१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१५० वर्षअघि नै चल्थ्यो बर्दियामा रेल

ठाकुरसिंह थारु

गोविन्दपुर, बर्दिया — पूर्व–पश्चिम रेल सञ्चालनका लागि सरकारी कसरत भएको धेरै भएको छैन । सरकारले रेल विभाग गठन गरी विस्तृत परियोजना रिपोर्ट (डीपीआर)सम्म तयार गरेको छ । तर, बर्दियाको मधुवन नगरपालिका, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिका हुँदै हाल बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने दनुवातालसम्म डेढ सय वर्षअघि रेल सञ्चालन भएको तथ्य खुलेको छ । 

१५० वर्षअघि नै चल्थ्यो बर्दियामा रेल

भारतमा राज्य गरिरहेको तत्कालीन ब्रिटिस इस्ट इन्डिया सरकारले रेल सञ्चालन गरेको हो । भारतको निसानगढबाट मधुवन, गेरुवा हुँदै ठाकुरबाबा–५, गोविन्दपुर गाउँ छेउबाटै कोइलाको इन्धनले रेल चल्थ्यो । त्यतिबेला रेल सञ्चालनका लागि बनाइएको लिक हाल सडकका रुपमा प्रयोगमै छ । सर्वसाधारण मोटरसाइकल र साइकलमा आउजाउ गर्छन् ।


रेल चल्ने फलामको लिक र काठको पटरा हराइसकेको छ । तर, लिकका लागि बिछ्याइएको ग्राभेल अझै छ । ‘रेलै चलेको मैले देखिनँ । तर, बाजेहरूले हाम्रै गाउँको पश्चिम छेउबाट रेल चल्ने गरेको सुनाउनु हुन्थ्यो,’ ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरका बीरबहादुर कुसमाले भने, ‘नेपालमा रेल आउने कुरा अझै निश्चित भइसकेको छैन । तर, हाम्रो गाउँमा उहिले नै रेल चल्थ्यो ।’


अंग्रेजले बर्दियाको जंगलबाट इन्धनका लागि कोइला बनाउन र रेलका पटरीका लागि काठ बोक्न रेल चलाएका थिए । उक्त क्षेत्रमा अहिले पनि सालको घनघोर जंगल छ । गाउँ र जंगल हुँदै सीधा रेलको लिक निर्माण गरिएको थियो । रेल निर्माण गरिएको सडकमा रुखबिरुवा उम्रेका छैनन् । गोविन्दपुर गाउँदेखि पश्चिमतर्फको ओरहीखोलासम्म पनि रेल चल्थ्यो ।


रेलको इञ्जन तातिएपछि खोलाबाट पानी ल्याउनका लागि लिक तयार पारिएको थियो । ‘हाम्रा बाजेहरूको पालामा गाउँ भएर रेल चल्यो । हामीले देख्न पाएका छैनौं । अबको सरकारले रेल ल्याउँछु भन्छ तर देख्न पाउने हो कि होइन थाहा छैन,’ कुसमाले भने, ‘बर्दियाका लागि भने रेल नयाँ कुरा होइन रहेछ ।’ सन् १८६० नोभेम्बर १५ मा नेपाल–भारत सीमा छुट्याउन दशगजा कोरिएपछि बर्दिया नेपालतर्फ आयो । तर, अंग्रेजले त्यसअघि नै रेल बन्द गरिसकेको पुर्खाले सुनाउने गरेको स्थानीयले बताए ।


गोविन्दपुरका स्थानीय जीवनकुमार चौधरीले रेलको किस्सा अझै पनि गाउँमा सुनाउने गरिएको बताए । उनले रेलको बाटो भएर मधुवनको ओराली बजारसम्म स्थानीय पुग्थे । ‘रेलको लिकको रुपमा प्रयोग गरिएको फलाम पुरिसकेको छ । रेल बन्द भएपछि लिक भत्किसकेको छ,’ उनले भने, ‘मर्मतसम्भार गर्ने हो भने स्थानीयलाई आउजाउ गर्न सहज हुन्छ ।’


त्यसो त पूर्व–पश्चिम रेल सञ्चालनका लागि बाँके र बर्दियामा महेन्द्र राजमार्गबाट दुईदेखि तीन किलोमिटर दक्षिणबाट रेल मार्ग निर्माणको डीपीआर बनाइएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ पर्ने बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक क्षति रोक्न दक्षिणतर्फ सारिएको हो ।


डीपीआर रेल विभागमा बुझाइएको छ । बुटवल–लमही, बाँकेको कोहलपुरदेखि बर्दिया हुँदै सदूरपश्चिमका सुख्खडसम्मको डीपीआर चाइना रेलवे सेवा कम्पनीले तयार परेको हो । लमहीदेखि पश्चिमतर्फ रेल मार्ग निर्माण गर्दा दुवै निकुञ्जमा हुन सक्ने ठूलो क्षति र दीर्घकालीन असर पार्नेबारे विस्तृत छलफल भएको छ ।


रेल विभागमा पेस गरिएको डीपीआर अनुसार पूर्व–पश्चिम रेल मार्ग महेन्द्र राजमार्ग र हुलाकी राजमार्गको बीच भागमा निर्माण हुने देखिएको छ । दुई दशकमा चार हजार किलोमिटर रेल सञ्जाल निर्माण गर्ने लक्ष्य छ । आगामी पाँच वर्षभित्र ७ सय ५० किलोमिटर रेल सञ्जाल निर्माण गर्ने रेल विभागका अधिकारीले बताए । पूर्व–पश्चिम मेची–महाकाली, काठमाडौं–पोखरा–तराई, काठमाडौं–तराई लगायतका दक्षिण सीमा भारतीय बोर्डरबाट महत्त्वपूर्ण औद्योगिक, व्यापारिक सहर र प्रादेशिक प्रशासनिक केन्द्रलाई रेल सञ्जालसँग जोड्ने लक्ष्य छ ।

प्रकाशित : भाद्र २८, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?