीको आर्थिक अवस्था बुझेर उपचारमा २५ देखि शतप्रतिशतसम्म छुट हुन्छ । विपन्न, असहाय र ज्येष्ठ नागरिकलाई अधिकांश परीक्षणमा शतप्रतिशत छुट छ ।


‘वास्तविक पीडितले मात्र यो सुविधा पाउन् भनेर बिरामी लिएर आउन भन्छौं, अशक्त अवस्थाका बिरामी भएमा एकाइका कर्मचारी आफैं हेरेर छुटका लागि सिफारिस गर्छन्,’ भट्टराईले भने । डेढ वर्षअगाडि बिरामीसँग रकम लिँदालिँदै तीन जनालाई अस्पतालको छिमेकी प्रहरी एकाइले पक्राउ गरेको उक्त एकाइका सहजकर्ता बन्धु पहाडीले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?