भीडलाई ‘डेंगु फोबिया’

फातिमा बानु

काठमाडौँ — आँखा रातो र हल्का दुख्ने भएपछि नयाँ बजारकी आकांक्षालाई रातभरि निद्रा लागेन । बेस्सरी टाउको दुख्ने र ज्वरो आउनेजस्ता लक्षण नदेखिए पनि आफूलाई डेंगु नै भएको हो भनेर उनी चिन्तित भइन् । आँखा दुखेकै भरमा डेंगुको शंका लिएर उनी टेकुस्थित सरुवा रोग अस्पताल पुगिन् ।

चिकित्सकले डेंगु होइन, भइहाले पनि डराउनुपर्ने छैन भनेपछि मात्रै उनले ढुक्कको सास फेरिन् ।

‘डेंगु लागेपछि बाँचिँदैन होला भन्ठानेर आत्तिँदै अस्पताल आएँ,’ उनले भनिन्, ‘खबर हेर्दा–सुन्दा त्यसै त्यसै शंका हुने रहेछ ।’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार दिउँसो मूल गेटदेखि नै जँचाउन आउनेको बाक्लो भीड थियो ।

टिकट काउन्टर, ओपीडी र आकस्मिक कक्षदेखि अस्पताल परिसर कतै खाली थिएन । आकस्मिक कक्षको एउटै बेडमा दुई जना बिरामी राखिएका छन् । ओपीडीमा लामो लाइन थियो भने रगत परीक्षण गर्ने ठाउँमा पालो कुर्ने र रिपोर्ट पर्खिएर उभिएकाको ठेलमठेल थियो । अस्पतालमा गत सातायता दैनिक करिब ५ सय जना आइरहेका छन् । जँचाउन आउनेमध्ये डेंगु नै भएका बिरामीको संख्या भने निकै कम छ । धेरै जना डेंगु नभई शंकाले डराएर अस्पताल आइरहेको चिकित्सक बताउँछन् ।

भीडको त्रास हटाउन स्वास्थ्यकर्मी बिहान ८ बजेदेखि दिनको १२ घण्टा लगातार जाँचिरहेका छन् । ठाउँ अभाव भएपछि अस्पतालभित्र ग्यारेज र खुला ठाउँको प्रयोग गरेर पनि चिकित्सकले सेवा दिएका छन् । पछिल्लो समय देशैभर डेंगु संक्रमणको प्रकोप बढेपछि अधिकांशलाई ‘डेंगु फोबिया’ ले समातेको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए ।

‘लक्षण लिएर आएका ३० प्रतिशतमा फोबिया देखिएको छ,’ उनले भने, ‘डेंगु लागेपछि ज्यानै जान्छ भन्ने त्रास छ उनीहरूमा ।’ फोबिया लिएर आएकालाई चिकित्सकले परामर्श दिँदै पठाइरहेका छन् । परामर्शबाट पनि ढुक्क हुन नसक्नेलाई भने डेंगु परीक्षण नै गराउन लगाइएको छ ।

डेंगु सामान्य भाइरल जस्तै एक प्रकारको भाइरस संक्रमण भएकाले आत्तिनु नपर्ने डा. बाँस्तोला बताउँछन् । ‘लक्षण देखिएमा घरमै आराम गर्ने र पारासिटामोल अनि झोलिलो खानेकुरा खाएमा हराएर जान्छ,’ उनले भने, ‘जटिलता नआएसम्म अस्पताल पनि आउनु पर्दैन ।’ डेंगु सामान्य भाइरल मात्रै हो भन्ने जनचेतना नहुँदा बिरामीभन्दा त्रास बढिरहेको उनले बताए ।

‘७ दिनभन्दा बढी ज्वरो आए, शिथिलता भएमा मात्रै गम्भीर हुनुपर्छ, औषधि चलाउनुपर्छ,’ उनले भने, ‘तर यस्ता जटिलता निकै कम, ७ प्रतिशतभन्दा कमलाई मात्रै हुने गर्छ ।’ कडा रोगका बिरामी, वृद्धवृद्धा र गर्भवती महिला जोखिममा रहेको उनले बताए । डेंगु संक्रमणका कारण बेस्सरी मांसपेशी दुख्यो भन्दैमा दुखाइ कम गर्ने औषधि आफूखुसी खान नहुने उनको सल्लाह छ ।

अस्पतालमा अहिले डेंगुका १ सय २१ बिरामी भर्ना भए पनि कसैमा पनि जटिलता नभएको उनले बताए । टाढाबाट आएका बिरामीको डर नै कम गर्नका लागि भए पनि अस्पतालले भर्ना दिने अनि सामान्य औषधि र परामर्श दिएर डिस्चार्ज गर्ने गरेको छ । हालसम्म एक जना बिरामीलाई मात्रै आईसीयूमा राख्नुपर्ने स्थिति आएको अस्पतालले जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्

डेंगुको डर : पूरा बाहुले र हलुका रङका लुगा लगाऔं

चिकित्सक भन्छन्– डेंगु सामान्य भाइरल जस्तै एक प्रकारको भाइरस संक्रमण हो, आत्तिनु पर्दैन
अतुल मिश्र

काठमाडौँ — हाफपेन्ट होइन पेन्ट लगाउनुस्, पूरा बाहुले लुगा लगाउनुस् । डेंगु फैलिएको खबरले डराएकालाई चिकित्सकहरू यस्तै सल्लाह दिइरहेका छन् । केही सामान्य ध्यान पुर्‍याउने हो भने संक्रमणको जोखिम टर्छ । सुझाएको एउटा सामान्य उपाय हो– लामखुट्टे फिकाभन्दा गाढा रङमा झ्यामिन्छन् । त्यसैले लुगा फिक्का रङको लगाएको बेस । 

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाका एन्टामोलोजिस्ट (किटविज्ञानी) शिशिर पन्त भन्छन्, ‘डेंगु सार्ने एडिस जातको लामखुट्टे गाढा रङमा बढी आकर्षित हुन्छ । त्यसैले कालोलगायत गाढा रङको लुगा लगाउनेलाई बढी टोक्ने गरेको पाइयो ।’

सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेले पार्ने फुल र त्यसका लार्भा खोजेर नष्ट गर्नु सबैभन्दा प्रभावकारी उपाय भए पनि सर्वसाधारणले कस्ता लुगा लगाउने र कस्ता ठाउँमा बस्ने भन्नेमा ध्यान दिन पनि जरुरी रहेको उनले बताए । ‘लामखुट्टे संकलन गर्न जाँदा फिक्का रङभन्दा गाढा रङको लुगा लगाउनेमा बढी आकर्षित भएको पायौं,’ उनले भने, ‘साँझ–बिहान घुम्न निस्कने जोकोहीले आफ्ना लुगाको अवस्थामा ध्यान दिनु जरुरी छ ।’ शरीर छोप्ने पूरा बाहुले लुगा लगाउनु उत्तम रहेको उनले बताए ।

‘हाफ पाइन्ट, सर्ट लगाउँदा जीउ खुला भएको भागमा मस्क्युटो रिपलेन्ट क्रिम (लामखट्टे धपाउने) दल्नुपर्छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाह भन्छन्, ‘अहिलेको अवस्थामा शरीरको जति बढी भाग लुगाले ढाक्नुभयो त्यति नै लामखुट्टेको टोकाइको जोखिम कम हुन्छ ।’

एडिस लामखुट्टेले धेरै पातलो लुगाको बाहिरबाट समेत टोक्न सक्छ तर जिन्सलगायतका अलि बाक्लो लुगा लगाए बाहिरबाट सहजै टोक्न सक्दैन । अझ जीउमा गन्जी, सर्टसहित दुई–तीनवटा लुगा लगाउँदा बाहिरबाट टोक्न नसक्ने उनी बताउँछन् ।

‘दिनभर घरमा बस्ने, बालबालिका र वृद्धवृद्धाले दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु राम्रो हो,’ उनले भने, ‘बच्चाहरूलाई बाहिर आदि खेल्न जान दिँदा पूरै जीउ छोपिएको लुगा लगाएरै पठाउनुपर्छ ।’ घरमा कसैलाइ शंकास्पद डेंगु ज्वरो देखिए सकेसम्म झुलभित्रै सुताउनुपर्ने उनको सुझाव छ । डेंगुको उपचार भइरहेका व्यक्तिलाई स्वास्थ्य संस्थामा पनि झुलभित्र राखेर उपचार गर्नुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्न नरिवललगायतका तेल लगाउने उपायबारे सामाजिक सञ्जालमा आदानप्रदान भइरहेको सन्देश बेठीक भएको विज्ञहरूको भनाइ छ । ‘नरिवललगायतका तेल दलेर लामखुट्टेको टोकाइबाट बच्न सकिँदैन,’ किटविज्ञानी पन्तले भने, ‘यो लामखुट्टेले दिउँसो बढी टोक्ने गरे पनि आजकल कृत्रिम प्रकाश बढी हुने भएकाले रातिसमेत टोक्न सक्छ ।’

डेंगु सार्ने लामखुट्टेका प्रजाति धेरै उचाइमा उड्न सक्दैनन् । जमेको पानी आदि ठाउँमा भएको आफ्नो प्रजननस्थलभन्दा सयदेखि ५० मिटर वरिपरि नै बढी सक्रिय रहन्छन् ।’ फुल पार्ने बेलामा बढी आक्रामक हुने एडिसका पोथी लामखुट्टेले आफ्नो पेट नभरेसम्म थुप्रैपटक थुप्रै जनालाई टोक्ने उनले बताए । ‘डेंगु हुँदैमा तत्कालै मरिहालिने भन्ने पनि होइन,’ उनले भने, ‘शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई अलि गाह्रो हो । प्रतिरोध क्षमता भएकाहरू छिट्टै निको हुन्छन् ।’

आफूले लगाउने लुगादेखि बस्ने र काम गर्ने ठाउँको सरसफाइमा ध्यान पुर्‍याए जोखिम घट्ने उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७६ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्