तरुण दलमा अध्यक्ष र महासचिवको द्वन्द्व

काठमाडौँ — तरुण दल अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीको द्वन्द्वले भाँडभैलोमा पुगेको छ । केही दिनअघिदेखि आरोप/प्रत्यारोपमा उत्रिएका बस्नेत र शाहीले शनिबार एकअर्कालाई हटाएको वक्तव्यबाजी गरेका छन् ।

तरुण दलमा अध्यक्ष र महासचिवको द्वन्द्व

अध्यक्ष जितजंग बस्नेतले महासचिवबाट शाहीलाई हटाएको लगत्तै महासचिव शाहीले पनि बस्नेतलाई हटाएको वक्तव्य जारी गरेका छन् । चार जना पदाधिकारीको भरमा चल्दै आएको संगठन दुई पदाधिकारीको विवादले अहिले लथालिंग हुन पुगेको छ । बस्नेत सभापति शेरबहादुर देउवा र शाही वरिष्ठ नेता रामचन्द्र पौडलनिकट हुन् ।


कार्यकाल सकिन दुई महिना छँदासम्म ९९ सदस्यीय तरुण दल अध्यक्ष, महासचिव, उपाध्यक्ष र कोषाध्यक्षका भरमा मात्रै चल्दै आएको थियो । तीन वर्षअघि पोखरा महाधिवेशनमा निर्वाचन नगराई संस्थापन र संस्थापनइतर पक्षबीच भागबन्डाका आधारमा चार पदाधिकारी राखेर दलको कार्यसमिति गठन गरिएको थियो । त्यसपछि पार्टी नेतृत्वले भागबन्डा मिलाउन नसक्दा विस्तार नसकी चार पदाधिकारीमै सीमित रहन पुगेको हो ।

बस्नेतले पार्टीको हित र आदर्शविपरीत हिँडेकाले शाहीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको वक्तव्य जारी गरेका छन् । पार्टीले सञ्चालन गरेको जागरण अभियानलाई औचित्वहीन भन्दै सार्वजनिक रूपमा शाहीले आलोचना गर्दै आएका थिए । त्यस्तै वाइडबडीलगायत भ्रष्टाचार काण्डका विरुद्ध आन्दोलन गर्न तरुण दलका अध्यक्ष बस्नेत तयार नभएको भन्दै असन्तुष्टि जनाएका थिए । उनले पार्टी नेतृत्वको निर्देशनमै ठूला भ्रष्टाचार काण्डको विरोधमा आन्दोलन गर्न तयार नभएको बताउँदै आएका थिए ।

उनको सार्वजनिक अभिव्यक्ति र गतिविधि कांग्रेस र तरुण दलको आदर्श र सिद्धान्तविपरीत रहेको भन्दै कारबाही गरिएको हो । ‘विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको व्यहोरा यसै पत्रमार्फत जानकारी गराइन्छ’ बस्नेतद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

शाहीले दललाई अलोकतान्त्रिक ढंगबाट सञ्चालन गरेको र ठूला भ्रष्टाचार काण्डविरुद्ध नजरअन्दाज गर्दै आएको भन्दै अध्यक्षबाट हटाइएको वक्तव्य जारी गरेका छन् । पार्टीका नेताहरूको सहमतिका आधारमा आफू महासचिव भएकाले अध्यक्षले हटाउन नमिल्ने उनको तर्क छ । ‘मलाई हटाए पार्टीकै नेताहरूले हटाउन सक्नुहुन्छ, अध्यक्षलाई हटाउने अधिकार छैन’ उनले कान्तिपुरसँग भने ।

भ्रष्टाचारका विरुद्ध लक्षित अख्तियार घेराउ कार्यक्रम अन्तिम समयमा आएर रोकिएको, तरुण दल विस्तार नगरेको, संगठनको विधि, विधान, मूल्य, मान्यता, भावना मर्म र परम्पराविपरीत तानाशाही प्रवृत्तिले आफूखुसी गतिविधि सञ्चालन गरेको भन्दै महासचिव शाहीले सार्वजनिक रूपमा आफ्नो असन्तुष्टिको कारण उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्:

तरुण दलमा देउवा र पौडेल पक्षबीच चर्को विवाद

प्रकाशित : भाद्र २८, २०७६ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?