१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेकपाको प्रदेश २ जिल्ला कमिटीको शपथग्रहणमा झडप : यी हुन् विवादको चुरो कुरो

नेताहरुले विवाद समाधान नगरी आफूखुशी शपथग्रहण गराउन खोजे पछि तनाव
रविन्द्र उप्रेती

महोत्तरी — प्रदेश २ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा झडप भएको छ । झडप शान्त गराउन प्रहरीले लाठीचार्ज गर्नु परेको थियो । त्यस क्रममा राजविराज ८ का प्रदेश कमिटी सदस्य देवनाथ यादव घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । 

नेकपाको प्रदेश २ जिल्ला कमिटीको शपथग्रहणमा झडप : यी हुन् विवादको चुरो कुरो

बर्दिवासस्थित शुभ स्वास्तिक हस्पिटल भर्ना गरिएका यादवको टाउकोमा ५ टाँका लगाइएको अस्पतालका केविजंग कार्कीले जनाए ।

बर्दिवास प्रहरीका नायव उपरीक्षक निसान थापाले लाठी चार्ज नगरेको बताए । बर्दिवास सेवा समिति हलमा राखिएको शपथग्रहणस्थलमै असन्तुष्ट पक्षले कुर्सी तोडफोड गर्न थालेपछि प्रहरीले उनीहरुलाई हलबाहिर निकालेको थापाले जनाए । घटनास्थलमा सशस्त्र र नेपाली प्रहरीले कडा सुरक्षा दिइरहेका छन् ।

बर्दिवासमा मंगलवार प्रदेश २ अर्न्तगतका बारा र पर्साबाहेक पूर्वका ६ जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम राखिएको थियो । शपथग्रहणमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल बर्दिवास आउने जनाइएको थियो । तर विवाद चर्कँदै गएपछि उनीहरुको आउने कार्यक्रम बीचैमा रद्द गरिएको छ ।

शीर्ष नेता नआउने भएपछि प्रदेश अध्यक्ष प्रभु साहको उपस्थितिमा शपथ ग्रहण गराउने निधो गरियो । त्यसपछि पनि असन्तुष्ट पक्षको विरोध साम्य भएन । उनीहरुले मनोयनमा कार्यकर्ताको मूल्याङ्कन नभएको , पार्टी नेताले एकलौटी गरेको भन्दै विरोध जारी राखेका छन् । केही कार्यकर्ता आ-आफ्नो जिल्लाको साटो बर्दिवासमा शपथ कार्यक्रम राखेकोमा पनि असहमत देखिन्थे । नेताहरुले विवाद समाधान नगरी आफूखुशी शपथग्रहण गराउन खोजेकाले तनाव सृजना भएको असन्तुष्ट पक्षधरको भनाइ छ । केहीले हल परिसरको मुख्य गेट घेराउ गरी धर्ना दिइरहेका छन् ।

विवाद थप चर्कँदै गएपछि नेताहरुले ४ जिल्लाको शपथ कार्यक्रम स्थगन गरी सिरहा र सप्तरीका कमिटीलाई मात्र शपथ ग्रहण तय गरेका थिए । शपथ कार्यक्रमका लागि बर्दिवासको सेवा सदन हलभित्र नेता र कार्यकर्ता प्रवेश गरेको केहीबेरमै हो-हल्ला र कुर्सी भाँच्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

यो समाचार तयार पार्दासम्म हलमा हजारबढी कार्यकर्ताको भीड छ । भित्र प्रदेश सह-इञ्चार्ज महेन्द्र पासवान र प्रदेश सचिव सुमन प्याकुरेल छन् । प्रहरीले कडा सुरक्षा दिइरहेको छ । उनीहरुले स्थगनको सूचना नटाँसेसम्म हलबाट नजाने बताएका छन् ।

बर्दिवासमै रहेका नेकपा केन्द्रीय सदस्य राजु खड्काले असन्तुष्टि व्यक्त गर्ने नाममा तोडफोड र नेताहरु विरुद्धको अभद्र व्यवहार जस्ता घटना घटनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले समस्याको शान्तिपूर्ण समाधानका लागि छलफल भइरहेको जनाए ।

प्रकाशित : भाद्र २४, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?