कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सिद्धार्थ राजमार्ग खुल्ने/बन्द हुने क्रम जारी 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडक खण्डमा तीन दिनयता पहिरो झर्ने र खुल्ने क्रम जारी छ । वर्षासँगै राजमार्गको ३९ किलोमिटर खण्डमा पहिरो खस्ने र हटाउने निरन्तर भएको प्रहरीले जनाएको छ । राजमार्गको कालीमाटी, केराबारी, सिद्धबाबा सडकमा पहिरो खसेको हो । 

सिद्धार्थ राजमार्ग खुल्ने/बन्द हुने क्रम जारी 

दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तिमगरका अनुसार सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा नजिकैको छर्छरे झर्नानजिक ठूला ढुंगा खसेको छ । ९ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको उनले बताए । वर्षा नरोकिएकाले पहिरो पन्छाउन कठिन भएको छ । सिद्धबाबा र दोभानतर्फबाट पहिरो फाल्न मेशिन गएकाले छिटै खुल्ने उनले बताए । पहिरो खसेपछि राजमार्ग केही समय अवरुद्ध भएको हो । पानी परिरहेको र पहिरो झर्ने क्रम रोकिएको छैन ।


पानी रोकिनासाथ पहिरो फालिने उनले बताए । डोजरको प्रयोग गरी पहिरो पन्छाउने गरिएको छ । उता तिनाउ गाउँपालिका–५, कालीमाटी र चर्चरे नजिकै पहिरो खसेको छ । यहाँ एकतर्फि सवारीसाधन चलेको प्रभास प्रहरी चौकीका प्रमुख एक्काबहादुर नेपालीले बताए । उनका अनुसार शुक्रबार दुई पटक सडक खुल्ने र बन्द हुने भएको छ । शुक्रबार बिहान पहिरो खसेर एकतर्फि भएको सडक पुनः बेलुकी दुई घण्टा अवरुद्ध भएको थियो । पुनः पहिरो खसेको र सडक खुलाउन मेशिन प्रयोग गर्दा केही ढिला भएको प्रहरीले जनाएको छ ।


केही दिनयता पानी परिरहेकाले राजमार्ग खुल्ने र बन्द हुने क्रम जारी रहेपनि तत्काल मेशिन पठाइएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौजन्य नेपालले बताए । सिद्धबाबा र दोभान बीचको क्षेत्रमा शुक्रबार ढुंगा सहित खसेको पहिरोले दुईवटा जिप पुरिंदा एकजनाको घटनास्थलमै मृत्यु भएको थियो । चार जना घाइते मध्ये दुईको बुटवल र दुई जनाको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालयले पानी परिरहँदा यात्रा नगर्न र हिडेपनि सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न सुझाव दिएको छ ।

प्रकाशित : भाद्र २८, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?