मेडिकल कलेजविरुद्धको आन्दोलनमा लागेका चन्दका छोरा पक्राउ

रमेशकुमार पौडेल

चितवन — प्रहरीले चितवन मेडिकल कलेजविरुद्ध आन्दोलनको अगुवाइ गरेका प्रकाश चन्दलाई बुधबार बिहान भरतपुरबाट गिरफ्तार गरेको छ । प्रकाश प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दका छोरा हुन् ।

प्रकाशको अगुवाईमा नौ दिनदेखि चितवन मेडिकल कलेजको शिक्षण अस्पताल गेट अगाडि दिनहुँ प्रदर्शन हुँदै आएको छ ।

विद्यार्थीहरुले माग राखेर विरोध प्रदर्शन गर्दै आए पनि बुधबार अस्पताल प्रशासन भित्रै छिर्ने तयारी गरेका कारण उनीहरुलाई नियन्त्रणमा लिनु परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले बताए । प्रकाश चन्दसहित १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । विद्यार्थी पक्राउ परे पनि अस्पताल मुल गेट अगाडिको धर्ना र प्रदर्शन जारी नै रहेको छ ।

नाराबाजी गर्दै रहेका विद्यार्थीले प्रकाशलाई धर्नास्थलभन्दा केही परबाट प्रहरीले नियन्त्रणमा लिएको बताए । यसै गरी पक्राउ पर्नेमा विद्यार्थी महिला पनि रहेको तर उनीहरुलाई समाउने बेलामा महिला प्रहरीहरु कोही पनि नरहेको उनीहरुले जानकारी दिए । विद्यार्थीले सरकारले निर्धारण गरेको शुल्क मात्रै लिनुपर्ने र बढी लिएको सबै शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।

मेडिकल कलेजको प्रशासनले बुधबार नै प्रेस विज्ञप्ती निकालेर विद्यार्थीले राखेका धेरै मागहरु सरकार र सरकारका अन्य निकायहरुसँग सम्बन्धित रहेको बताएको छ । अस्पताल र कलेज प्रशासनसँग सम्बन्धित मागहरु वार्ता र छलफलबाट पुरा गर्न अस्प्ताल प्रशासन तयार रहेको विज्ञप्तीमा उल्लेख छ । तर आन्दोलन गरेर अस्पतालको सेवा प्रवाहमा बाधा हाल्ने, सञ्चालकहरुलाई धम्की दिने जस्ता गैर जिम्मेवार र गैरकानुनी काम भएको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पढाईपछि 'वर्क भिसा' दिने 

नविन पाेखरेल

लण्डन — अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायती विश्वविद्यालयबाट 'ग्रयाजुएट' भएपछि दुई वर्षसम्म 'वर्क भिसा' पाउने भएका छन् । सरकारले इन्टेक २०२०-२१ देखि यस्तो नियम ल्याउन लागेको होम अफिसको अध्यागमन सम्बन्धि पछिल्लो श्वेत पत्रमा उल्लेख छ ।

तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा सन् २०१२ मा हटाइएको पोस्ट स्टडी वर्क भिसा व्यवस्था पुनः ल्याउन लागिएको हो। अहिले ब्याचलर्स, मास्टर्स वा पिएचडी गरेपछि चार महिनामात्र काम गर्न छुट छ।

प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मुल उदेश्य ओभरसीज विद्यार्थीलाई बेलायती विश्वविद्यालयतर्फ आकर्षित गर्नु रहेको छ।

यूरोपियन कानुन अनुसार बेलायती र ईयू विद्यार्थीलाई वर्षको ९ हजार २५० पाउन्ड ट्युसन फी तोकिएको छ तर अन्तर्राष्ट्रिय विद्यार्थीलाई 'लिमिट' छैन। यसको मतलब अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयले आफ्नै ढंगले चार्ज गर्न सक्छन्।

'अन्तर्राष्ट्रिय विद्यार्थीलाई पढाईपछि काम गर्ने अधिकार दिइनु स्वागतयोग्य कुरा हो,' हाल पीएचडी गरिरहेका विद्यार्थी गणेश खड्का भन्छन्, 'तर नेपालबाट कन्सलटेन्सीहरुले यसको दुरुपयोग गर्न सक्नेतर्फ पनि विद्यार्थी चनाखो हुन जरुरी छ।'

बेलायतले करिब दशकअघि नियम खुकुलो बनाउँदा यसको व्यापक दुरुपयोग भएपछि अध्यागमन नियममा कडाइ गरिएको थियो।

अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायतलाई वर्षको प्रत्यक्ष-अप्रत्यक्ष करिब २० बिलियन पाउन्ड योगदान गरिरहेका बताइन्छ। हाल बेलायती विश्वविद्यालयमा ४ लाख ६० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको आंकडा छ।

प्रकाशित : भाद्र २५, २०७६ १२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्