१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गृहमन्त्रीका भाइले किन भेटे कैदी ?

जनकराज सापकोटा

काठमाडौँ — जेलभित्रैबाट निर्माण व्यवसायी र व्यापारीलाई धम्क्याएर रकम असुल्ने समीरमान बस्नेतको योजनामा साथ दिएको आरोपमा नरेश थापासहित आठ जनाको काठमाडौं जिल्ला अदालतमा बयान जारी छ । इन्कारी बयान दिए पनि प्रहरीकै पहुँचमार्फत थापाले कारागारभित्र कडा सुरक्षा घेरामा राखिएका बस्नेतलाई भेटेको अनुसन्धानले देखाएको छ । 

गृहमन्त्रीका भाइले किन भेटे कैदी ?

फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका इन्स्पेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका छन् । ब्युरोसँगको बयानमा नरेशले फिरौती संकलन धन्दाका आठ आरोपितमध्ये तीन जनालाई चिनेको बताएका छन् ।

बस्नेत गत वर्ष असोज २३ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई राजधानीको शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरेको घटनाका मुख्य आरोपित हुन् ।

जेलभित्रै बसेर निर्माण व्यवसायी र व्यापारीसँग धम्काएर रकम असुल्ने बस्नेतको योजनामा साथ दिएको आरोपमा नरेशसहित आठ जनाको काठमाडौं जिल्ला अदालतमा बयान जारी छ । इन्कारी बयान दिए पनि इन्स्पेक्टर ओझाको पहुँचमार्फत थापाले कारागारभित्र कडा सुरक्षा घेरामा राखिएका बस्नेतलाई भेटेको अनुसन्धानले देखाएको छ ।

कारागारभित्रैबाट बस्नेतले आफ्नो फिरौती धन्दा चलाएको सूचनाबारे महानगरीय प्रहरी अपराध महाशाखा पनि जानकार थियो । महाशाखाले सादा पोसाकका प्रहरी खटाएर बस्नेतलाई भेट्न आउनेहरूको निगरानी राखेको थियो । बस्नेतलाई भेटेको सूचना महाशाखाले पाएको र आफूमाथि निगरानी हुन सक्ने बुझेरै नरेश एक दिन महाशाखाका एक अनुसन्धान अधिकारीलाई आफैं भेट्न पुगेका थिए ।

भेटमा उनले आफू जग्गाको कारोबारको सिलसिलामा बस्नेतलाई भेट्न गएको बताएका थिए । नरेशले आफू प्रहरीको कामकारबाहीलाई सहयोग गर्ने मान्छे रहेको बताउँदै नेत्रविक्रम चन्द समूहमा रहेका हतियारको कारोबार गर्ने मान्छेबारे सूचना भएको दाबी गरेर एक जनालाई भेट गराइदिन प्रहरीलाई सहजीकरण गरेका थिए ।

गृहमन्त्रीका भाइ नरेशलाई भेट गर्ने व्यवस्था मिलाएको भन्दै इन्स्पेक्टर ओझालाई महाशाखाले डाकेर सोधपुछ गरेको थियो । महाशाखाका एसएसपी सहकुल थापाले आफ्नै कार्यकक्षमा इन्स्पेक्टर ओझासँग घटनाबारे सोधपुछ गरेका थिए । नरेशले आफू गृहमन्त्रीको भाइ भएको र जग्गा कारोबारसम्बन्धी काम भएको बताउँदै भेट्न खोजेको कुरा उनले सुनाएका थिए ।

नरेशले तुलसी नामका माओवादी कार्यकर्ता बताउनेसँगै गएर बस्नेतलाई भेटेको तर भेटमा के के कुरा भयो भन्नेबारे भने आफू जानकार नभएको उनको भनाइ थियो । ओझाले ब्युरोसँग पनि बस्नेतलाई थापाले भेटेको बयान दिएका छन् । बयानको यो अंश ब्युरोले सरकारी वकिल कार्यालयमा पेस गरेको प्रतिवेदनमा पनि उल्लेख छ ।

बस्नेतलाई भेट गराइदिएको खुलेलगत्तै इन्स्पेक्टर ओझा केन्द्रीय कारागारबाट एक साताअघि मात्रै महानगरीय प्रहरी वृत्त कमलपोखरीमा तानिएका छन् । कारागारभन्दा अघि ओझा पुल्चोकस्थित मन्त्री क्वार्टरको सुरक्षार्थ कार्यरत थिए । त्यही बेला उनको चिनाजानी नरेशसँग भएको थियो ।

कान्तिपुरसँगको कुराकानीमा इन्स्पेक्टर ओझाले पुरानै चिनाजानीका आधारमा बस्नेतलाई भेट्न भन्दै थापा केन्द्रीय कारागार आएको सुनाए । उनले भने, ‘मैले भेट्न मिल्दैन भनेको थिएँ तर पछि ड्युटीमै रहेका बेला उहाँले बस्नेतलाई भेटिरहेको देखेको थिएँ । प्रशासनबाटै अनुमति लिएर भेटेपछि मैले केही भन्ने कुरा रहेन ।’ त्यसो त ब्युरोले गरेको बयानका क्रममा पनि नरेशले पुल्चोकस्थित मन्त्री क्वार्टरमा जाँदा–आउँदा इन्स्पेक्टर ओझालाई चिनेको र आफ्नो कहिलेकाहीँ फोन सम्पर्क भइरहने बताएका छन् ।

स्रोतका अनुसार जेठ २ गते नरेशले बस्नेतलार्ई जेलभित्रै पुगेर भेटेका थिए । त्यही भेटपछि प्रहरी जवान वीरबल भट्टराईको सहयोगमा बस्नेतले जेलभित्रै मोबाइलको पहुँच मिलाएका थिए । त्यसलगत्तै योजनाअनुसार बस्नेतले जेठ १४ गते स्युचाटार घर भएका पवन खड्कालाई भेटेको देखिन्छ । ब्युरो स्रोतका अनुसार सुन्धारास्थित कारागारको इन्ट्री पुस्तिकामा नरेशको नाम भेटिँदैन । खड्काले बस्नेतलाई भेट गरेको प्रमाण भने इन्ट्री पुस्तिका र कारागारबाहिरको सीसीटीभी फुटेजले पनि पुष्टि गरेको छ ।

अनुसन्धान अधिकारीहरूका अनुसार नरेश अरू नै नामबाट जेलभित्र पुगेको अनुमान गरेका छन् । त्यसो त नक्खु कारागारमा रहेका बेला बस्नेतले आफूलाई भेट्न आएको कारागार प्रशासनलाई थाहा नहोस् भनेर जुक्ति लगाएका थिए । बस्नेतलाई भेट्न गएकाहरू अरू नै कैदीलाई भेट्ने भन्दै भित्र छिर्थे । त्यस्ता अरू कैदी बस्नेतका मान्छे हुन्थे । ती कैदीसँग एकैछिन भेटेपछि तिनैको सूचनाका आधारमा बस्नेत गएर कुरा गर्थे । बस्नेतले यही शैली केन्द्रीय कारागारमा पनि अपनाएको प्रहरीको दाबी छ ।

ब्युरोसँगको बयानका क्रममा नरेशले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा थुनामा रहेका शैलेश प्रजापतिलाई भेटेको स्विकारेका छन् । बस्नेतको योजनामा जेलभित्रैबाट फिरौती संकलनको धन्दा सुरु भएपछि ब्युरोले खड्का, सुरेन नगरकोटी पक्राउ परेलगत्तै प्रजापति पक्राउ परेका थिए ।

तत्कालीन माओवादी केन्द्रमा आबद्ध रहेर राजनीतिसमेत गरेका प्रजापतिलाई नरेशले किन भेटेका थिए भन्ने खुलेको छैन । नरेशले बयानका क्रममा भनेका छन्, ‘प्रतिवादी शैलेश प्रजापतिलाई अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी महानगरीय प्रहरी वृत्त कमलपोखरीमा थुनामा राखिसकेको कुरा निजकी श्रीमतीबाट थाहा पाई उनलाई भेट्न प्रहरी कार्यालय कमलपोखरी गएको थिएँ ।’

नक्खु जेलमा रहेका बेला फिरौती संकलनमा सक्रिय रहेको थाहा पाएपछि बस्नेतलाई २०७५ असोज १५ मा मुस्ताङ कारागार सरुवा गरिएको थियो । सरुवालगत्तै बस्नेतकी पत्नी माया शेरचनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । अदालती सुनुवाइका क्रममा उपस्थिति आवश्यक हुने भएपछि बस्नेतलाई मुस्ताङबाट काठमाडौंको केन्द्रीय कारागारमा सरुवा गरिएको थियो । त्यसलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाले उनको गतिविधिमाथि निगरानी बढाएको थियो ।

कारागारभित्र रहेको गोलघरको सात कोठामध्ये एउटामा राखिएका बस्नेतलाई पत्नी र भाइलाई मात्रै भेट्न पाउने व्यवस्था मिलाइएको थियो ।

कडा निगरानीकै बेला नरेशले बस्नेतलाई गोलघर पुगेर भेटेका थिए । बयानका क्रममा नरेशले अर्का प्रतिवादी प्रजापतिलाई भने चिन्ने गरेको बताएका छन् । उनले भनेका छन्, ‘शैलेश र विनोद लामासँग दुई–अढाई महिना अगाडिदेखि चिनजान भएको हो । शैलेशले सञ्चालन गरेको फुड कोर्टमा खाजा नास्ता गर्न जाँदा उनीहरूसँग चिनजान भएको हो ।’

नरेशले नगरकोटी, खड्का र प्रजापति पक्राउपछि फिरौती असुली धन्दामा आफ्नो नाम पनि मुछिएको बारे प्रजापतिकी पत्नीबाट थाहा पाएको पनि बताएका छन् । उनले भनेका छन्, ‘शैलेश पक्राउपछि निजकी श्रीमतीले मलाई फोन गरी तपाईंको नाम पनि घटनामा संलग्न छ भनेपछि थाहा पाएको हुँ ।’

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ वर्ष र थुनुवा कैदी भगाएको मुद्दामा ५ वर्षको कैद सजाय भुक्तान गरिरहेका प्रवेश भन्ने मनबहादुर पुन मगरले कारागारको सुरक्षार्थ खटिएका प्रहरी जवान बीरबल भट्टराईले बस्नेतका भतिजलाई दिएको फोन बस्नेतकहाँ पुर्‍याएका थिए ।

यस्तो थियो असुली योजना

ब्युरोले सरकारी वकिलको कार्यालयमा पेस गरेको मुद्दाको संक्षिप्त तथ्य शीर्षक खण्डमा उल्लिखित विवरणअनुसार निर्माण व्यवसायी महासंघका कार्यसमिति सल्लाहकार, पदाधिकारी र सदस्यहरूमध्ये करिब २५ जनाको मोबाइलमा अपरिचित नम्बरबाट धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आएको थियो । फोनमा रकम माग्दै नदिए जे पनि गर्ने धम्की दिएपछि यो अनुसन्धान सुरु भएको थियो ।

प्रहरीसँगको बयानमा निर्माण व्यवसायी दीपक गौतमले आफू र अन्य निर्माण व्यवसायीलाई अपरिचित नम्बरबाट पवन खड्काले फोन सम्पर्क गरी रकम माग्ने र माग गरेको रकम उपलब्ध नगराए ज्यानमा समेत खतरा छ भन्दै धम्क्याएको बताएका छन् ।

ब्युरो स्रोतका अनुसार कारागारभित्र रहेका बस्नेतले झन्डै एक सय जना निर्माण व्यवसायी र व्यापारीको नाम, निजी, कार्यालय र घरको फोन नम्बर र उनीहरूको व्यापार ठेक्का विवरणसहितको कागजात नै खड्कालाई दिएका थिए । त्यही कागजात एकजना व्यक्तिमार्फत सुरेन नगरकोटी हुँदै खड्काको हातमा पुगेको र त्यहाँबाटै दुबईमा रहेको जे भनिने जावेद अनवदिनलाई उपलब्ध गराएको देखिन्छ ।

स्रोतका अनुसार अनुसन्धानमा प्रहरीले सुल्झाउन नसकेको अनुत्तरित प्रश्न पनि छ । जेलभीत्र रहेका कागजात बाहिर ल्याउने काममा एक जनाको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ । तर ती एकजना व्यक्ति को हुन् भन्नेबारे प्रहरी टुंगोमा पुगिसकेको छैन । यसरी बाहिरिएको कागजातकै आधारमा बस्नेतका मानिसले फिरौती उठाउन सुरु गरेका थिए । केही निर्माण व्यवसायीलाई भने बस्नेतका मानिसले ठेक्का रकमको तीन प्रतिशत रकम कटाएर दिनसमेत धम्की दिएका थिए ।

खड्काले सिटी सेन्टरमा रहेको फुडकोर्ट र रानीवनको एक क्याफेमा बारम्बार नरेशलाई भेटेको देखिन्छ । प्रत्येक भेटका कुराकानी खड्काले दुबईमा रहेका जावेदलाई फेसबुक च्याटमा जानकारी गराउँथे ।

खड्काले नरेशसँग भएको कुराकानी भन्दै जावेदलाई गराएको अपडेटमा फिरौती संकलनमा केही अप्ठ्यारो परे नरेशले मिलाउने भन्दै सेयर गरेको देखिन्छ । त्यस्तै कामका क्रममा केही गाह्रोसाह्रो पर्‍यो भने नरेशले पुलिस र प्रशासन सबैलाई मिलाउन सक्ने भन्दै उनले कुरा गरेको पाइएको छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?