कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संघीय संसद भवन निर्माणका लागि छनोटमा परेका १० मध्ये ८ कम्पनी चिनियाँ

ऋषिराम पौड्याल

काठमाडौँ — संघीय संसदको सिंहदरबार हातामा बन्ने आधुनिक भवन निर्माणका लागि टेण्डर प्रस्ताव पेश गरेका १० वटा कम्पनीको कम्पनीको आर्थिक पक्षमाथि मंगलबारदेखि मूल्यांकन सुरु भएको छ । प्रस्ताव पेश गरेका १७ कम्पनी मध्ये प्राविधिक १० कम्पनीलाई पूर्वयोग्यता छनोट सूचीमा राखिएको थियो ।

संघीय संसद भवन निर्माणका लागि छनोटमा परेका १० मध्ये ८ कम्पनी चिनियाँ

१० मध्ये एकल प्रस्ताव पेश गर्ने ४ वटा चिनियाँ र एक भारतीय एक कम्पनी छन् । भवन निर्माणका लागि नेपालका कुनैपनि कम्पनीले एकल प्रस्ताव गरेका छैनन् । अन्य पाँचवटा मध्ये चीन र नेपालका कम्पनिले चारवटा संयुक्त प्रस्ताव पेश गरेका छन् । अर्को एउटा कम्पनी भारतीय र नेपालीको संयुक्त हो । प्राविधिक मूल्यांकनमा ७ कम्पनी अस्वीकृत भएका थिए ।


चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सनको अपरेसन, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेट लिमिटेड, आनहुइङ सुयन, कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड, कोभेक—सिआरईजिसी जेभीले एकल प्रस्ताव पेश गरेका हुन् । नेपाली कम्पनीहरु समानान्तर, शर्मा, श्रेष्ठ र तुँदीले चिनियाँसँग संयुक्त प्रस्ताव पेश गरेका छन् ।


भारतीय एनबीसीसीले एकल प्रस्ताव पेश गरेको छ । नेपालको गौरीपार्वतीले भारतीय कम्पनीसँग संयुक्त प्रस्ताव पेश गरेको छ । सहरी विकास तथा भवन विभागका सिनियर डिभिजन इन्जिनियर प्रकीर्ण तुलाधरका अनुसार मूल्यांकनका क्रममा नियमपूर्वक प्रस्ताव पेश भएको देखिएमा सबैभन्दा कम रकममा उल्लेख गरेको एउटा कम्पनीलाई निर्माणको जिम्मेवारी दिइनेछ । नेपाली कलात्मक शैलीमा बनाइने भवनका लागि विभागले गत जेठमा ग्लोबल टेन्डर आह्वान गरेको थियो ।


संघीय संसद्को नयाँ भवन बन्दै

विभागका महानिर्देशक मणीराम गेलालका अनुसार भवन तीन वर्षमा बनाइसक्ने लक्ष्य राखिएको छ । उक्त भवनको प्रधानमन्त्री केपी ओलीबाट आगामी असोज १ गते शिलान्यास गर्ने कार्यक्रम तय छ । ‘कम्पनीहरुले पेश गरेको आर्थिक प्रस्तावमा मसिनो ढंगले मूल्यांकन गरिरहेका छौं’ महानिर्देशक गेलालले भने । करिब ७ अर्बको लागत अनुमान गरिएको उक्त भवन एक सय ७३ रोपनी ८ आना अर्थात् ८८ हजार २ सय ७१ वर्ग मिटरमा क्षेत्रमा हुनेछ ।


सिंहदबारको पुतली बगैंचामा निर्माण हुने संसद भवन ‘हाइटेक’ इन्जिनियरिङ डिजाइन प्रविधि अपनाएर वास्तुकला झल्कने संरचनाको हुनेछ । प्रतिनिधिसभामा सत्ता र प्रतिपक्ष सांसदहरु आमनेसामने हुनेगरी ४ सय जना बस्ने घुमाउरो संरचना बनाइनेछ ।


फ्लोरमा संसदको संयुक्त बैठक बस्न पुग्ने सिट संख्या निर्धारण गरिएको छ । 'संघीय संसद भवन परिसर नाम’ दिइएको उक्त स्थानलाई मुख्यतः भवन, हरियाली, पार्किङ र सडक पूर्वाधार क्षेत्रमा विभाजन गरिएको छ । परिसरमा भवन क्षेत्रले २७ र खुला हरियाली ४५ प्रतिशत ओगट्नेछ ।


सरकारले २०६४ सालदेखि भाडा तिरेर अहिलेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद भवनको रुपमा प्रयोग गर्दै आएको छ । सरकारले केन्द्रलाई बर्सेनी १५ करोड भाडा तिरिरहेको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?