कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘अधिनायकवाद’ को ट्याग भिराएर सरकारविरुद्ध विभिन्न प्रचारबाजी भइरहेको छ :  दाहाल

अर्जुन राजवंशी

बिर्तामोड — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले राम्रा काम गरे पनि जनतामाझ लान नसक्दा पार्टी र सरकार दुवै आलोचित बन्नु परेको बताएका छन् । सरकारले समयावधिमै संविधानअनुसारका कानुनहरु निर्माण गरेर मुलुकलाई संवैधानिक संकटबाट जोगाएको उनले बताए । 

‘अधिनायकवाद’ को ट्याग भिराएर सरकारविरुद्ध विभिन्न प्रचारबाजी भइरहेको छ :  दाहाल

पूर्वप्रधानमन्त्री रहेका दाहालले नेकपाको काँधमा नेपालीको समृद्धिको यात्रा पूरा गर्ने ठूलो जिम्मेवारी रहेको बताए । उनले यो यात्रा पूरा गरेमात्र कम्युनिष्ट पार्टीलाई जनताले फेरि अर्को जिम्मेवारी दिने बताए ।


शनिबार झापाको बिर्तामोडमा गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको आठौं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी र सरकारले जनताको आवश्यकता र आकांक्षाअनुसार काम गर्न सक्नुपर्नेमा जोड दिए । ‘स्वास्थ्य, शिक्षा, कृषि, स्वदेशमै रोजगारी लगायत जनताका आकांक्षाअनुसार पार्टी र सरकारले काम गर्न सक्नुपर्छ । पार्टी र सरकारले जनतालाई निराश बनाउने कुनै काम गर्नु हुँदैन’ दाहालले भने,‘हामीले बोलेर होइन । काम, व्यवहार, नीति र योजनामार्फत जनताको भावना पूरा गर्नुपर्छ । अनि मात्र नेकपाको पार्टी एकताको लक्ष्य पनि पूरा हुन्छ ।’


उनले कम्युनिष्ट सरकारलाई दीगो रुपमा अघि बढाउन ठूलो चुनौती रहेको बताए । ‘अधिनायकवाद’ को ट्याग भिराएर वर्तमान व्यवस्था उल्ट्याउने र सरकारविरुद्ध विभिन्न प्रचारबाजीहरु भइरहेको उनको भनाइ थियो ।


दाहालले पार्टी एकताको काम समयमै टुंग्याउन नसक्दा पार्टी र सरकारलाई ठूलो क्षति पुगेको बताए । दुई ठूला कम्युनिष्ट पार्टी एक भएकै कारण नेपाली इतिहासमा कम्युनिष्ट पार्टीले दुई तिहाईको सरकार बनाउन सफल भएको उनको दाबी छ । ‘त्यसैले अब पार्टीभित्रको गुटबन्दीको अन्त्य गर्नुपर्छ । म यो अभियानमा लागेको छु । गुटबन्दी अन्त्य गरेर हामी विचारमा स्पष्टता र अनुशासित भयौं भने कम्युनिष्ट पार्टीले अझै ५० वर्षसम्म सरकार चलाउने जिम्मेवारी पाउन सक्छ ।’


नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शान्ति प्रक्रिया बढीमा अबको २ वर्षमा टुंगिने बताएका छन् । उनले शान्ति प्रक्रियालाई सफलतासाथ टुंग्याउन सरकार आफ्ना जिम्मेवारीहरु पूरा गर्नेतर्फ तीव्र गतिमा अघि बढेको दाबी गरे । यसका लागि सरकारले प्रमुख प्रतिपक्षी कांग्रेस लगायत पार्टीसँग आवश्यक सरसल्लाह गरिरहेको उनको भनाइ थियो ।




प्रकाशित : भाद्र २८, २०७६ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?