२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बाँके घटनाका दोषीलाई कारवाही हुन्छ : गृहमन्त्री

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले नेपाली कांग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् । 

बाँके घटनाका दोषीलाई कारवाही हुन्छ : गृहमन्त्री

कांग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले शनिबार बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताए । 'हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ,' उनले भने ।


गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताए । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने उनको भनाई थियो ।


कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले कांग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताए । कांग्रेस ललितपुरका सभापति मदन अमात्यले नेपाली कांग्रेसको कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए । यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको उनको आरोप थियो । कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेसले सञ्चालन गरेको जागरण अभियानबाट आत्तिएर सत्तापक्षको प्रत्यक्ष निर्देशनमा उक्त घटना घटाइएको आरोप लगाए ।


कांग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारवाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने जनाएको छ । उक्त घटनामा परी कांग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?