१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पाइपलाइन उद्घाटन पछि मोदीले भने - ‘नेपालको विकासप्रति भारत प्रतिबद्ध छ’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् । मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन पछि भारतीय प्रधानमन्त्री मोदीले त्यस्तो धारणा सार्वजनिक गरेका हुन् । मंगलबार मध्यान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट एकैपटक स्वीच थिचेर पाइपलाइन उद्घाटन गरेका हुन् । 

पाइपलाइन उद्घाटन पछि मोदीले भने - ‘नेपालको विकासप्रति भारत प्रतिबद्ध छ’

यो सँगै विगत लामो समयदेखि चर्चा रहेको पेट्रोलियम पाइपलाइन सञ्चालमा आएको छ । कुल ६८ किमि लामो पाइपलाइनको ३२.७ किमि खण्ड भारतमा पर्छ भने ३६.२ किमि खण्ड नेपालमा पर्छ ।


पाइपलाइन सञ्चालनमा आएसँगै पेट्रोलियम ढुवानीको झन्झट धेरै हदसम्म कम हुनेछ । पाइपलाइन २४ घन्टासम्म सञ्चालन हुनेछ । पाइपलाइनको क्षमता प्रतिघन्टा २९४ किलोलिटरसम्म छ । यसको शिलान्यास अघिल्लो वर्ष प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि गरिएको थियो । दक्षिण एसियामै यसकिसिमको अन्तरदेशीय पाइपलाइन लाइन पहिलो हो । भारतले बंग्लादेशसँग पनि पाइपलाइन निर्माण गरिरहेको छ । उक्त पाइपलाइनको लम्बाई भने १३० किमि छ ।


पाइपलाइन उद्घाटन सँगै दुवै प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन समेत गरेका थिए । ‘भिडियो कन्फरेन्समार्फत् नेपालमा द्विपक्षीय परियोजनाको रिमोट उद्घाटनका लागि तपाईसँग जोडिन पाउँदा निकै खुशी लागेको छ,’ मोदीले भनेका छन् ।


पाइप लाइनको उद्घाटनसँगै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको साझेदारी थप गहिरो र गाढा बन्ने विश्वास समेत प्रकट गरेका छन् । ‘मलाई खुशी छ हामीहरु आपसी सहयोगका क्षेत्रमा प्रगति गरिरहेका छौं । मलाई आशा छ कि हामीहरु आफ्नो साझेदारीलाई थप व्यापक र गाढा बनाउँदै तीब्र रुपमा अघि बढाउँदै लैजानेछौं,’ ट्विटमा मोदीले भनेका छन् । त्यसैगरी चार वर्षअघिको विनाशकारी महाभूकम्पपछि नेपालले पुनर्निर्माणको काम अघि बढाएको र छिमेकी एवं निकट मित्र भएका नेताले भारतले पनि सहयोगको हात बढाएको समेत मोदीले बताएका छन् । साथै भारतको सहयोगका कारण गोरखा र नुवाकोटमा भूकम्प पीडितहरुले पुनः आफ्नो बास पाएको समेत खुशी व्यक्त गरेका छन् ।


मोदीले क्रस बोर्डर पाइप लाइनले अनुमानमा भन्दा आधा समयममै बन्न सफल भएकोमा सन्तोष समेत व्यक्त गरेका छन् । साथै पाइपलाइन पूर्वनिर्धारित समय अगावै सम्पन्न भएको मा त्यसको श्रेय प्रधानमन्त्री ओलीको नेतृत्व र नेपालको सरकारको सहयोग एवं दुवै सरकारको संयुक्त प्रयासलाई समेत जाने बताएका छन् ।


यसैगरी पछिल्लो पाँच वर्षमा पशुपतिनाथ धर्मशाला र वीरगंज आईसीपीलगायतका कतिपय महत्वपूर्ण द्विपक्षीय परियोजनाहरुसमेत सम्पन्न भएको समेत मोदीले जनाएका छन् । ‘विकासका लागि हाम्रो साझेदारीलाई घनिभूत बनाउन र नयाँ क्षेत्रमा सहयोगहरुको विस्तार गर्दै नयाँ अवसरहरुको लाभ उठाउन हामीहरु सफल भएका छौं । हाम्रो संयुक्त प्रयासको उद्देश्य भनेकै हाम्रा जनताहरुले लाभ पाउन् र उनीहरुको विकास होस,’ मोदीले ट्विटमा भनेका छन् ।


साथै मोदीले पछिल्लो समय नेपाल र भारतबीच बढेको उच्च राजनीतिक तहमा बढेको सम्बाद र भेटघाटलाई पनि उपलब्धिका रुपमा अर्थ्याएका छन् । ‘विगत केही वर्षयता हामीहरुबीच उच्च राजनीतितहमा अभूतपूर्व निकटता कायम भएको छ र नियमित सम्पर्क स्थापित छ । पछिल्लो डेढ वर्षभित्र मात्र मेरा मित्र प्रधानमन्त्री ओली र मेराबीच चार पटकसम्म भेट भइसकेको छ,’ मोदीले भनेका छन् ।


त्यसअघि मोदीले ट्विट गर्दै अघिल्लो वर्ष प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला सम्पन्न परियोजनाहरुको चाँडै उद्घाटन गर्न सहमति भएको र संयुक्त प्रयासका कारण द्धिपक्षीय परियोजनाहरुको प्रगति भइरहेको र त्यसैको फलस्वरुप मंगलबार पाइपलाइनको संयुक्त उद्घाटनमा भाग लिन लागेको बताएका थिए ।

सच्याइएको : सिंहदरबारबाट हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याएको छ ।

प्रकाशित : भाद्र २४, २०७६ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?