कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

को उठ्ला रवीन्द्रको क्षेत्रमा ?

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनी निर्वाचित कास्की क्षेत्र नम्बर २ रिक्त छ । नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ । यसअघि गौतमले भने रवीन्द्रपत्नी विद्यालाई चुनावमा उठाउन उपयुक्त हुने अभिव्यक्ति दिएका थिए । 

पोखरा र बागलुङ — महत्त्वसाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरू कस्सिएका हुन् ।  पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ ।

को उठ्ला रवीन्द्रको क्षेत्रमा ?

कास्की २ बाट चुनाव लड्न ‘हेभिवेट’ उम्मेदवारको चर्चा छ । नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ । नेकपा कास्कीका एक प्रभावशाली नेताले गौतमलाई उम्मेदवार बनाउने लगभग टुंगो लागेको बताए । ‘केन्द्रबाट आउँदा उहाँ नै उम्मेदवार हो,’ उनले भने, ‘बीचमा विद्या भट्टराईको पनि कुरा छ ।’ त्यसो त यसअघि गौतमले रवीन्द्रपत्नी विद्यालाई नै चुनाव लडाउन उपयुक्त हुने सार्वजनिक रूपमै बोलेका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बर्दिया–१ मा कांग्रेसका सञ्जयकुमार गौतमसँग ७५३ मतअन्तरले पराजित भएका थिए । रवीन्द्रपत्नी विद्या र केन्द्रीय नेता वामदेव नआउँदा नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ बलियो दाबेदार रहेको ती नेताले बताए । ‘वामदेव उम्मेदवार बनून् भन्ने पार्टी केन्द्रको चाहना छ,’ उनले भने, ‘वामदेव र विद्या नहुने स्थितिमा गुरुङजी नै उम्मेदवार हुने सम्भावना छ ।’

उम्मेदवारको विषयलाई लिएर छलफल चलाउन केन्द्रबाट हालसम्म कुनै निर्देशन नआएको नेकपा कास्की अध्यक्ष कृष्ण थापा बताउँछन् । ‘उम्मेदवारको विषयलाई लिएर अहिलेसम्म आधिकारिक छलफल भएको छैन,’ उनले भने, ‘असोज ४ मा बैठक छ, त्यहाँ केही छलफल होला ।’ नेकपाले संगठनलाई अद्यावधिक गर्न दसमहिने योजना बनाएको छ । पहिला ४ महिना चुनावलक्षित कार्यक्रम गर्ने, त्यसपछि पार्टी र सत्तालाई सहयोग पुर्‍याउने योजना बनाउने नेकपाको तयारी छ ।

कांग्रेसबाट नेता धनराज गुरुङ उम्मेदवार बन्ने चर्चा छ । गुरुङले सामाजिक सञ्जालमै समेत अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । वामदेव आउँदा कांग्रेसबाट बलियो उम्मेदवार ल्याउनुपर्ने आवाज पार्टीभित्र उठेको कांग्रेस कास्कीका कार्यवाहक सभापति आइबहादुर गुरुङ स्विकार्छन् । ‘अहिले उम्मेदवारको विषयमा छलफल भएको छैन,’ उनी भन्छन्, ‘अन्तबाट ल्याउनैपर्ने जस्तो देखिन्न तर जित्न बलियो उम्मेदवार चाहिने आवाज उठेको छ ।’

उपनिर्वाचन हुने क्षेत्रलाई केन्द्रित गरेर कांग्रेसले गतिविधि अगाडि बढाएको उनले बताए । गत महिना कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारी पोखरामा भेला भएर कुनै पनि हालतमा कांग्रेसका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका थिए । उपनिर्वाचनमा उम्मेदवार बन्न कांग्रेसबाट धेरै आकांक्षी छन् । उनीहरूले टिकट पाउन केन्द्रदेखि जिल्लासम्म ‘लबिइङ’ गरिरहेका छन् । रवीन्द्र अधिकारीसँग पराजित देवराज चालिसे पुनः चुनाव लड्ने मनस्थितिमा छन् ।

महासमिति सदस्य ऋषि काफ्लेले पनि यसपल्ट आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् । अर्का महासमिति सदस्य उज्ज्वल बरुवाल उम्मेदवारका अर्का दाबेदार हुन् । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम कांग्रेसमा मिसिँदा उनी पनि प्रवेश गरेका थिए । पहाडमा गच्छदारको पकड बढाउन पनि आफूलाई उम्मेदवार बनाउन पार्टी नेतृत्वसँग लबिइङ गर्ने उनी बताउँछन् ।

साझा पार्टीले उम्मेदवार चयन गर्न गृहकार्य थालेको छ । शनिबारसम्म उम्मेदवार घोषणा गर्ने पार्टीको तयारी छ । पार्टीका कास्की र पोखरा महानगर संयोजक घोषणासभामा उम्मेदवारसमेत घोषणा गर्ने तयारी रहेको गण्डकी प्रदेश संयोजक महेश भण्डारीले बताए । यसपल्ट महिला उम्मेदवार उठाउने बताए पनि उनले नाम भनेनन् । ‘सामाजिक प्रतिष्ठा हासिल गरेको, समाजमा राम्रै पहिचान भएको र राजनीतिकै लागि महत्त्वपूर्ण अवसर छाडन तयार उम्मेदवारलाई उठाउँदै छौं,’ उनले भने ।

नेकपाबाट वामदेव गौतम र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार बनेको खण्डमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने उनले जानकारी दिए । ‘वैकल्पिक राजनीतिको चासो भनेको सम्बन्धित जिल्लाकै उम्मेदवार उठाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘तर हेभिवेट आउने अवस्थामा गण्डकी प्रदेशले पार्टी संयोजकलाई नै उम्मेदवार बन्न माग गर्छ ।’

पुराना पार्टीप्रति जनताको एक किसिमको निराशा रहेकाले आफ्नो पार्टी मुख्य दाबेदार भएको उनी दाबी गर्छन् । यीबाहेक समाजवादी पार्टी नेपालबाट किरण थापा, राप्रपाबाट सीता केसी उम्मेदवार बन्ने चर्चा छ । यो स्वर्गीय रवीन्द्रले तीन पटक जितेको ठाउँ हो । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार साउन १६ सम्म एक हजार ६ सय १० मतदाता थपिएका छन् ।

२०७४ मा यस क्षेत्रमा कुल ७० हजार ६ सय ५१ मतदाता थिए । थपिएकासहित उपनिर्वाचनमा ७२ हजार २ सय ६१ ले मतदान गर्न पाउनेछन् । यद्यपि बसाइँ सराइ गर्दा यो संख्या थपघट हुन सक्ने जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीको भनाइ छ ।

यसअघिको निर्वाचनमा कास्की २ मा ३२ मतदान स्थल र ८२ केन्द्र थिए । उक्त क्षेत्रमा ७० हजार ६ सय ५१ मध्ये ४९ हजार ९ सय १४ मत खसेको थियो । त्यसमा १ हजार ४ सय ६४ मत बदर भएका थिए । १ स्वतन्त्रसहित १३ उम्मेदवार चुनावी मैदानमा थिए । ११ उम्मेदवारको जमानत जफत भएको थियो । तेस्रो स्थानमा तत्कालीन साझा विवेकशील पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । कास्की–२ मा पोखरा महानगरपालिकाका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ पर्छन् ।

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ मा वामपन्थी र कांग्रेसबीच प्रतिस्पर्धा हुनेछ । गत निर्वाचनमा तत्कालीन एमाले, माओवादी र राष्ट्रिय जनमोर्चा मिलेर निर्वाचन लडेका थिए । प्रतिनिधिसभाका २ र प्रदेश ४ गरी ६ वटा सिट तीन वटा दलले दुईदुई बाँडेका थिए ।

निर्वाचनमा वामपन्थीहरूले जितेका थिए । कलेजोसम्बन्धी रोगले वामपन्थीतर्फ राजमोका उम्मेदवार टेकबहादुर घर्तीको गत मंसिर २८ मा मृत्यु भएपछि उपनिर्वाचनको मिति तय भएको हो । राजमो र नेकपाबीच एक जना उम्मेदवार बनाउने विषयमा छलफल सुरु भएको छ । कांग्रेस भने एक्लै निर्वाचन लड्ने तयारीमा छ ।

उपनिर्वाचनमा बागलुङका एक प्रदेशसभा सदस्य र एक वडाध्यक्षको निर्वाचन हुँदै छ । घर्तीका कारण प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को (२) खाली भएको थियो । बडिगाड गाउँपालिका–२ का अध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि दुई वर्षदेखि पद खाली छ ।

वामपन्थीको साझा उम्मेदवार बनाइने नेकपाका अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । तर पहिलो चरणमा आफ्नै दलको कार्यकर्तास्तरमा छलफलको क्रम चलेकाले राजमोसहितको छलफल भइनसकेको उनको भनाइ छ । ‘देशभर वामपन्थी एलाइन्स भइरहेकाले बागलुङ छुट्न हुँदैन भनेका छौं,’ सापकोटाले भने, ‘आफ्नो तयारीपछि राजमोसँग कुरा हुन्छ ।’

राजमो अध्यक्ष अमर थापाले भने राजमोकै उम्मेदवार हुनुपर्ने बताए । ‘यसअघिको समीकरणमा हामीले पाएको स्थान हो, अब पनि राजमोकै उम्मेदवार हुनुपर्छ,’ उनले भने, ‘उम्मेदवार को बनाउने भन्ने कुरा पार्टीको छलफलबाट टुंगोमा पुग्छौं ।’ बागलुङमा वाम भर्सेस कांग्रेस हुने देखिएको कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरले बताए । मंगलबारदेखि कांग्रेसले यहाँ जागरण अभियान थाल्दै छ ।

प्रकाशित : भाद्र २४, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?