कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बाँके घटनामा स‌ंलग्नलाई कारबाही नगरे संसद् ठप्प : कांग्रेस

काठमाडौं र बाँके — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूमाथि आक्रमण गर्नेलाई कारबाही नभए संसद् ठप्प पार्ने बताएका छन् । नेपालगन्जमा शनिबार कार्यकर्ता भेटघाटमा उनले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा नियोजित ढंगले आक्रमण भएको बताए ।

बाँके घटनामा स‌ंलग्नलाई कारबाही नगरे संसद् ठप्प : कांग्रेस

‘पार्टीका जिल्ला सभापतिलाई कुटपिट गरेर हात भाँचिएको छ,’ उनले भने, ‘यो नियोजित आक्रमण हो । आक्रमणकारीलाई कारबाही नभए संसद् ठप्प पार्छौं ।’


शनिबारै दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले सत्तापक्षले कांग्रेस नेताहरूमाथि जबर्जस्ती गरिरहेको बताएका थिए । ‘यस्तो कार्य नरोकिए सरकारलाई काम गर्न दिँदैनौं,’ उनले भने । पार्टीभित्रै एकता नभएकाले आक्रमण भइरहेको उनले बताए । बाहिरी आक्रमणबाट बच्न एकता जरुरी रहेकामा उनले जोड दिए ।


कांग्रेसमाथिको आक्रमणलाई उनले लोकतन्त्रमाथिको आक्रमणको संज्ञा दिए । ‘लोकतन्त्रमा शान्तिपूर्ण रूपमा आफ्ना कुरा राख्न पाइन्छ,’ उनले भने, ‘अहिले सरकारले लोकतन्त्रकै उपहास गरिरहेको छ । विरोधीको आवाज दबाउन खोजिरहेको छ । यसविरुद्ध लड्न कांग्रेस एकजुट हुनुपर्छ ।’


बाँकेको खजुरामा कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम चलिरहेका बेला गत बिहीबार नेकपा कार्यकर्ताले आक्रमण गरेका थिए । घटनाको विरोधमा कांग्रेस कार्यकर्ताले शनिबार दिउँसै मैनबत्ती बालेर प्रदर्शनसमेत गरे ।

बाँके सभापति किरण कोइरालासहितका नेता–कार्यकर्ताले सभापति देउवालाई घटनाबारे जानकारी गराउँदै दोषीमाथि कारबाही गर्न र सुरक्षा दिन नसक्ने प्रशासन प्रमुख तथा एसपीलाई हटाउन माग गरे । डेढ घण्टासम्म घटना हुँदा पनि प्रहरी–प्रशासन मौन बसेको भन्दै उनीहरूले आक्रोश पोखे ।


बाँकेका एसपी वीरबहादुर ओलीले भने घटना बाहिर प्रचार गरिएजस्तो नभएको बताएका छन् । एक असई र जवानलाई घटनास्थलमा खटाएको जनाउँदै उनले डेढ घण्टासम्म आक्रमण भएको विषय झुटो रहेको दाबी गरे । ‘भिडियो जम्मा २१ मिनेटको छ,’ उनले भने, ‘डेढ घण्टा कसरी हुन्छ ?’ बेलैमा सुरक्षा प्रत्याभूति गरेकैले घटनाले ठूलो रूप लिन नपाएको उनले बताए । घटनाकै दिन तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


यता नेकपा बाँकेले विज्ञप्ति जारी गर्दै घटना नियोजित नभएको प्रस्ट पारेको छ । ‘कांग्रेसको कार्यक्रममा जानु हाम्रा पार्टीनिकट व्यक्तिको गल्ती हो,’ उनले भने, ‘यी व्यक्तिगत कुरा हुन् । पार्टीले पठाएको होइन । घटना राजनीतिक कारणले भएको पनि होइन ।’


राजधानीमा धर्ना

घटनाको विरोधमा कांग्रेस नेता–कार्यकर्ताले शनिबार काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिए । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सभापतिको नेतृत्वमा धर्ना दिइएको हो । तीनै जिल्लाका सभापतिले बिहान गृहमन्त्री रामबहादुर थापालाई भेटेर दोषीलाई कारबाही माग गर्दै संयुक्त हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका थिए ।


धर्नापछि काठमाडौं सभापति सबुज बानियाँ, ललितपुर सभापति मदनबहादुर अमात्य र भक्तपुर सभापति दुर्लभ थापाले सम्बोधन गरेका थिए । उनीहरूले कांग्रेसको लहर देखिएपछि सत्तारूढ दलका कार्यकर्ताले अत्तालिएर आक्रमण गरेको बताए ।


आक्रमणकारीलाई सरकारले तत्काल पक्राउ गरी कारबाही नगरे विरोधका थप कार्यक्रमसमेत ल्याउने चेतावनी तीनै जिल्ला सभापतिले दिए । गृहमन्त्रीलाई दिइएको विज्ञप्तिमा पनि तीनै जिल्लाका सभापतिले दोषीमाथि कारबाही नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

प्रकाशित : भाद्र २९, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?