२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दिल्लीमा १० बजे १० मिनेट ! 

समयमै जनचेतनामूलक अभियान चलाइएका कारण भारतको राजधानी दिल्लीमा यस वर्ष डेंगु संक्रमण न्यून छ । स्वास्थ्य सेवा चुस्त बनाएकाले संक्रमितको उपचार पनि प्रभावकारी बनेको छ । 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालमा डेंगु संक्रमणले विकराल रूप लिंदै गएपछि ‘स्वास्थ्य–संकटकाल’ घोषणा गर्नेसम्मको चर्चा हुन थालेको छ । बेलैमा प्रभावकारी चेतनामूलक अभियान चलाएका कारण भारतको राजधानी दिल्लीमा भने यस वर्ष डेंगु संक्रमण निकै घटेको छ । स्वास्थ्य सेवा चुस्त बनाइएकाले संक्रमितको उपचार पनि प्रभावकारी छ । 

दिल्लीमा १० बजे १० मिनेट ! 

विगतबाट पाठ सिक्दै यो वर्ष डेंगु नियन्त्रणका लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारले केही महिनादेखि विशेष तयारी थालेको थियो । सेप्टेम्बर १ देखि दस साता लामो विशेष अभियान नै सुरु गरिएको छ । अभियानको नाम छ, ‘दस बजे दस मिनेट ।’


यो अभियानअन्तर्गत प्रत्येक आइतबार बिहान १० बजे सबैलाई आआफ्नो घरआँगनमा पानी जमेको छ/छैन हेर्न भनिन्छ । छ भने तत्काल पानी फाल्न वा फेर्न आग्रह गरिएको छ । १० मिनेटको यो अभियान नोभेम्बर १५ नोभेम्बरसम्म चल्नेछ । मुख्यमन्त्री केजरीवालले घरको पानी जम्ने ठाउँहरूको निरीक्षण गरेर अभियानको उद्घाटन गरेका थिए ।


‘मैले र मेरो परिवारले बिहान १० बजे पूरै घरको निरीक्षण गर्‍यौं । जमेको पानी फेरिदियौं । आफ्नो परिवारलाई डेंगुबाट बचाउने योभन्दा उत्तम उपाय अरू हुनै सक्दैन,’ केजरीवालले ट्वीट गर्दै भनेका थिए । डेंगु संक्रमित लामखुट्टे सफा र जमेको पानीमा हुर्कने हुँदा रोकथामका लागि अभियान चलाइएको बताइएको छ ।


यिनै अग्रसरताका कारण दिल्लीमा विगतको तुलनामा डेंगुको संक्रमण न्यून देखिएको हो । गत वर्षको तुलनामा करिब डेंगु रोगीको संख्यामा उल्लेख्य गिरावट आएको छ । यो वर्ष दिल्लीमा ७५ जनामा मात्र डेंगु पाइएको छ र कसैको पनि मृत्यु भएको छैन । दिल्लीमा सबैभन्दा बढी सन् २०१५ मा १५ हजार जनामा डेंगुको संक्रमण भएको थियो । त्यस वर्ष ६० जनाले ज्यान गुमाएका थिए ।

यसबाहेक डेंगु नियन्त्रणका लागि दिल्लीभित्रका सबै नगर निगममा चौबीस घण्टे विशेष कक्ष पनि सञ्चालनमा ल्याइएको छ । ती कक्षमा पानी जमे, घर भत्किए वा रूख एवं हाँगा भाँच्चिए तत्काल खबर गर्न भनिएको छ । दिल्लीका सरकारी अस्पतालमा मात्र ज्वरोका बिरामीका लागि मात्रै भनेर एक हजार शय्या छुट्याइएको छ ।


सबै सरकारी स्वास्थ्य संस्थालाई डेंगुको उपचार र रोकथामका लागि पर्याप्त जनशक्ति र स्रोतसाधन उपलब्ध गराइएको छ । सरकारी कर्मचारीले घरपिच्छे अनुगमनलाई पनि तीव्रता दिएका छन् ।


सरकारी अस्पताल, स्वास्थ्य चौकी र मोहल्ला क्लिनिकमा ५ सयवटा अतिरिक्त ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ । यो वर्ष काठमाडौंमा मात्रै डेंगुका कारण ६ जनाको मृत्यु भइसकेको छ । भरतपुरलगायत सहरमा स्थिति भयावह बन्दै गएको छ ।

प्रकाशित : भाद्र २७, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?