मोबाइल थिचे पानी

हरिराम उप्रेती

गोरखा — खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र मुहानको दूरी करिब ७ सय मिटर छ । 

मोबाइल थिचे पानी

आरुघाट गाउँपालिका–९ र १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १ सय २० घरमा खानेपानी सुविधा उपलब्ध गराएको छ । प्रदेश सरकारबाट निर्मित आयोजनामध्ये गोरखामा पहिलोपटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो ।


‘मुहाननजिकै रहेको ट्यांकीमा मोबाइल अपरेटिङ बक्स र बक्सभित्र सिम छ,’ उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर श्रेष्ठले भने, ‘मोबाइलको एपबाट नम्बर डायल गरेपछि बटन अन हुन्छ, कोड नम्बर हानेपछि पानी चालु भएको संकेत मिल्छ ।’


ट्यांकीमा पानी भए/नभएको, विद्युत्को भोल्टेज पुगे/नपुगेको मोबाइलबाट थाहा हुने उनले बताए । ‘ट्यांकीमा पानी सकिए मुहान जानुपर्‍यो, नत्र विद्युत् हाफलाइन मात्र आएर भोल्टेज नपुगेको समेत थाहा हुन्छ,’ उनले भने । ५० हजार लिटरको ट्यांकीमा संकलित पानी पर्याप्त रहेको उनले सुनाए । आयोजनामा उपभोक्ताको लगानीसमेत गरी १ करोड २६ लाख खर्च भएको छ ।


खानेपानी तथा सरसफाइ कार्यालयबाट चालु वर्ष साना–ठूला गरी ७६ आयोजना छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जिल्लामा १५ खानेपानी योजना सम्पन्न भइसकेका छन् । यी आयोजना ९ महिनामा बनेका हुन् । घरघरै धारा जडान भएपछि उपभोक्ता समयको बचत भएको भन्दै खुसी छन् ।


यसअघि एक गाग्री पानीका लागि एक घण्टा समय खर्चिएर कुवा र खोला धाउने बाध्यता हटेको स्थानीय शान्ता गिरीले बताइन् । ‘सरसफाइ गर्न पनि सजिलो, गाईबस्तुलाई खुवाउन खोला जानु पनि परेन,’ उनले भनिन्, ‘बचेको समयमा करेसाबारीमा तरकारी लगाउन पनि पाइने भयो ।’


रेखदेख गर्ने प्राविधिकलाई मासिक १२ हजार उपलब्ध गराइएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए । ‘घरघरै मिटर जडान भएको छ,’ उनले भने, ‘न्यूनतम शुल्क तोकेर रकम लिन्छौं, त्यो रकम मर्मत सम्भार कोषमै रहने हो ।’ मोबाइल अपरेटिङ सजिलो प्रविधि भएकाले अन्य पम्पिङ खानेपानी आयोजनामा पनि प्रयोग गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख तुलसी बस्नेतले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?