१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चिकित्सा शिक्षा आयोग उपाध्यक्षमा गिरि

सुदीप कैनी

काठमाडौँ — राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरि नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकारी उपाध्यक्षमा उनलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । 

चिकित्सा शिक्षा आयोग उपाध्यक्षमा गिरि

वीर अस्पतालमा कार्यरत गिरि हाडजोर्नी विशेषज्ञ हुन् । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टर समेत हुन् । उपाध्यक्षको ४ वर्षे कार्यकाल हुन्छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वको आयोग उपाध्यक्ष नाम सिफारिस समितिले गिरिको नाम तेस्रो नम्बरमा सिफारिस गरेको थियो । गिरिसहित सुरेन्द्र शेरचन र शम्भुकुमारको नाम क्रमशः पहिलो र दोस्रो नम्बरमा सिफारिस गरिएको थियो ।

नवनियुक्त उपाध्यक्ष गिरि मन्त्री पोखरेल र नेकपा नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । सोही आधारमा उनले आवेदन दिएको चर्चा छ । सिफारिस समितिले चिकित्सा शिक्षा ऐनको मापदण्डअनुसार सार्वजनिक सूचना प्रकाशित गरेर उपाध्यक्षलाई कार्ययोजनासहितको आवेदन माग गरेको थियो । ११ जनाले दरखास्त दिएका थिए ।

तीमध्ये यी तीन जना सिफारिसमा परेका थिए । आयोगले पहिलो पटकको दरखास्त रद्द गर्दै साउन २० गते दोस्रो पटक दरखास्त मागेको थियो । पहिलो पटकमा ६ जनाले आवेदन दिएका थिए । दोस्रो पटक ११ जनाले दरखास्त दिएकोमा २ जनाको रद्द भई ९ जना प्रारम्भिक सूचिमा परेका थिए । सर्च कमिटिले उनीहरुको छनौट भएकाहरुको अन्तरवार्ता समेत गरेको थियो ।

प्रमोदकुमार सर्राफ र जेएन पाण्डेयले आवश्यक कागजात पेश नगरेको भन्दै प्रारम्भिक समितिले आवेदन रद्द गरिदिएको थियो । आयोग उपाध्यक्षका लागि निलमणि उपाध्याय, पारसकुमार पोखरेल, रमेशचन्द्र सिंह, यहुनचन्द्र शिवाकोटी र तरुण पौडेलले पनि आवेदन दिएका थिए । सिफारिसमा परेका ३ जनाकै आयोग उपाध्यक्ष बन्न मापदण्ड नपुगेको भन्दै आलोचना भएपनि सरकारले नियुक्तिको निर्णय गरेको हो ।

आयोगले पूर्णता नपाउँदा ऐनको व्यवस्था बमोजिम चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा, मापदण्ड, शुल्क निर्धारण लगायत काम प्रभावित हुने गरेको छ । ७५ प्रतिशत छात्रवृत्ति र एकीकृत प्रवेश परीक्षाको माग गर्दै विद्यार्थी आन्दोलित बनेको बेला सरकारले उपाध्यक्षको टुङ्गो लगाएको हो । आयोगलाई पूर्णता दिन उपाध्यक्षले कार्यकारी निर्देशन नियुक्त गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : भाद्र २७, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?