२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यूट सिस्टमको समय सकिँदै, उडानमा यात्रुलाई हुनसक्छ हैरानी

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई एयरलाइन्सदेखि भिसा प्राप्त विदेशी मुलुकको अध्यागमनसम्म जोड्ने एयरपोर्ट कनेक्सन प्रविधि (क्यूट सिस्टम) को सम्झौता अवधि शनिबार सकिँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्यासेन्जर प्रोसेसिङ एप्लिकेसन प्रविधि उपलब्ध गराउने बहुराष्ट्रिय कम्पनी सिटासँग नयाँ सम्झौता नगरेपछि उसले विमानस्थलस्थित २८ वटै विदेशी एयरलाइन्सलाई शनिबारपछि आफ्नो सिस्टम नेपालमा नरहने जानकारी गराइसकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यूट सिस्टमको समय सकिँदै, उडानमा यात्रुलाई हुनसक्छ हैरानी

हवाई यातायात क्षेत्रमा कहलिएको आईटी कम्पनी हो, सिटा । विमानस्थलभित्र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले यात्रुहरूको बोर्डिङ, लगेज पासलगायत सेवा यही सफ्टवेयरको सहायतामा उपलब्ध गराउँदै आएका छन् ।


प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रविधिबारे चासो नराखे वा नयाँ कम्पनीलाई नभित्र्याए शनिबारपछि नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा जाने एयरलाइन्सको सेवा अवरोध हुनेछ । ‘यो यस्तो प्रविधि हो, जहाँ एयरलाइन्सले यात्रुको राहदानी सिटाको सफ्टवेयरबाट स्वाइप गरेपछि मात्रै गन्तव्य मुलुकको बोर्डिङ पास जारी गर्न मिल्छ,’ काठमाडौंमा रहेको एक मध्यपूर्वी मुलुकको एयरलाइन्सका एयरपोर्ट म्यानेजरले कान्तिपुरलाई भने, ‘यो प्रविधि नभए कुनै पनि एयरलाइन्सले बोर्डिङ पास नै जारी गर्न सक्दैनन् ।’


विश्वका सबै मुलुकका अध्यागमन कार्यालयसँग सिटाको कनेक्सन हुन्छ । कुनै पनि एयरलाइन्सले यात्रुको भिसा सक्कली हो या होइन भन्ने पनि यसैबाट जानकारी प्राप्त गर्छन् । गन्तव्य मुलुकको अध्यागमनमा यात्रुबारे पहिल्यै विस्तृत विवरण पनि यही प्रविधिको सहायताले पुग्ने ती म्यानेजरले बताए । यो कामलाई सिटाको प्रविधिले सजिलो बनाउने हो । सिटाको प्रविधिमा यात्रुको रेकर्ड काठमाडौंमा राखिएपछि संसारको जुनसुकै विमानस्थल वा सम्बन्धित एयरलाइन्सले आफ्नो सञ्जालभित्र यात्रुको विस्तृत यात्रा विवरण पाउँछन् ।


क्यू सिस्टम नभए यात्रुहरूलाई बोर्डिङ पास उपलब्ध गराउन र लगेज पठाउन नसकिने उनले बताए । तर आन्तरिक टर्मिनलमा सेवा प्रवाह गर्ने नेपाली वायुसेवाले भने आफ्नै रैथाने प्रविधिबाट बोर्डिङ पास र कार्गो लगेजको ट्याग उपलब्ध गराउँछन् ।


प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्झौता नवीकरण नगरेपछि सिटाको मुख्यालयले कुनै पनि विदेशी एयरलाइन्ससँग काठमाडौंका लागि सम्झौता नवीकरण गरेको छैन । ‘हाम्रो कम्पनीले सिटासँग सम्झौता नवीकरण गर्न खोजेको थियो तर उसले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग ठेक्का सम्झौता सेप्टेम्बर १४ सम्म मात्रै भएकाले नवीकरण गर्न मानेन,’ एक अर्का विदेशी एयरलाइन्सका म्यानेजरले कान्तिपुरसँग भने ।


सिटाले काठमाडौंमा रहेका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित २८ वटा विदेशी एयरलाइन्ससँग प्रतियात्रु एक डलर हाराहारी शुल्क लिने सम्झौता गरेको थियो । यसले एयरलाइन्सलाई सेवा दिएबापत शुल्क लिन्छ भने विमानस्थलमा यसको सफ्टवेयर राखेबापत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई भाडा दिनुपर्छ । विमानस्थलले सम्झौता नवीकरण नगरेपछि एसिया क्षेत्र हेर्ने सिटाका कर्मचारी काठमाडौं आएका छन् ।


यसैबीच विदेशी एयरलाइन्स अपरेटरहरूको साझा संस्थाले विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीलाई सोमबार भेटी यसबारे निकास खोज्न आग्रह गरेको छ । उक्त भेटमा महाप्रबन्धक क्षत्रीले ‘चिन्ता लिनु पर्दैन विकल्प दिलाउनेछु’ भनी वाचा गरेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?