कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सडक निर्माणमा ठेकेदारको लापरबाहीले पहिरो, घर पुरिँदा ६ को मृत्यु

काशीराम डाँगी

रोल्पा — बिहीबार राति सहिदमार्गअन्तर्गत घर्तीगाउ–थबाङ सडक खण्डको छेर्लोबाङमा पहिरो खस्दा एक घर पुरियो । पहिरोले पुर्दा घरभित्रका ६ जनाको ज्यान गयो । थबाङ गाउँपालिका-२ छेर्लोबाङस्थित शीरकुमारी बुढामगरको घर पहिरोले पुर्दा २८ वर्षकी शीरकुमारी र उनका छोरा ४ वर्षका असललगायत ६ जना पुरिए ।

सडक निर्माणमा ठेकेदारको लापरबाहीले पहिरो, घर पुरिँदा ६ को मृत्यु

प्रहरीले उद्धारका क्रममा बिहानै आमा छोराको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । उद्धारका थप प्रहरी र स्थानीयलाई परिचालन गरिएको उनले बताए । अन्य ४ जनाको शव दिउँसोमात्रै फेला पर्‍यो ।


दुई दिनदेखिको भारी वर्षासँगै निर्माणाधीन सहिदमार्गबाट पहिरो खसेर घर पुर्‍यो । घटनास्थल लिबाङबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ । बिहीबार दिउँसैबाट भारी वर्षा भइरहेपछि पहिरो खस्ने आशंकाले छिमेकीसमेत शीरकुमारीको घरमा बास बस्न आएका थिए । दुर्भाग्य, आश्रय लिएको घरभित्र छिमेकीसमेत पुरिए ।


ढुंगा र काठको छाना भएको दुई तले घरको माथिल्लो तलामा रहेका शीरकुमारी र उनका छोरा सुतेका थिए भने आश्रय लिई तल्लो तलामा छिमेकी बास बसेका थिए । स्थानीयका अनुसार सहिदमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार र कार्यालयको लापरवाहीले घरमाथि पहिरो खसेको हो ।


‘सहिदमार्गको निर्माण जारी रहेकाले माटो काट्दा ख्याल नगरेकाले घरै पुरिने गरी पहिरो गयो,’ गाउँपालिकाका प्रमुख वीरबहादुर घर्तीमगरले भने, ‘बेलैमा सचेत भएको भए घटना हुनबाट जोगिन सकिन्थ्यो ।’


उनले प्रति मृतकका परिवारलाई २५ हजार खर्च दिन सकिने गाउँकार्यपालिकाबाट निर्णय गरिएको र चाँडै नै पीडितलाई खर्च दिन पहल सुरु हुने बताए । उद्धारका लागि जिल्ला प्रहरी कार्यालयसहित थबाङ, घर्तीगाउँ, कुरेली, मिरुल, इरिबाङ लगायतबाट प्रहरी घटनास्थल पुगेको थियो ।


पुरिएको घरको तल्लो तलामा बास बसेकामा वर्ष ३६ का जय बुढामगर, पत्नी वर्ष ४० की मूलज्योति बुढामगर, छोरीहरु वर्ष १० की गृष्मा र डेढ वर्षकी अर्की छोरी थिए । वस्तुभाउ समेत पुरिएको छ । उद्धारकर्ताले केही गाई र गोरु मरेको अवस्थामा फेला पारेका छन् ।


वर्षाकै कारण पहिरो र बाढीमा एक सातामा करिब दर्जन मानवीय क्षति भएको छ । यसअघि अन्य दुई जनाको पनि पहिरो र बाढीकै कारण मृत्यु भइसकेको छ ।


पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिकाको सेरममा एक युवा पहिरोमा पुरिएका थिए भने पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिकाको गैरीगाउँ दुम्लामा एक अर्धबै‌ंसेलाई बाढीले बगाएको थियो । प्रमुख जिल्ला अधिकारी ढकालले वर्षा नरोकिएकाले सबैलाई सचेत रहन पूर्व सूचित गरिएको बताए ।


वर्षाले दर्जनौं सडक अवरुद्ध छन् भने पानीका मुहान बगाएको छ । कतै पानीका पाइप विच्छेद गराएको छ । रोल्पाका सुलिचौर, उवा, लुंग्री, थबाङ, घर्तीगाउँ, माडीखोला आसपासका क्षेत्र बाढी र पहिरोबाट उच्च जोखिमयुक्त स्थान मानिन्छन् ।


केही समयअघि आएको पहिरो र बाढीले पूर्वी रोल्पास्थित लुंग्री गाउँपालिकाको कार्यालय नै बगाएको थियो । वर्षाका कारण अघिल्ला वर्षहरुमा पनि मानवीय एवं भौतिक क्षति हुने गरेका छन् ।

प्रकाशित : भाद्र २७, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?