१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

वन विनाशले कालिञ्चोकमा आतंक

राजेन्द्र मानन्धर

दोलखा — स्थानीयवासीका अनुसार धार्मिक तथा पर्यटकीय महत्वको कालिञ्चोकमा यतिखरे हरेक दिन दुईदेखि तीनवटा रुख काटिन्छन् । ती रुखहरु अतिक्रमण गर्दै कानून विपरित ठड्याइँदै गरिएको घरटहरामा प्रयोग भैरहेको छ ।

वन विनाशले कालिञ्चोकमा आतंक

ज्यादा क्षेती हुने क्रम दुई महिनादेखि चलिरहेको स्थानीयहरु बताउँछन् । पछिल्लो समयमा जंगल कटानको रोग दोलखा जिल्लाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकास्थित चोकटीक्षेत्रमा सरेको छ । जुन ठाउँ तीन हजार ८ सय ४२ मिटर उचाईमा रहेको मनोरम कालिञ्चोकको पश्चिमी मोहडामा पर्छ । यसअघि नैकालिञ्चोकको टुटुवानमा रहेका सयौ रुखहरु कटान भैसकेको छ ।


दोलखाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायको स्थलगत अनुगमन गर्दै कडा सूचनाहरु जारी गरेर निगरानी बढाएपछि तस्करीको श्रृंखला सिन्धुपाल्चोकतर्फ सरेको हो ।


आन्तरिक तथा बाह्य पर्यटकहरुको अत्याधिक चाप हुने उक्त क्षेत्रको वन फडानीले पर्यावरणमा असर पारिरहेको छ । सुन्दर कालिञ्चोक क्रमिक रुपले कुरुप बन्दै छ । सिन्धपाल्चोकतर्फ कालिञ्चोक क्षेत्रमा वन विनाश अधिक भैरहेको खबर आएपछि वन कर्मचारी र सामुदायिक वन पदाधिकारीसहितको टोलीले प्रतिवदेन तयार गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयमा पठाएको वन कार्यालय सिन्धुपाल्चोकका देवीचन्द्र पोख्रेलले बताए । उनका अनुसार विकट क्षेत्र भएकाले सुरक्षाका लागि दलबलसहित कारवाहीका लागि जान कर्मचारी अभाव छ ।


दैनिक सयौं मानिसहरु कालिञ्चोक भगवती मन्दिरमा दर्शन गर्न र प्राकृतिक सुन्दरता हेर्न पुग्न थालेपछि आधार शिविर कुरी र घ्याङडाँडामा अवैध संरचना थपिँदै गएको छ । विसं २०५० सालसम्म चौरी र भेडा पालक एक दर्जनजति परिवार बस्दै आएको कालिञ्चोक क्षेत्रमा व्यवसायीक घरटहरा थपिन थालेपछि जंगल विनाश तीव्र भएको हो ।


जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेले दोलखाको क्षेत्रमा भएको वन विनाश नियन्त्रण प्रयास गरिरहेको बताउँछन् । स्थानीय तहमा प्रशासन, वन कार्यालय र स्थानीयहरुको प्रयासले वन विनाशमा कमी आएको दाबी उनले गरे । हाल उक्त क्षेत्रमा एकसयभन्दा बढी घर र टहराहरु निर्माण भैसकेका छन् । सबै उक्त क्षेत्रका जंगाल विनाश गरेर बनाइएका हुन् ।


कालिञ्चोक केही भाग गौरीशंकर संरक्षण क्षेत्रमा पनि पर्छ । उक्त क्षेत्रको वन विनाशको क्रम रोक्न र कारवाही गर्ने कार्यमा संरक्षण क्षेत्रले पनि पहल थालेको छ । संरक्षण क्षेत्र प्रमुख सत्यनारायण शाहका अनुसार वन विनाश गर्नेलाई कारवाही गरिएको छ, नियन्त्रणका लागि जनचेतना जागृत गर्ने कार्य थालिएको छ ।


कालिञ्चोकको प्राकृतिक चमक गुम्न नदिन कालिञ्चोक गाउँपालिकाले पहल गरिरहेको दाबी उक्त पालिका अध्यक्ष विनकुमार थामी गर्छन् । वन जोगाउन र अतिक्रमण रोक्नका लागि पालिकाले योजना बनाइरहेको उनले बताए ।


तर, सिन्धुपाल्चोकको पूर्वि भेगमा कोल्टे परेर बसेको त्रुपुरा सुन्दरी गाउँपालिका चोकटी क्षेत्रमा तीव्र वन विनाश भैरहेको बारे उक्त सिन्धुपाल्चोक जिल्ला अनभिज्ञ छन् । सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ उक्त क्षेत्रमा पछिल्लो समयमा वन विनाशबारे आफू अनभिज्ञ रहेको बताए ।


‘त्यसो हो भने अनुगमन समिति बनाउँछु, वन कार्यालयमा जानकारी गराउँछु,’ उनले भने ।

स्थानीय एक व्यवासायीको पछिल्ला दुई महिनामा उक्त क्षेत्रमा पाँच हजार रुख काटिएको दाबी छ । तर, उक्त क्षेत्रमा गएर आँखा लगाए, वन विनाश कार्यमा संलग्नबाट आक्रमण हुने सम्भावना पनि रहेको स्थानीयहरु बताउँछन् ।


सिन्धुपाल्चोक जिल्लामा केही वर्ष अघि वन उक्त क्षेत्रमा वन विनाश भएको व्यापक गुनासाहरु सार्वजनिक भएका थिए । सर्वत्र आवाज उठेपछि वन विनाश नियन्त्रण गर्न जिल्ला तहबाट प्रयास गरिएको सिन्धुपाल्चोक जिल्ला समन्वय समिति उपप्रमुख बालकुमारी सापकोटाले बताइन् । समुदाय स्तरबाट नियमित अनुगमन गरी नियन्त्रण थालिएको कालिञ्चोकस्थित फोक्टे सुन्धारा सामुदायिक वन उपभोक्ता समितिको दाबी छ ।


प्रकाशित : भाद्र २७, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?