नागरिक विधेयक : विदेशी बुहारीलाई परिचयपत्र प्रस्ताव

ऋषिराम पौड्याल

काठमाडौँ — सांसदहरूले नेपालीसँग बिहे गरेका विदेशी महिलालाई तत्काल अंगीकृत नागरिकता नदिने अडान नछाडेपछि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले नयाँ विकल्प प्रस्ताव गरेको छ ।

नागरिक विधेयक : विदेशी बुहारीलाई परिचयपत्र प्रस्ताव

त्यस्ता महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने, त्यसअघि राजनीतिकबाहेक सबै अधिकारसहितको विशेष परिचयपत्र व्यवस्था गर्न प्रस्ताव गरिएको हो ।


समितिमा बिहीबार भएको छलफलमा बहुमत सांसद उक्त प्रस्तावमा नरम देखिएका छन् । ‘परिचयपत्र, अस्थायी नागरिकता वा यस्तै कुनै नाम दिएर सरकारले जारी गर्ने पत्र अंगीकृत नागरिकता पाउने महिलालाई दिने व्यवस्था गरिने सम्भावना छ,’ एक सांसदले भने । नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयकमा अंगीकृत नागरिकतासम्बन्धी प्रावधानमा एक वर्षभन्दा बढी समयदेखि विवाद छ ।


सांसदले विदेशी महिलालाई विवाहलगत्तै नागरिकता दिनु मुलुकको हितविपरीत हुने धारणा राख्दै आएका छन् । समस्या समाधानका लागि नेकपा सांसद विजय सुब्बाको संयोजकत्वमा उपसमिति बनाए पनि हल गर्न सकेन । उपसमितिले पनि निकासबिनाकै प्रतिवेदन पेस गरेपछि समितिमा फेरि छलफल सुरु भएको हो ।


सरकारले प्रस्ताव गरेको विधेयकमा त्यस्ता विदेशी महिलाले तत्कालै नागरिकता पाउने व्यवस्था गरिएको छ तर त्यस्तो नागरिकता पाएको ६ महिनाभित्र आफ्नो देशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्नुपर्ने उल्लेख छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने सबैजसो दलका सांसदले यो प्रावधानमा सहमति जनाएका छन् । नेकपाका सांसदहरू भने विभाजित छन् ।


कांग्रेसले बैठकमा सरकारको थप धारणा नआएसम्म आफ्नो प्रस्ताव नल्याउने बताएको छ । ‘विधेयकमा गरेकै प्रस्ताव ठिक हो कि अरू केही छ, सरकारको धारणा आउनुपर्छ,’ कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भने । समिति सभापति शशी श्रेष्ठले छलफलको अन्त्यमा गरेको ‘राजनीतिकबाहेक सबै अधिकार दिएर ७ वर्षपछि नागरिकता पाउने विषयमा तपाईंहरू सहमत हुनुहुन्छ’ भन्ने प्रश्नमा धेरै सांसद मौन थिए ।


समाजवादी पार्टीका रामसहायप्रसाद यादवले भने त्यस्तो प्रस्तावमा असहमति जनाए । उनले बाबु थाहा नभए नेपाली आमाको स्वघोषणाका आधारमा सन्तानको वंशज नागरिकता बन्ने प्रावधान स्मरण गराउँदै विदेशी महिलाका हकमा पनि सोही व्यहोरा राख्नुपर्ने बताए । उनले भने, ‘तत्काल नागरिकता दिँदा के असर पर्छ, सरकारले त्यस विषयमा धारणा राख्नुपर्छ,’ उनले भने ।


समितिमा जनाइएअनुसार उक्त परिचयपत्र अध्ययन, बैंक खाता, सरकारी सेवालगायत सबै ठाउँमा मान्य हुने खालको हुनेछ तर मतदान गर्ने, उम्मेदवार हुने र राजनीतिक नियुक्तिमा रोक लगाउने सहमति हुन सक्ने एक सांसदले बताए ।


कांग्रेस सांसद अमरेशकुमार सिंहले अंगीकृत नागरिकता दिने भारतको कानुन जे भए पनि विवाह गरेर गएकी नेपाली चेलीलाई तत्कालै सरकारी जागिर, मतदान, उम्मेदवारीलगायत सबै अधिकार हुने गरेको बताए । सांसद नवराज सिलवालले सामाजिक र सांस्कृतिक अधिकार दिनुपर्ने तर विवाहलगत्तै नेता बन्ने अवस्था आउन नहुने बताए ।


गृहसचिव प्रेमकुमार राईले नेपाली चेली विवाह गर्ने विदेशी पुरुषलाई नागरिकता दिन नसकिने बताएका छन् । सांसदले समान हक हुनुपर्ने भन्दै त्यस्ता पुरुषलाई पनि नागरिकता दिन माग गर्दा उनले यस्तो जवाफ दिएका हुन् ।

प्रकाशित : भाद्र २७, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?