२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रोल्पा पहिरो : मृतकको शव निकालियो, पोष्टमार्टम गर्न चिकित्सक गाउँ जाने

काशीराम डाँगी

रोल्पा — बिहीबार राति रोल्पाको थबाङ-२ छेर्लोबाङस्थित सहिद मार्ग अन्तर्गत घर्तीगाउँ-थबाङ खण्डमा पहिरो खस्दा मृत्यु भएका ६ जनाको शव निकालिएको छ । उनीहरु बसेको घरमाथिबाट पहिरो खसेपछि सबैको मृत्यु भएको थियो । 

रोल्पा पहिरो : मृतकको शव निकालियो, पोष्टमार्टम गर्न चिकित्सक गाउँ जाने

घरमाथि पहिरो आएपछि पुरिएकामध्ये थबाङ गाउँपालिका-२ छेर्लोबाङस्थित २८ वर्षकी शीरकुमारी र उनका छोरा ४ वर्षका असल लगायत पुरिएका थिए । प्रहरीले उद्धारका क्रममा शुक्रबार बिहान आमा–छोराको शव फेला पारेको थियो भने पुरिएर ज्यान गुमाएका अन्य ४ को शव दिउँसो निकालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । पुरिएको घरको तल्लो तलामा बास बसेका वर्ष ३६ का जय बुढामगर, पत्नी वर्ष ४० की मुलज्योति बुढामगर, छोरीहरु वर्ष १० की गृष्मा र डेढ वर्षकी अर्की छोरीको ज्यान गएको थियो । उद्धारकर्ताहरुले उनीहरुलाई जीवितै फेला पार्ने प्रयास गरेपनि सफल भएनन् ।


प्रहरी र स्थानीयको पहलमा पहिरोले थिचेको घरभित्र पुरिएका थप चार जनाको शव समेत निकालिएको हो । उद्धारकर्ताले शुक्रबार दिउँसो घरको तल्लो तलामा रहेका शव निकालेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । उनका अनुसार घरटापछि उद्धारका लागि परिचालित प्रहरी र स्थानीयले बिहान दुई जनाको र दिउँसो चार जनाको शव पहिरोबाट निकालेका हुन् ।

यसैबीच घटनास्थलमा पानी परिरहेको र यातायातका साधन पुग्न नसक्ने भएपछि मृतकका शवको पोष्टमार्टम गर्न चिकित्सक गाउँमै पठाउने निर्णय भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । ‘पानी परेको र सडक अवरुद्ध भएकाले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन नसकिने अवस्था छ,' जिल्ला सुरक्षा समिति तथा जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक रहेका प्रजिअ ढकालले भने, ‘त्यसैले घटनास्थलमै मृतकको शवको पोष्टमार्टम गर्न रोल्पा जिल्ला अस्पतालबाट डा प्रकाशबहादुर बुढालाई पठाउने तयारी भएको हो ।’


घटनास्थल जान चिकित्सक बुढासहितको जिल्ला स्वास्थ्यको टोली शुक्रबार हिँडेपनि यातायात अवरुद्ध भएकाले शनिबार मात्रै पुग्ने छ । सदरमुकाम अघि कोर्चाबाङ, घर्तीगाउ, इरिबाङ र कुरेली लगायतका विभिन्न स्थानमा सडक अवरुद्ध हुने गरी पहिरो खसेकाले आवतजावत गर्न मुस्किल छ ।


प्रकाशित : भाद्र २७, २०७६ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?