कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पशुपतिमा आरतीअघिको राष्ट्रिय गानबारे पर्यटनमन्त्रीको प्रतिक्रिया : 'राष्ट्रिय गान र मलामीको साइनो छैन'

सुरज कुँवर

काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गंगा आरतीमा प्रारम्भ गरिएको राष्ट्रिय गान र आरती हुने स्थान नजिकै मृतकहरूको अन्त्येष्टि हुने र शोकाकुल आफन्त असहज परिस्थितिबीच कुनै सम्बन्ध नरहेको प्रतिक्रिया दिएका छन् । 

पशुपतिमा आरतीअघिको राष्ट्रिय गानबारे पर्यटनमन्त्रीको प्रतिक्रिया : 'राष्ट्रिय गान र मलामीको साइनो छैन'

मंगलबार पर्यटन बोर्डमा आयोजित फोटो नेपालको कार्यक्रमा पुगेका मन्त्री भट्टराईले राष्ट्रिय गान बजाउने निर्णय र मलामी गएकाहरुको कुनै सम्बन्ध नहुने बताए । ‘राष्ट्रिय गान अलग हो, त्यो अलग हो,’ कान्तिपुरसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘यो एकै ठाउँमा ल्याइएको प्याकेज होइन ।’ उनले पशुपति क्षेत्रमा हुने विविध सांस्कृतिक कार्यक्रमहरुको प्रसंग जोड्दै भने, ‘त्यसो त तिजमा दिदीबैनीहरु तिलहरी लगाएर नाचगान गरिरहेका हुन्छन् । अन्य कुरा पनि सँगसँगै चलिनै रहेको हुन्छ । त्यसैले यो फरक विषय हो ।’


कान्तिपुरसँग प्रतिक्रिया दिनु अघि पर्यटन बोर्डको कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले राष्ट्रिय गानको विषयबारे मन्त्रीको धारणा मागेका थिए । लगत्तै राष्ट्रिय सभा गृहमा चिनियाहरुले आयोजना गरको कार्यक्रममा जाने हतारोमा रहेका मन्त्रीले यसबारे बोल्दिनँ भन्दै पन्छिएका थिए ।


गत भदौं १३ गतेदेखि पशुपतिमा आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउन सुरु गरिएको थियो । आरती हुने स्थान नजिकै मृतकहरूको अन्त्येष्टि हुने र शोकाकुल आफन्त असहज परिस्थितिमा रहेको बेला राष्ट्रिय गान गाउन उचित नहुने भन्दै मन्त्रीको निर्णयको चौतर्फी आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा समेत यसको विरोध भइरहेको छ । चारैतिर विरोध भएपछि गंगा आरती सेवा सञ्चालक समितिले भने सोमबार र मंगलबार राष्ट्रिय गान बजाएन ।

सोमबार बसेको समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ ।

प्रकाशित : भाद्र २४, २०७६ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?