सत्तारुढ दलकै सांसदको आक्रोश: कतिजना सांसदलाई डेंगु लागेपछि सरकारको ध्यान जान्छ ?
काठमाडौँ — लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै सत्तारुढ दलकै सांसदले सरकार विरुद्ध आक्रोश पोखेका छन् । नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले जताततै डेंगु फैलिरहँदा सरकारको आधिकारिक धारणा नआएको भन्दै आपत्ति जनाए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले भने,'मन्त्री डेंगुको पीडित, वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत डेंगुको पीडित । अब हामी कतिजना सांसदलाई डेंगु भएपछि सरकारको ध्यान जाने हो ।'
उनले जताततै डेंगु आतंक हुँदा पनि सरकार नबोलेको भन्दै आपत्ति जनाए । नेपाल सरकारको सट्टा अमेरिकी सरकारले नेपालमा डेंगु रहेको कुरा उल्लेख गरेको सांसद श्रेष्ठको भनाइ छ । भने,' अमेरिकी सरकारले आफ्ना नागरिकहरुलाई नेपालमा डेंगु आतंक रहेको र त्यहाँ नजान भनेको छ । नेपालमा रहेका अमेरिकी नागरिकहरुलाई सचेत रहनु भनेको छ । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ? '
डेंगु रोग नियन्त्रणमा सरकारले ध्यान नदिएको भन्दै गर्जिए सांसद
उनले स्वास्थ्यमन्त्रीलाई तत्काल सदनमा बोलाउन माग राख्दै डेंगु बारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग राखे ।
यस्तै, सभामुख कृष्णबहादुर महराले डेंगुको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई यस विषयमा यधाशिघ्र जानकारी गराउन निर्देशन दिएका छन् ।
यस्तै, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । उनले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।
यो पनि पढ्नुहोस्ः
डेंगु प्रकोप : 'फगिङ' होइन, 'सर्च एन्ड डेस्ट्रोय'
प्रकाशित : भाद्र २६, २०७६ १४:५३