१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्णालीमा गरिबीले लिँदै ज्यान

कर्णालीमा पछिल्ला ३ वर्षमा ७ सय २८ जनामध्ये २ सय ५५ जनाले गरिबीका कारण आत्महत्या गरेका छन्
ज्योति कटुवाल

सुर्खेत — वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो– गरिबी ।

कर्णालीमा गरिबीले लिँदै ज्यान

छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरू माध्यम भएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्, ‘त्यही पीरले झुन्डिएर आत्महत्या गरेछ ।’

घनबहादुरजस्ता थुप्रै व्यक्तिले आत्महत्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ । कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा कर्णालीमा ७ सय २८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये गरिबीको कारण आत्महत्या गर्नेको संख्या २ सय ५५ जना छ ।

कार्यालयका प्रवक्ता डीएसपी लोकनाथ तिम्सिनाका अनुसार गरिबीपछि आत्महत्या गर्ने दोस्रो प्रमुख कारण घरेलु हिंसा हो । तीन वर्षको अवधिमा घरेलु हिंसाको कारण २ सय २४ जनाले आत्महत्या गरेको उनले बताए । ‘घरेलु हिंसा पनि गरिबीसँगै जोडिएको हुन्छ,’ डीएसपी तिम्सिनाले भने, ‘यसरी हेर्दा गरिबी आत्महत्याको प्रमुख जड हो ।’

सल्यानको शारदा नगरपालिका–१२, अम्रैटाकुरकी ३७ वर्षीया कमला डाँगीको मृत्युको कारण पनि गरिबी बन्यो । पेटको समस्याले थला परेकी उनले तीन वर्षसम्म उपचार गर्दा पनि सन्चो नभएपछि ०७५ चैत २६ मा आत्महत्या गरिन् । अनुसन्धान गर्दै जाँदा बिरामी भएपछि उपचार क्रममा सम्पत्ति सकिएको तनावले आत्महत्या गरेको देखिएको सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले बताए । ‘आर्थिक अवस्था कमजोर हुँदा अन्य बेरोजगार युवायुवतीले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ,’ उनले भने, ‘यसको न्यूनीकरण गर्न व्यापक जनचेतनाको खाँचो छ ।’

उनका अनुसार आत्महत्यापछि सबै घटनाको प्रहरीले मिहिन ढंगले अनुसन्धान गर्छ । त्यस्तो अनुसन्धानमा कर्णालीमा गरिबीकै कारण २ सय ५५ जनाले आत्महत्या गरेको पाइएको उनले बताए । एक वर्षअघि यस्तै बाटो रोजे– घनबहादुरका छिमेकी २० वर्षीय युवाले । घनबहादुर झुन्डिएको ६ महिनापछि उनी झुन्डिएकै अवस्थामा भेटिए । विवाह गरेर बच्चासमेत रहेका ती युवा र उनकी श्रीमती बेरोजगार हुनु मृत्युको कारक बनेको छिमेकीको भनाइ छ ।


गरिबी आत्महत्याको जडमात्र होइन, कर्णालीको समृद्धिको प्रमुख दुस्मनसमेत हो । नेपाल राष्ट्र बैंकले ०७५ जेठमा प्रकाशन गरेको ‘नेपालको जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय स्थिति (प्रदेशगत प्रोफाइल)’ प्रतिवेदनअनुसार कर्णालीको वार्षिक प्रतिव्यक्ति आय ६ सय ७७ अमेरिकी डलर छ । यो अंक प्रदेश ३ को भन्दा ८ सय ५७ डलरले कम हो ।

नेपाल सरकारकै एक अध्ययन प्रतिवेदनले १६ लाख २३ हजार जनसंख्या रहेको कर्णालीको बहुआयामिक गरिबी दर ५१ प्रतिशत रहेको देखाएको छ ।

गरिबीबाट उत्पन्न यो भयावह परिणामलाई कम गर्नेबारे तीनै तहका सरकारले प्रभावकारी रणनीति बनाएको भने देखिँदैन । कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/७७ को बजेट वक्तव्यमा गरिबी न्यूनीकरणलाई बजेटको उद्देश्यमा तेस्रो प्राथमिकतामा राखिएको छ ।

प्रहरी तथ्यांकले पेसागत विश्लेषण गर्दै आत्महत्या गर्नेमा किसानको संख्या अधिक रहेको देखाएको छ । यो संख्या सहरी क्षेत्रमा भन्दा गाउँमा बढी छ । तीन वर्षमा आत्महत्या गरेका ७ सय २८ मध्ये किसानको संख्या ४ सय ६८ छ । आत्महत्या गर्नेमध्ये ४ सय ९१ जना ग्रामीण क्षेत्रका रहेको डीएसपी तिम्सिनाले बताए ।

उनका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने अशिक्षित व्यक्तिले आत्महत्या बढी गर्ने गरेको पाइएको छ । आत्महत्या गर्नेमा १६ देखि ३० वर्ष उमेर समूह र जनजाति समुदायका बढी रहेका छन् । तीन वर्षमा आत्महत्या गरेका ७ सय २८ जनामध्ये यो उमेर समूहका २ सय ७६ जना र जनजाति समुदायका २ सय ३० जना छन् । प्रदेश प्रहरीका प्रवक्ता डीएसपी तिम्सिनाले यसको कारण पनि अनुसन्धानको विषय हुने बताए ।

आत्महत्याको ग्राफ केलाउँदा कर्णालीका हिमाली तीन हिमाली जिल्ला हुम्ला, डोल्पा र मुगुको संख्या निकै न्यून देखिएको छ । तीन वर्ष अवधिमा डोल्पामा तीन जना, हुम्लामा ६ जना र मुगुमा १० जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी सुर्खेतमा २ सय ६० जना छन् ।

आत्महत्या गर्न अधिकांशले साँझ ६ देखि राति १२ बजेको समय रोज्ने गरेका छन् । शनिबार र शुक्रबार अधिक मात्रामा आत्महत्या हुने गरेको छ । तीन वर्षमा आत्महत्या गरेका ७ सय २८ मध्ये २ सय ३२ जनाले शुक्रबार र शनिबार आत्महत्या गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

मनोविमर्शकर्ता सन्तोषी शाही आत्महत्या न्यूनीकरणका लागि राज्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रभावकारी नीति बनाउनुपर्ने बताउँछिन् ।

प्रकाशित : भाद्र २८, २०७६ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?