१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इन्द्रजात्रामा फरक पाहुना

सीमा तामाङ

काठमाडौँ — कोही जात्रामा उर्लिएको भीड देखेर अचम्मित थिए । कोही काठका कलात्मक बुट्टाहरूले लोभिए । उनीहरूका आँखामा जिज्ञासा थियो– के यी हातैले कुँदिएका हुन् ? 

इन्द्रजात्रामा फरक पाहुना

भुटानको थिम्पुका मेयर किन्ले दोर्जीचाहिँ एकाएक आफूमा अध्यात्मभाव जागेको सुनाउँदै थिए । राजधानीका पुराना बौद्ध बहाःबही घुमेपछि उनले भने, ‘म पनि बौद्धमार्गी हुँ । त्यसैले होला, यी बहालहरू पुग्दा मलाई अत्यन्तै आत्मिक महसुस भयो ।’


दोर्जीजस्तै विदेशी मेयरहरूले शुक्रबार काठमाडौंका पुराना भित्री सहर अवलोकन गरे । काठमाडौं महानगरको निम्तोमा आएका उनीहरूले इन्द्रजात्रा पनि हेरे । महानगरले इन्द्रजात्रामा पहिलोपटक विदेशी पाहुनालाई औपचारिक निम्तो पठाएको हो । यसमा दुई उद्देश्य छन्– यहाँका कला, संस्कृति र सम्पदा चिनाउने । अर्को नेपाल भ्रमण वर्ष–२०२० लाई सघाउने ।


इन्द्रजात्राको मुख्य समारोहअघि पाहुनाहरू करिब तीन घण्टा पदयात्रामा सहभागी भए । मेयर विद्यासुन्दर शाक्य पनि सँगै थिए । उनीहरू जहाँजहाँ पुगे, अघिअघि धिमे बाजा र धुन्याले स्वागत गरिरहेको थियो । टोलटोलका बासिन्दा सगुन, फूल, अक्षता र टीका लिएर सत्कारका लागि तम्तयार थिए । विश्वका विकसित सहरका यी जनप्रतिनिधिहरूलाई यिनै रैथाने परम्परा, संस्कृति र सम्पदा नौला बनिरहेका थिए ।


हनुमानढोका दरबार क्षेत्रबाट सुरु भएको पदयात्रा पुरानो झोछें टोल, नःबही, मञ्जु श्रीनक महाविहार, थानबहाः, भीमसेन मन्दिर, काष्ठमण्डप, सिल्यँ सतं, माजु देगः, मरु देगः, मरुहिटी, यट्खा बहाः, इतुम्बहाः, जनबहाः, आकाश भैरव, श्वेतभैरव हुँदै दरबार क्षेत्रमै आएर टुंगियो । पदयात्रापछि सबै मेयर हनुमानढोकामा जम्मा भएर इन्द्रजात्रा फोटो प्रदर्शनी उद्घाटन गरे ।


प्रदर्शनी नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्लाले आयोजना गरेको थियो । जापानको मात्सुमोतो सिटीका प्रतिनिधि कोतो सोनेराको नजर खचाखच जात्रालुहरू रहेको एउटा फोटोमा गएर अडियो । उनले आश्चर्य मान्दै सोधे– ‘जात्रामा पनि यति धेरै मान्छे आउँछन् र ?’


इन्द्रजात्रा हेर्न विभिन्न देशका ४ मेयरसहित ४१ पाहुना आएका हुन् । चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, ल्हासाबाट मेयर गुहेओ गुहेओ, थिम्पुबाट दोर्जी र भारतको नर्थ दिल्ली नगरपालिकाबाट मेयर सरदार अवतार सिंह डाकिएका थिए । त्यस्तै चीनको लाञ्चाउबाट कमिटी अफ द सीपीपीसीसीका उपाध्यक्ष ज्याङ सिओहाङ र अमेरिकाको बोल्डर नगरबाट एडवार्ड पेरिज सहभागी थिए ।


चीनका सियान, छेन्दु, सेन्जेन र नान्जिन तथा अमेरिकाको फेडेरिकबर्गबाट पनि प्रतिनिधि पठाइएका थिए । पदयात्रापछि पाहुनाहरू इन्द्रजात्राको मूल समारोहमा सहभागी भए । मेयरहरूले वसन्तपुरको गद्दी बैठकबाट राष्ट्रपति विद्यादेवी भण्डारीसँगै जात्रा अवलोकन गरेका थिए । त्यस्तै विदेशी प्रतिनिधिहरूका लागि डबली अर्थात् विशेष मञ्चबाट अवलोकनको व्यवस्था मिलाइएको थियो ।


मेयर शाक्यले यसपालि जात्रामा विदेशीलाई प्रत्यक्ष सहभागी गराएर काठमाडौंका वास्तुशैली, संस्कृति र मौलिकता विश्वसामु देखाउने अवसर मिलेको भन्दै खुसी व्यक्त गरे । ‘विदेशी पाहुनाले अवलोकन भ्रमणलाई सकारात्मक रूपमा लिएका छन्,’ उनले भने, ‘यसबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग मिल्नेछ ।’


चीनको ल्हासा नगरका मेयर गुहेओ दूतावासको विशेष छलफलमा व्यस्त हुनुपरेकाले भ्रमणमा सहभागी हुन पाएनन् । बंगलादेशको दक्षिणी ढाका नगरपालिकाका मेयर मोहम्मद सयिदखोकनले आफूलाई डेंगु भएकाले उपस्थित हुन नसकेको भन्दै शुक्रबारै मेयर शाक्यलाई सन्देश पठाएका थिए ।

प्रकाशित : भाद्र २८, २०७६ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?