१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘इन्डो–प्यासिफिक रणनीतिमा असहमति’

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सरकारले अघि बढाएको ‘इन्डो–प्यासिफिक रणनीति’ मा वासिङ्टन पुगेर समर्थन जनाइसके पनि सत्तारूढ दल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘नेपाल सरकार यो रणनीतिमा असहमत रहेको’ बताएका छन् ।

‘इन्डो–प्यासिफिक रणनीतिमा असहमति’

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण क्रममा मंगलबार बिहान भेटवार्ता गरेका उनले ‘इन्डो–प्यासिफिक रणनीतिमा चीनको झैं नेपालको असहमति’ रहेको राय राखेका हुन् ।


चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ‘चिनियाँ विकासक्रमलाई बाधा पुर्‍याउने अमेरिकी रणनीति’ को विपक्षमा दाहालले धारणा राखेका थिए । ‘चीनको विकास नेपालका लागि सदैव अवसर हो,’ दाहालले विदेशमन्त्री वाङसमक्ष भनेका थिए, ‘चीनको बहुपक्षीय सुरक्षा नीति र सन्तुलित, समावेशी तथा ‘विन–विन’ रणनीतिमा भूमण्डलीकरणलाई प्रवर्द्धन गर्ने नीतिको नेपाल समर्थक रहिआएको छ ।’


उनले हङकङमा देखिएको पछिल्लो स्थितिलाई चीनको आन्तरिक मामला भनेका छन् । चीनले सुरु गरेको आतंकवादविरुद्ध अभियानलाई मानव अधिकारका नाममा अवरोध उब्जाउने प्रवृत्तिको विरोधमा नेपाल उभिएको पनि दाहालले बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।


नेकपामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा विदेश विभाग रहे पनि अध्यक्ष दाहाल आफ्नै छोरीलाई साथ लिएर विदेशमन्त्री भेट गर्न होटल मेरियट पुगेका थिए । विदेशमन्त्रीसँग दाहालको भेटबारे विदेश विभागका अरू पदाधिकारीले ‘कुनै जानकारी नरहेको’ प्रतिक्रिया दिइसकेका छन् । दाहालपछि अर्का पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमन्त्री वाङसँग भेटवार्ता गरेका थिए ।


उनले पनि चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबारे कुराकानी गरेका थिए ।

प्रकाशित : भाद्र २५, २०७६ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?