जन्डिस झिक्ने बहानामा ब्लेडले पेट चिरेपछि... 

हरिहरसिंह राठौर

धादिङ — विगत २ महिनादेखि जन्डिसले थलिएका ३९ वर्षीय राजु मगरको ज्यानै जोखिममा परेको छ । आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकाली दिन्छु  भन्दै बिरामीलाई आफै घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । पेट चिर्नुअघि लामाले सूर्य पनि लगाएको आफन्तजनले बताए । 

जन्डिस झिक्ने बहानामा ब्लेडले पेट चिरेपछि... 

जन्डिसको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका ३ शान्तबजारका लामा झाँक्री गजबहादुरले बिरामीको पेटमा प्वाल पारिदिएका छन् । विगत २ महिनाअघिदेखि जन्डिसका कारण थलिएका नीलकण्ठ नगरपालिका –९ झगरेका राजुको शरीरबाट विकार निकालिदिने भन्दै झाँक्री गजबहादुरले पेटमा प्वाल पारिदिएका हुन् ।


५ सय मिटर नजिकैको शहिल मेमोरियल अस्पताल नगएर झाँक्रीको उपचारले चाँडै जण्डिस रोग निको हुने विश्वासमा पर्दा राजु यतिबेला जीवनमरणको दोसाँधमा पुगेका छन् । बोल्न समेत नसक्ने अवस्थामा पुगेका राजुलाई यतिबेला जिल्ला अस्पताल धादिङमा उपचारका लागि ल्याइएको छ ।


‘अस्पतालमा उपचार गराएर घरमै औषधि खुवाइरहेका थियौँ, निको भएकै थिएन, ’राजुकी श्रीमती विमलाले भनिन,’ त्यसपछि झाँक्रीलाई देखाउँदा शरीरमा विकार रहेको र आफूले विकार निकालेर फालिदिने बताएपछि झाँक्रीको विश्वास गर्दा यस्तो घटना हुन पुग्यो ।’


झाँक्रीले शरीरमा भएको विकार निकालिदिन्छु भन्दै बन्द कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका थिए । सुरुमा झाँक्रीले सुई पनि लगाएको जस्तो गरी केही सामानले घोचेको र पछि ब्लेटले पेट चिरेर त्यही घाउमा मुखले टोकिदिएको कुरा श्रीमानले आफूलाई बताएको विमलाले बताइन् ।


झाँक्रीले पेटमा प्वाल खोपिदिएर अवस्था झनै बिग्रिएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । तर काठमाडौं नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर फिर्ता गरिदिएको थियो । लामा विरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन् । लामा फरार रहेको प्रहरीले जनाएको छ ।


लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति पनि हुन । उनको यसअघि पनि केही घटना विवादमा आएका थिए । ३ वर्षअघि पनि धादिङ मुलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए ।


त्यसपछि ती महिलालाई प्रहरीकोमा उजुरी गर्न भनिएपनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएको महिला अधिकारकर्मी राधिका सापकोटाले बताइन् । उनले भनिन, ‘हामीले घटनाबारे थाहा पाएका थियौँ, प्रहरीकोमा उजुरी गर्न पीडितलाई आग्रह गरेँ पनि, झाँक्रीले पीडितलाई मन्त्र लगाएरै मारिदिन्छु भन्ने धम्की दिएकाले घटना त्यसै ढाकछोप पारिएछ ।’

प्रकाशित : भाद्र २५, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?