कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेसमा विभाग गठनको विवाद

कार्यकाल सकिने बेला सभापति शेरबहादुर देउवा पार्टीका विभाग गठन गर्ने तयारीमा, त्यसमा नअलमलिई महाधिवेशनमा जुट्न पौडेल पक्षको जोड 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — महाधिवशेनको मुखमा पार्टीका विभाग गठन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसमा मतान्तर देखिन थालेको छ । कार्यकाल सकिने बेला सभापति शेरबहादुर देउवा पार्टीका विभाग गठन गर्ने तयारीमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशनको मुखमा विभाग गठन गर्नुको औचित्य नभएको तर्क गर्न थालेको छ ।

कांग्रेसमा विभाग गठनको विवाद

पौडेल पक्षले विभाग गठनतिर भन्दा महाधिवेशनको तयारीमा जुट्न सभापति देउवालाई सुझाउँदै आएको छ । देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल आगामी फागुनमा सकिँदै छ ।

पार्टी संगठनलाई चलायमान बनाउने विभागहरू एक दशकदेखि क्रियाशील छैनन् । तत्कालीन सभापति सुशील कोइरालाले पनि आफ्नो कार्यकालको अन्त्यतिर विभाग गठन गरेका थिए । त्यतिबेलाको भागबन्डा सन्तुलित नभएको भन्दै देउवा असन्तुष्ट बनेका थिए । देउवा पक्षले राजीनामा दिएपछि विभाग क्रियाशील हुनै सकेनन् । १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा आइपुगेका देउवाका पालामा पनि त्यही स्थिति दोहोरिँदै छ ।

देउवा आफू अक्षम नभएको सन्देश दिन विभाग गठन गर्ने सोचमा छन् । १४ औं महाधिवेशनबाट उनले पार्टी सभापति दोहोर्‍याउन चाहेका छन् । पार्टीका २८ विभाग, प्रदेश कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति, नेविसंघको तदर्थ समिति बनाउन देउवा आन्तरिक गृहकार्यमा जुटेका छन् । यी सबैमा भागबन्डा मिलाउन भने उनलाई चुनौती छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले विधानअनुसार अधिकार प्रयोग गर्न अर्को पक्ष (पौडेल) ले नदिँदा विभाग गठनमा ढिलाइ भएको बताए । विधानले विभाग गठन गर्ने अधिकार सभापतिलाई तोकेको छ । तर भागबन्डा पार्टीभित्र संस्थागत भइसकेकाले देउवा एकल निर्णय गरेर अघि बढ्न सक्ने अवस्थामा छैनन् । ‘महाधिवेशनअघि विभाग गठन गर्नु हुन्न भन्ने तर्क ठीक छैन,’ उपसभापति निधिले थपे, ‘सभापतिले सहमति गर्न खोज्नुभयो तर अरू नेता (पौडेल) ले मानेनन् ।’

केन्द्रीय सदस्य रामशरण महत महाधिवेशनको मुखमा विभाग गठनको औचित्य नभएको बताउँछन् । ‘महाधिवेशनलाई सकेसम्म समयमै गर्ने गरी तयारी अघि बढाउनुपर्छ । यतिबेला आएर गठन गरिएको विभागले काम गर्न सक्दैन,’ उनले भने, ‘तत्कालीन सभापति सुशील कोइरालाले पनि कार्यकालको आखिरीतिर विभाग गठन गर्नुभयो । काम गर्न सकेन । त्यस्तै स्थिति अहिले पनि नआउला भन्न सकिन्न ।’ कार्यकालको अन्त्यतिर विभाग गठन गर्दा महाधिवेशन तयारीमा समेत झमेला उत्पन्न हुन सक्ने उनको तर्क छ ।

किन बन्न सकेनन् विभाग ?

कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यका अनुसार विभाग पार्टीलाई क्रियाशील बनाइराख्ने निकाय हुन् । महाधिवेशन सकिनासाथ नेतृत्वले सबैभन्दा पहिला पार्टीको विभाग गठन गर्नुपर्ने उनी बताउँछन् । ‘विभाग गठन गर्दा धेरै नेता तथा कार्यकर्ताले काम पाउँछन् । क्रियाशीलता बढ्छ । संगठन चलायमान हुन्छ । त्यसको फाइदा पार्टीलाई पुग्छ,’ उनले भने, ‘लामो समयदेखि विभागहरू क्रियाशील नहुँदा पार्टी गतिशील बन्न सकेको छैन ।’

तत्कालीन सभापति कोइरालालाई निर्वाचित भएपछि सबैभन्दा पहिला विभाग गठनकै लागि सुझाव दिएको स्मरण गर्दै आचार्यले भने, ‘तर उहाँ पहिला पदाधिकारी मनोनयन गर्नतिर लाग्नुभयो । त्यसले पार्टीमा विवाद बढ्यो । प्रस्तावित पदाधिकारी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउन देउवा पक्षसँग सम्झौता गर्नुपर्‍यो । त्यसैबेला पार्टीमा भागबन्डाको झमेला सुरु भयो । अहिले त्यही बाटामा देउवाजी हुनुहुन्छ ।’

कांग्रेसमा ६८ सालदेखि विभाग क्रियाशील छैनन् । पार्टी विधानमा एउटा विभागमा ५१ जनासम्म सदस्य राख्न पाउने व्यवस्था छ । यस हिसाबले २८ विभागमा १४ सय २८ जनासम्म नेता तथा कार्यकर्ताले काम पाउँछन् । कांग्रेसका आन्तरिक संरचना लथालिंग बन्दा हजारौं नेता तथा कार्यकर्ता कामविहीन छन् ।

सभापति देउवाले पौडेल पक्षलाई ४० प्रतिशत हिस्सा दिएर विभाग गठन गर्न चाहेका थिए । अन्य क्षेत्रमा पनि पौडेल पक्षले ४० प्रतिशत हिस्सा लिँदै आएको छ । विभागमा पनि त्यही नियम लागू गर्न देउवाले चाहेका छन् । तर संगठन, प्रचारलगायत महत्त्वपूर्ण विभाग आफू राखेर सामान्य खालका विभाग दिन खोजेको भन्दै पौडेल पक्ष सशंकित छ ।

कांग्रेसमा सबैभन्दा शक्तिशाली संगठन विभाग मानिन्छ । त्यसपछि सूचना तथा सञ्चार, युवा तथा खेलकुद, अन्तर्राष्ट्रिय सम्बन्ध, संवैधानिक कानुन तथा संसदीय मामिला, संघीय मामिला तथा स्थानीय तह, जनसम्पर्क समिति समन्वय तथा वैदेशिक रोजगार तथा आप्रवासन, प्राकृतिक स्रोत, जल तथा ऊर्जा, शान्ति सुरक्षा तथा प्रशासन सेवा, भौतिक पूर्वाधार, निर्माण तथा यातायात, श्रमिक तथा ट्रेड युनियन आर्थिक नीति तथा योजना, भ्रातृ संघ समन्वयलगायतका विभाग छन् ।

‘विषयगत रुचि, ज्ञान र क्षमता भएका साथीलाई विवेक पुर्‍याएर सभापतिले विभाग बनाएको भए जोरी खोज्न कोही जाने थिएन,’ आचार्यले भने, ‘व्यक्तिगत समूह बलियो बनाउने स्वार्थले समय गुज्रिँदै आयो । देशको आवश्यकता एकातिर छ, निर्णय गर्ने प्रक्रिया अर्कातिर छ । वैयक्तिक रुचिमा आधारित भएर निर्णय गर्न थालेपछि यस्ता समस्या आउँछन् ।’

प्रकाशित : भाद्र २४, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?