कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

का‌ंग्रेसमा क्षेत्रीय संरचना गठन धमाधम

काठमाडौँ — कांग्रेसको निर्वाचन क्षेत्र स्तरका संरचना गठनसँगै १४ औं महाधिवेशन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । शनिबारसम्म ३५ जिल्लाको निर्वाचन क्षेत्रीय कार्यसमिति गठन भइसकेका छन् ।

का‌ंग्रेसमा क्षेत्रीय संरचना गठन धमाधम

एक निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा क्षेत्रीय समिति नचाहिने र बाँकी ७ जिल्लामा केही दिनमै गठन भइसक्ने निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले बताए ।


राज्य पुनःसंरचनाका क्रममा दुई जिल्ला थपिनुका साथै वडा, गाउँ, नगर र निर्वाचन क्षेत्र समायोजन भएपछि कांग्रेसका तत्कालीन संरचना भत्किएका थिए । संविधान जारी भएको चार वर्ष पुग्न लाग्दा बल्ल कांग्रेसले संघीय ढाँचाअनुसार संरचना बनाउन लागेको हो ।


पुरानै संरचनालाई समायोजन गरेर अन्तरिम कार्यसमिति गठन गर्न केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन गराउन गठित निर्वाचन समितिलाई जिम्मा दिएको थियो । पार्टीका तल्ला तहका संरचना नहुँदा महाधिवेशन प्रक्रियासमेत अघि बढ्न सकेको थिएन । अहिले गठन भएका संरचना अन्तरिम अवधिका लागि हुन् ।


कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमै गर्नुपर्ने हो तर नहुने निश्चित भएको छ । सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल थपेर ७७ फागुनसम्म महाधिवेशन गर्ने जानकारी केन्द्रीय कार्य समिति बैठकमा गराइसकेका छन् । विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष कार्यकाल बढाउन पाइन्छ । संविधानले त्यसमा थप ६ महिनाको सुविधासमेत दिएको छ ।


महाधिवेशन अघि बढाउन पार्टीको क्रियाशील सदस्यताको नवीकरण र वितरण गर्नुपर्ने हुन्छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको काम विधानले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई सुम्पेको छ । क्षेत्रीय कार्यसमितिले पनि वडा, गाउँ र नगर कार्यसमितिको सिफारिसअनुसार क्रियाशील सदस्यता टुंगो लगाउने गर्छन् ।


महाधिवेशन प्रक्रिया अघि बढाउन निर्वाचन क्षेत्रीयस्तरका कार्यसमितिसँगै गाउँ, नगर र वडा तहका संरचना गठन हुनुपर्छ । सदस्य घिमिरेका अनुसार डोल्पा, मनाङ, मुस्ताङ, सप्तरी, सिरहा, सिन्धुपाल्चोकमा मात्रै क्षेत्रीय कार्यसमिति गठन बाँकी छ । ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाको संरचना गठन अघि बढाइएको छ । घिमिरेले कात्तिक मसान्तभित्र वडा तहसम्मकै संरचना गठन भइसक्ने बताए ।


प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहका पार्टी संरचनाको गठन सकिनासाथ महाधिवेशन प्रक्रिया अघि बढ्ने बताए । प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये अहिले १ सय ३० क्षेत्रीय कार्यसमिति गठन हुनेछन् । एक निर्वाचन क्षेत्र रहेका जिल्लामा निर्वाचन क्षेत्रको काम जिल्ला कार्यसमितिले हेर्छ । प्रदेश कार्यसमिति भने ३ सय ३० क्षेत्रमै गठन गरिने कांग्रेसले जनाएको छ ।


स्थानीय तहका संरचना गठनमा विवाद नहोस् भनेर ९ वटा मापदण्डसहितको निर्देशिका जारी गरिएको थियो । त्यसअनुसार निर्वाचन समितिले वरिष्ठता, महाधिवेशन प्रतिनिधि र क्रियाशील सदस्यता, भूगोलको जनसंख्यालगायत मापदण्डका आधारमा नेतृत्व तय गरेको हो ।


सात प्रदेशका कार्यसमिति गठनमा भने कांग्रेसले अझै निर्णय लिएको छैन । महाधिवेशनको प्रक्रिया अघि बढाउन आवश्यक नपरे पनि पार्टी संगठन सुदृढीकरणका लागि प्रदेश कार्यसमिति तत्काल गठन हुनुपर्ने माग तल्लो तहबाट उठ्दै आएको छ । निर्वाचन कि भागबन्डा भन्नेमा कुरा नमिलेकाले प्रदेश कार्यसमिति गठनमा ढिलाइ हुँदै आएको छ ।

प्रकाशित : भाद्र २९, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?