१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ऋण सहायताका लागि एडिबीसँग वार्ता गर्न टोली गठन

रासस

काठमाडौँ — सरकारले ११ अर्ब ५० करोडको सहुलियतपूर्ण ऋण सहायताका लागि एशियाली विकास बैंक (एडिबी)सँग वार्ता गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेको छ । 

ऋण सहायताका लागि एडिबीसँग वार्ता गर्न टोली गठन

‘फुड सेफ्टी एण्ड एग्रिकल्चर कमर्सलाईजेशन कार्यक्रम’का लागि ५ अर्ब ७५ करोड र ‘रुरल इन्टरप्राइज फाइनान्सिङ परियोजना’का लागि ५ अर्ब ७५ करोड सहुलियतपूर्ण ऋण सहायताका सम्बन्धमा वार्ता गर्न सरकारले उक्त वार्ता टोली गठन गरेको हो । सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । भदौ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।


जग्गा प्रकरणसम्बन्धी छानबिन समितिको म्याद थप

सरकारी, सार्वजनिक गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाको हिनामिना सम्बन्धमा बनेको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को छानबिन समितिको म्याद थप गरिएको छ ।

असोज २८ सम्म रहने गरी दुई महिनाका लागि म्याद थप गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए । सिआइवीको छानबिन समितिको म्याद साउन २८ मा सकिएको थियो । नेपाल सरकारको गत फागुन २८ को निर्णयबमोजिम जग्गाको हिनामिना सम्बन्धमा छानबिन समिति गठन गरिएको थियो । यस्तै नेपाल सरकारको गत चैत ११ गतेको निर्णयअनुसार विराटनगर जुट मिलको सम्बन्धमा जाँचबुझ गर्न बनेको आयोगको म्याद भदौ १७ देखि एक महिनाका लागि थप गर्ने निर्णय गरेको उनले जानकारी दिए ।


सरकारले गोरखा, कञ्चनपुर, सर्लाही, रौतहट, धनकुटा, पाल्पा, काभ्रे गरी सात जिल्लामा राजपत्राङ्कित प्रथम श्रेणी अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद रहेकोमा राजपत्राङ्कित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा)को पदपूर्ति भएको अवस्थामा सोहीबमोजिम हुने गरी हाललाई राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीको पद कायम गर्ने निर्णय सरकारले गरेको छ ।


वन प्रयोग गर्न अनुमति

सरकारले विभिन्न प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ । शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा उत्खनन गर्न १० वर्षका लागि दाङको बङ्गलाचुली गाउँपालिकाको तिमिलेस्थित ३.९३५ हेक्टर र सम्राट सिमेन्टका लागि चुनढुङ्गा उत्खनन गर्न सोही गाउँपालिकाको थारागाउँस्थित पाँच हेक्टर जमीन १५ वर्षका लागि दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।


नेपाल विद्युत् प्राविधिकरणलाई बुटवल (गोरुसिङ्गे–लुम्बिनी) १३२ केभी प्रसारणलाइन आयोजनाको संरचना विस्तार गर्न २५ वर्षका लागि रुपन्देहीमा शून्य दशमलव ४८ हेक्टर र प्राधिकरणको बुर्तिवाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजनाका लागि कपिलवस्तुका विभिन्न क्षेत्रमा १६.७६१ हेटर वन क्षेत्र २५ वर्षका लागि दिइने निर्णय सरकराले गरेको छ ।


शहीद घोषणा

सरकराले कर्तव्य पालनका सिलसिलामा शहादत प्राप्त प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गरेको छ । उनका परिवारलाई राहतस्वरुप रु १० लाख दिने सरकारले निर्णय गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो । केही महिनाअघि भोजपुरमा भएको कारवाहीमा नेत्रविक्रम चन्दका कार्यकर्ताको गोली लागेर उनको मृत्यु भएको थियो । त्यस क्रममा चन्दका एक कार्यकर्ताको समेत मृत्यु भएको थियो ।


प्रकाशित : भाद्र २६, २०७६ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?