११ हिमालमा ३३९ आरोहीलाई अनुमति

कान्तिपुर संवाददाता

ओखलढुंगा — शरद् ऋतु (असोज, कात्तिक) मा ११ वटा हिमाल आरोहणका लागि ४४ देशका ३ सय ३९ जना आरोहीले अनुमति लिएका छन् ।

डाँफे सेल, धौलागिरि, गौगिरि, हिम्लुङ, सगरमाथा, ल्होत्से, मनास्लु, मकालु, नुप्त्से, पाङबोचे (पाङ फुँच) र सारिबुङका लागि पर्यटकले आरोहण अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ ।

सगरमाथामा दुई समूहका १० आरोही र मनास्लु आरोहणका लागि २५ समूहका २ सय ५० आरोहीले अनुमति लिएका छन् । धौलागिरिका लागि ३० र ल्होत्सेका लागि १३ जनाले अनुमति लिएका छन् । आठ हजार मिटरभन्दा माथिका हिमाल वसन्त ऋतुको तुलनामा शरद् ऋतुमा आरोहण गर्न कठिन हुन्छ ।

आठ हजार मिटर आसपासका हिमाल आरोहणका लागि भने यो मौसम उपयुक्त भएको नेपाल माउन्टेन एकेडेमीका आरोहण प्रशिक्षक छिरिङजाङबु शेर्पाले जानकारी दिए । ‘यो सिजनमा दिनदिनै चिसोको मात्रा बढ्छ,’ उनले भने, ‘त्यसैले सगरमाथा आरोहण निकै कठिन हुन्छ तर मनास्लु, धौलागिरिजस्ता हिमालका लागि सबैभन्दा उपयुक्त सिजनका रूपमा यसलाई लिइन्छ ।’

शरद् ऋतुमा सगरमाथा आरोहण अनुमति लिने १० मध्ये अमेरिकाका ४, पोल्यान्डका ४, बेलायतका १ र स्पेनका १ जना छन् । ९ वर्षदेखि शरद् ऋतुमा सगरमाथा आरोहणको अनुमति कसैले लिएका थिएनन् । यस वर्ष एकै पटक १० जनाले अनुमति लिएका हुन् । उनीहरूमध्येबाटै केहीले ल्होत्सेसमेत आरोहण गर्ने जनाइएको छ ।

प्रकाशित : भाद्र २६, २०७६ ०९:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अब पाठ्यक्रममै चिनियाँ भाषा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको राष्ट्रिय पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पठनपाठन गर्ने उल्लेख भएको धेरै वर्षपछि त्यसले औपचारिकता पाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल सरकारबीच हालै भएको ‘स्वयंसेवक भाषा शिक्षक’ उपलब्ध गराउने समझदारीले त्यसलाई मूर्तरूप दिन सघाउनेछ । चीन सरकारले भाषा पढाउन स्वयंसेवक शिक्षक खटाउने समझदारी भएको हो ।

‘राष्ट्रिय पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा चिनियाँ, हिन्दी, अरबीजस्ता भाषा पढाउने उल्लेख छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले भने, ‘अहिले चीन र नेपाल सरकारबीच स्वयंसेवक शिक्षक खटाउनेबारे समझदारी भएको छ । अब भने औपचारिक रूपमा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण प्रक्रिया अघि बढ्छ ।’

काठमाडौंलगायत मोफसलका केही निजी विद्यालयले ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पढाउँदै आएका छन् । उनीहरूका लागि नेपालस्थित चिनियाँ दूतावासले स्वयंसेवक शिक्षक खटाउने गरेको छ । स्वयंसेवक शिक्षकले शिक्षा मन्त्रालयसँग अनुमति लिनुपर्छ ।

हालसम्म ८६ जना चिनियाँ नागरिकले स्वयंसेवक शिक्षकको आवेदन दिई मन्त्रालयबाट अनुमति पाएको प्रवक्ता अर्यालले भने, ‘झन्डै ५० वटा विद्यालयमा चिनियाँ भाषा पढाइ भइरहेको छ ।’ तर चिनियाँ भाषाको औपचारिक पाठ्यक्रम बनेको छैन ।

दूतावासले चिनियाँ भाषा पढाउन चाहने विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या, शिक्षक संख्या र सेवासुविधाको अनुगमन गर्छ । त्यसै गरी आवश्यक मापदण्ड पुगेका विद्यालयमा नयाँ शैक्षिक सत्रअनुसार वैशाख १२ गतेभित्र शिक्षक खटाउनेछ । स्वयंसेवक शिक्षकको बास र खानाको प्रबन्ध विद्यालयले नै गर्नुपर्छ । न्यूनतम स्नातक तह उत्तीर्ण गरेकाले स्वयंसेवक शिक्षक बन्न पाउँछन् ।

प्रकाशित : भाद्र २६, २०७६ ०९:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT