२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सिक्कामा शताब्दी पुरुष

सीमा तामाङ

काठमाडौँ — वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जन्मोत्सव मनाउने क्रममा ललितपुर महानगरले मंगलबार जोशीको चित्र अंकित स्मारिका सिक्का सार्वजनिक गरेको छ । पुल्चोकस्थित ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, अर्थमन्त्री युवराज खतिवडाले सामूहिक रूपमा सिक्का सार्वजनिक गरेका हुन् ।

सिक्कामा शताब्दी पुरुष

महानगरले २०७६ सिरिजमा जोशीको चित्र अंकित १ सयको १० हजार, १ हजारको २५ हजार र २५ सयका २५ हजार सिक्का सार्वजनिक गरेको छ ।


कार्यक्रममा शताब्दी पुरूष जोशीको व्यक्तित्वलाई नभएर विचारलाई सम्मान गरेको वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनले बताए । भाषा, इतिहास, संस्कृति, शिक्षालगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकाले उनलाई सम्मान गरेको महर्जनले बताए ।


‘वैशाखमा घोषणा गरेको कार्यक्रमअन्तर्गत नै स्मारिका सिक्का लोकापर्ण गरिएको हो,’ उनले भने, ‘जोशीको नाममा सडकको नाम राख्ने तयारीसमेत गरेको छ ।’ मुद्रा व्यवस्थापन विभागका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला भन्छन्, ‘आम जनताको हकमा पहिलो पटक टक्सार विभागले स्मारिका सिक्का टकमरी गरेको हुँदा नेपालले आफ्नै इतिहास रचेको छ ।’


टक्सार विभागले पहिले गणेशमान सिंह, भानुभक्त आचार्य, गौतम बुद्ध तथा वन्यजन्तुका चित्र अंकित सिक्का सार्वजनिक गरेको थियो । अब शताब्दी पुरूष जोशीको चित्र अंकित सिक्का सार्वजनिक भएकोले गौरवान्वित हुनुपर्ने उनले बताए । सयका सिक्का धातुबाट बनेका छन् भने १ हजार र २५ सयका सिक्का चाँदीबाट बनेको उनले बताए ।


सय वर्ष पार गरेपछि जुनसुकै चिज पुरातात्त्विक हुने अर्थमन्त्री युवराज खतिवडाले बताए । जोशीले नेपाल राष्ट्र बैंकमा करिब १० गभर्नर खटाइसकेको र त्यसमध्ये एक आफू पनि रहेको उनी बताउँछन् । ‘जोशीले गरेको योगदानको क्रण तिर्न सक्दैनौँ,’ उनले भने, ‘त्यसैले उनको योगदानलाई सम्मान गर्नुपर्छ ।’


पहिले हजारको नोटमा भारत र श्रीलकंका हात्ती छापिने गरेको जोशीले पत्ता लगाएको थियो । पछि जोशीले नै छावासँगको हात्तीको चित्र हजारको नोटमा छाप्ने प्रयास गरेको उनले बताए । तर अब आउने हजारको नोटको सिरिजमा नेपाली हात्तीको फोटो छापिने खतिवडाले बताए ।


महानगरले नेपालमा जीवित हुँदा वास्ता नगर्ने र मरेपछि सम्मान गर्ने प्रचलनलाई तोड्दै जीवित छँदा नै सम्मान गर्न सुरु गरेको छ । हालसम्म नेपालको इतिहासमा जीवित मानिसको सिक्का टकमरी नगरेको महानगरका मेयर चिरीबाबु महर्जनले बताए । त्यसैले नेपालका लागि यो गौरवको विषय हुने महानगरले जनाएको छ । महर्जनका अनुसार टक्सार विभागबाट मुद्रण गरिने जोशीको स्मारिका सिक्का नै अन्तिम हुन सक्छ ।


हाल छापिएको सिक्का विश्वका हरेक मुद्रा संकलकको हातहातमा पर्ने उनले बताए । जोशी चार दशकसम्म नोट तथा मुद्रा डिजाइनरका रूपमा मुद्रा व्यवस्थापन विभागको महानिर्देशकमा कार्यरत थिए । त्यसबेला जोशीले पाँचौं शताब्दी राजा मानदेवको पालादेखि २० औँ शताब्दीसम्म मानांक (त्यसबेलाको मुद्राको नाम) मुद्रा संकलन गरेका थिए । जुन अहिलेको अनुसन्धानमा ऐतिहासिक सिक्काको रूपमा छाउनीमा राखिएको उनले बताए ।


प्रकाशित : भाद्र २५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?