स्वास्थ्य संस्था थप्न मलेसिया 'सकारात्मक', दुई देशबीच बिहीबार पुन: बैठक   

कान्तिपुर संवाददाता

काठमाडौँ — झन्डै १५ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुलाउन दुई देशबीचका श्रम अधिकारीहरुको बैठक बिहीबार बस्नेगरी टुङ्गिएको छ । मलेसिया जाने कामदारको बायोमेडिकल प्रणालीअनुसार स्वास्थ्य परीक्षण गर्ने संस्थाका विषयमा दुईसम्म बसेको छलफलमा कुरा नमिल्दा बैठक लम्बिएको हो । 

श्रम सम्झौतालाई कार्यान्वयन गर्न दुवै देशका उच्च अधिकारीहरु संलग्न संयुक्त कार्यदल बैठक मलेसियामा बसेको हो। बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा टोलीसहभागी छ। घिमिरेले दुई पक्षबीच सम्झौतालाई कार्यान्वयन गर्ने विषय सकारात्मक रुपमा अघि बढेको बताए। उनले सकारात्मक र सौहार्दपूर्ण हिसाबले बैठक भइरहेकोले बैठकमा उठेका विषयहरु बताउँदा हतार हुने बताए। ‘दुवै पक्षबीच सहमतिको नजिक पुगेका छौं,’ उनले भने, ‘भोलिसम्म टुंगिनेछ।’

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले संयुक्त प्राबिधिक समितिको बैठ्क गतिरोध तोड्ने तर्फ अगाडि बढेको वताए। ‘दुई दिनसम्म बिषयमाथि निकै गहन र विस्तुतरुपमा छलफल भयो,’ उनले भने।

नेपालले मलेसिया सरकारको स्वास्थ्य मापदण्ड र प्रक्रिया पूरा गर्ने स्वास्थ्य संस्थालाई यथाशीघ्रअनुगमन गरी बायोमेडिकल प्रक्रियामा समावेश गर्न प्रस्ताव राखेको छ। नेपालले गत साउन २१ गते नै स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै ३६ वटा पुराना स्वास्थ्य संस्थासहित १ सय २२ वटा संस्थाको प्रस्तावित सूची पठाएको थियो। नेपालले पठाएको स्वास्थ्य संस्थाको पत्रको जवाफ दिँदै एक साताअघि मलेसिया नयाँ स्वास्थ्य संस्था थप्न तयार भएको जनाएको थियो।

मेडिकल संस्थाको छनोट विषयमा दुई देशबीच सहमति भएलगत्तै मलेसियाको रोजगारी खुल्नेछ। ‘मलेसिया र नेपाल दुवैको संयुक्त प्रयासबाट कामदारको हित, अधिकार र सुरक्षालाई संरक्षण गर्न सकिन्छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने,‘यसैमा हामी केन्द्रित भएका छौं। यो बैठकबाट सबै बिषयहरु टुंगिने आशा राखेको छु। यसतर्फ मलेसिया पनि सकारात्मक छ।’

प्रकाशित : भाद्र २५, २०७६ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्

फोनिज यूके पत्रकारिता सम्मान शान्तिलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले ‘फोनिज यूके पत्रकारिता सम्मान-२०१९’ पत्रकार शान्ति गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । फोनिज यूकेकी अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा सेप्टेम्बर ३ मा  फार्नबरोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । सम्मानको राशि ३० हजार रुपैयाँ र ताम्रपत्र छ ।

फोनिज यूकेले रेडियो बिजिडब्लुएसका निर्देशक सोनाम छिरिङ शेर्पाको संयोजकत्वमा गठन गरेको पत्रकारिता सम्मान छनोट समितिले फोनिज केन्द्र (नेपाल)ले सिफारिस गरेको ५ जना पत्रकारमध्ये वरिष्ठताका आधारमा शान्ति गुरुङलाई चयन गरिएको जनाएको छ ।

रुपन्देहीको बुटवल–१३ की गुरुङ २०५४ सालदेखि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा गुरुङ भाषाको समाचार वाचिका छिन् । हाल समाचार सम्पादक पदमा कार्यरत छिन् । उनले मातृभाषामा समाचार वाचन, कार्यक्रम सञ्चालन, आदिवासी जनजातिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दैआएकी छिन् । यसैगरी ब्रिटिस फोर्स ब्रोडकास्टिङ सर्भिस (बिएफबिएस)को संवाददातासमेत हुन् ।

गुरुङ नेपाल पत्रकार महासंघ प्रदेश नं.४ कार्यसमितिको उपाध्यक्ष, प्रेस चौतारी केन्द्रीय कार्यसमितिको उपाध्यक्ष, तमु (गुरुङ) पत्रकार संघ कास्की जिल्ला कार्यसमितिको अध्यक्ष छिन् ।

फोनिज यूकेले यसअघि सन् २०१६ को ‘फोनिज यूके पत्रकारिता सम्मान’ पत्रकार गोपाल छाङ्छा राई र ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ रामविकास चौधरीलाई प्रदान गरिएको थियो । सन् २०१७ को ‘फोनिज यूके पत्रकारिता सम्मान’ पत्रकार गणेशमान गुरुङ र ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ मिलन लिम्बुलाई प्रदान गरिएको थियो ।

यस्तै, ‘फोनिज यूके पत्रकारिता सम्मान–२०१८’ पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको थियो । यो वर्षको सम्मान आउँदा असोज अन्तिम साता काठमाडौंमा प्रदान गरिने अध्यक्ष राईले विज्ञप्तिमा जनाएकी छिन् ।

प्रकाशित : भाद्र २५, २०७६ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्