डेंगु प्रकोप : 'फगिङ' होइन, 'सर्च एन्ड डेस्ट्रोय'

स्थानीय सरकारले प्रभावहीन फगिङ मेसिन प्रयोग गरिरहेका छन्, केन्द्रीय सरकारले सावधानी अपनाउनका लागि अपिल र प्राविधिक सहयोग गर्नेबाहेक कुनै अभियान चलाएको छैन । 
अतुल मिश्र

काठमाडौँ — वैशाखयता फैलिएको डेंगु नियन्त्रणमा प्रभावकारी उपाय अपनाउन नसक्दा यसले प्रकोपको रूप लिएको छ । राजधानी काठमाडौंलगायत ४८ जिल्लामा यसको संक्रमण देखिएको छ ।

डेंगुको उपचार गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका बिरामी ।तस्बिर : इलिट जोशी/कान्तिपुर


विशेषज्ञहरूका अनुसार लामखुट्टेका अन्डा, प्युपा र लार्भा खोजेर नष्ट गर्ने (सर्च एन्ड डेस्ट्रोय) विधि अपनाउनुको साटो लामखुट्टे मार्न औषधि छर्कने (फगिङ) उपाय अपनाइँदा डेंगु नियन्त्रण हुन नसकेको हो ।

स्वास्थ्यसम्बन्धी अधिकार स्थानीय सरकारमा रहेकाले केन्द्रीय सरकारबाट सावधानी अपनाउनका लागि अपिल र प्राविधिक सहयोग गर्नेबाहेक कुनै अभियान चलाइएको छैन । स्थानीय तहले फगिङ मेसिन प्रयोग गरिरहेका छन् । जसलाई विशेषज्ञहरू अनावश्यक भन्छन् । कतिपय मुलुकमा यसरी लामखुट्टे नष्ट गर्न प्रतिबन्ध लगाइएको छ ।

‘फगिङ डेंगु नियन्त्रणमा प्रभावकारी हुँदैन,’ स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले भनिन्, ‘स्थानीय सरकार सर्च एन्ड डेस्ट्रोय अभियानमा नजाँदा डेंगु नियन्त्रण हुन नसकेको हो ।’विशेषज्ञहरूले रोग फैलाउने लामखुट्टे खोजेर मास्ने अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले लामखुट्टेको प्रजनन प्रक्रिया पूरा हुन नदिनका लागि पानी राख्ने भाँडा छोप्ने, घर वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने उपाय अपनाउनुपर्ने बताएका छन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश शाहले धरानमा व्यापक फगिङ गरिए पनि डेंगु फैलाउने लामखुट्टेको संख्या नघटेको बताए । ‘धरानमा लामखुट्टेको बासस्थान खोजेर मास्ने क्रम बढाएपछि प्रकोपमा कमी आयो,’ उनले भने । सरोकारवाला, आमजनसमुदाय सबै मिलेर लामखुट्टेले फुल पार्न सक्ने सबै स्थान खोजेर नष्ट गर्नुको विकल्प नरहेको उनी बताउँछन् ।

डा. शाहका अनुसार फगिङले घरबाहिर रहेका र त्यसमा समेत फुल र लार्भा नभई लामखुट्टे मात्र मर्ने भएकाले प्रभावकारी हुँदैन । ‘एउटा मात्र संक्रमित लामखुट्टे बाँच्यो भने त्यसले एक वर्षमा रोग सार्न सक्ने करोडौं लामखुट्टे उत्पादन गर्न सक्छ,’ उनले भने । उनका अनुसार एक संक्रमित लामखुट्टेले आफ्नो अधिकतम ३० दिनको जीवनकालमा ५ सयदेखि एक हजार संक्रमित फुल पार्छ । यी सबै फुल लामखुट्टेमा परिणत भए महिनामै रोग सार्ने लाखौं लामखुट्टे उत्पादन हुन्छन् । डेंगुको बढ्दो विस्तार नियन्त्रण गर्न सरोकारवाला सबै निकाय र नागरिक समाजले समन्वय गर्नुपर्ने उनले बताए ।

काठमाडौं, पोखरा, धरानजस्ता ठूला सहरमा डेंगु नियन्त्रण गर्नु सजिलो नरहेको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । ‘यहाँ गमला, फ्रिज, खाल्डाखुल्डी, टायर, प्लास्टिकका बोतल–बट्टा, टुक्राटाक्री बढी हुन्छन् । पानीको नियमित आपूर्ति नहुँदा जम्मा गरेर राख्ने चलन पनि छ । यसले लामखुट्टे फैलिन सहयोग गरेको छ,’ उनले भने ।

स्वास्थ्य सचिव चौधरीले डेंगु नियन्त्रण प्रक्रियामा स्वास्थ्य मन्त्रालयभन्दा पनि प्रादेशिक र स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने दाबी गरिन् । ‘स्वास्थ्य मन्त्रालयको भूमिका रोग नियन्त्रणको उपाय सम्झाउनु मात्र हो,’ उनले भनिन् ।

राजधानी काठमाडौंका स्थानीय तहका पदाधिकारी डेंगु नियन्त्रणमा खासै संवेदनशील नरहेको आरोप स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘गत भदौ १२ गते स्वास्थ्य मन्त्रालयमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा डेंगु नियन्त्रणबारे छलफल गर्न राजधानीका स्थानीय तहका पदाधिकारीलाई बोलाइएको थियो । तर उहाँहरू आउनुभएन ।’

स्वास्थ्य सचिव चौधरीका अनुसार डेंगुका करिब ९३ प्रतिशत बिरामीलाई सामान्य ज्वरोको उपचारसँगै आराम गरे पुग्छ । ‘तैपनि स्वास्थ्य मन्त्रालयले डेंगु उपचारका लागि टेकुलगायतका अस्पतालमा सेवा प्रवाह बढाउँदै लगेको छ,’ उनले भनिन् ।

एडिस एजिप्टाइ र एल्बोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ । इपिडिमोयोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मुलुकमा ७ हजार ३ सय २५ जना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन् । निजी स्वास्थ्य संस्थामा समेत उपचार गराएकाले संक्रमितको संख्या ७० हजार नाघिसकेको विशेषज्ञहरूले अनुमान गरेका छन् ।

सरकारी तथ्यांकअनुसार सन् २०१० मा ५ जना, २०१५ मा १ जना, २०१६ मा २ जना र २०१७ एवं २०१८ मा तीन–तीन जना गरी डेंगुले १४ जनाको मृत्यु भएको थियो । यो वर्ष सन् २०१९ मा डेंगुले ६ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

डेंगुको पहिलो रिपोर्टेड केस नेपालमा सन् २००४ मा चितवनमा एक विदेशीमा देखिएको थियो । यो संक्रमणको पहिलो प्रकोप सन् २००६ मा चितवनमै देखिएको थियो ।

डेंगु नियन्त्रण विधि
रोग फैलाउने लामखुट्टे खोजेर मास्ने
पानी राख्ने भाँडा छोप्ने, घर वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने

प्रकाशित : भाद्र २४, २०७६ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिको भ्रमण गराउन चीन 'सकारात्मक’

बीआरआई परियोजना र केरुङ–काठमाडौं रेलवेमा प्रतिबद्धता दोहोरियो, समझदारी भएन
देवेन्द्र भट्टराई

काठमाडौँ — चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबारे ‘सकारात्मक संकेत’ दिएका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरू निरन्तर सम्पर्कमा रहने बताएका छन् । 

‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे कुराकानी भएको छ । तर कहिले हुने निर्क्योल भइसकेको छैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले सोमबारको द्विपक्षीय संयन्त्र बैठकपछि कान्तिपुरसँग भने, ‘विदेशमन्त्री वाङले चीनबाट विशिष्ट राजनीतिक तहमा हुन सक्ने
नेपाल भ्रमणको सरोकारलाई सकारात्मक रूपमा लिनुभएको छ ।’

नेपालमा राजनीतिक संक्रमण र अस्थिरता टुंगिएकाले उच्चस्तरमा हुने राजनीतिक भ्रमणको ‘उपयुक्त समय’ रहेको भन्दै आफूले विदेशमन्त्री वाङसमक्ष कुरा राखेको ज्ञवालीले जानकारी दिए । उनका अनुसार वाङले नेपालीको यो सरोकारलाई ‘गम्भीरतापूर्वक लिएको’ बताएका छन् । याक एन्ड यती होटलमा भएको नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र बैठकलगत्तै वाङले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले ‘चीनबाट उच्चस्तरीय भ्रमणको अपेक्षा गरिएको’ सरोकार राखेका थिए । ‘राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा गर्नेतर्फ सोचिरहेका छौं,’ विदेशमन्त्री वाङको जवाफ उद्धृत गर्दै बालुवाटार बैठकमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भने ।

चिनियाँ राष्ट्रपति सीले असोज २४ देखि २६ सम्म भारत भ्रमण गर्न लागेको र भारतबाट फर्कंदाएक दिन नेपाल भ्रमणमा आउने ‘अपुष्ट सूचना’बाहिर आइरहेका बेला विदेशमन्त्री वाङको अहिले भइरहेको भ्रमण यही सरोकारमा केन्द्रित बनेकोहो । उनको यो भ्रमणलाई राजनीतिक तहमा चीनबाट हुन लागेको विशिष्ट भ्रमणको पूर्वतयारीका रूपमा लिइएको छ ।

त्यसो त भारतको कश्मीर मामलाले उब्जाएको तनाव तथा चीनको सीमावर्ती विन्दुसमेत जोडिएको भारत राज्य लद्दाखमा चिनियाँ ‘रिजर्भेसन’ रहेका कारण अन्तिम घडीमा राष्ट्रपति सीको भारत भ्रमण केही पर सर्ने आकलन पनि सुरु भएको छ । आगामी अक्टोबरमै तिब्बतको सिगात्सेमा हुन लागेको ‘तिब्बतमा प्रजातान्त्रिक सुधार’ को ६० वर्षे उत्सवमा राष्ट्रपति सी सहभागी हुने निश्चित भइसकेकाले त्यस अवसरमा उनी नेपाल आउने अर्को सम्भावना देखिएको परराष्ट्रमा चीन मामला हेर्ने एक अधिकारीले बताए । ‘छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणले हामीलाई आडभरोसा मिल्न सक्छ, हामी चिनियाँ उच्च नेतृत्वको आगमन र स्वागतमा प्रतीक्षारत छौं भनेर सन्देश दिएको छु,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

चीनसँग समस्यारहित सम्बन्ध : प्रम ओली
प्रधानमन्त्री ओलीले नेपालको चीनसँग ‘समस्यारहित सम्बन्ध रहिआएको’ बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङसँग बालुवाटारमा सोमबार अपराह्न भएको भेटवार्तामा उनले नेपालको ‘एक चीन नीति’ को अडान दोहोर्‍याउँदै चीनविरोधी कुनै प्रकारको गतिविधि नेपाली भूमिबाट हुन नदिने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

‘हामी राजनीतिक स्थायित्वपछि आर्थिक सुधार र विकासका दिशामा जुटेका छौं,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘नेपालको पूर्वाधार विकास, सामाजिक–आर्थिक क्षेत्रको प्रवर्द्धनमा चिनियाँ सहयोग अपेक्षित छ । नेपालको गरिबी निवारण र सामाजिक रूपान्तरणमा चिनियाँअनुभव हामीलाई काम लाग्नेछ ।’

विदेशमन्त्री वाङले नेपालसँग रहिआएको चिनियाँ आर्थिक, सामाजिक र राजनीतिक सबै प्रकारका सम्बन्ध र परस्पर सहयोगबारे परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र बैठकमा कुराकानी भइसकेको उल्लेख गर्दै नेपालको छनोट र प्राथमिकताका योजनामा चिनियाँ सहयोगको प्रतिबद्धता दोहोर्‍याएका थिए ।

बालुवाटार बैठकमा परराष्ट्र सचिव शंकर बैरागी, चिनियाँ विदेश मन्त्रालयका सचिव लु झोवी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीलगायतको उपस्थिति थियो ।

परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र बैठकमा भने चीनबाट आउने भनिएको केरुङ–रसुवागढी–काठमाडौं रेल्वे परियोजना र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत छनोटमा परेका नेपालका योजनाबारे पनि छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । ‘रेल्वे र बीआरआई प्रस्तावित योजनामा चिनियाँ सहयोगको प्रतिबद्धता दोहोरिएको छ,’ उनले भने, ‘यसको विस्तृत स्वरूप, ढाँचा र मोडालिटीबारे कार्ययोजना तय हुने भएको छ । अब योजनाहरू कार्यान्वयनको दिशामा अघि बढ्नेछन् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले संयन्त्र बैठकले नेपाल–चीन सम्बन्ध र परस्पर सहयोगको स्वरूपलाई अर्को उचाइमा पुर्‍याउने विश्वास लिए । विदेशमन्त्री वाङले सोमबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए । भेटमा द्विदेशीय सम्बन्ध र परस्पर सहयोगका प्रतिबद्धतामाथि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विदेशमन्त्री वाङले सोमबार बिहान चन्द्रागिरि केबलकारको भ्रमण गर्नुका साथै मातातीर्थ क्षेत्रमा झन्डै एक घण्टा पैदल यात्रा गरेका थिए । उनले मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका राजनीतिक नेता र नेपाल–चीन व्यापार सम्बद्ध प्रतिनिधिसँग भेटघाट गर्दैछन् । उनी मंगलबार दिउँसोनै बेइजिङ फर्कंदै छन् ।

३ क्षेत्रमा समझदारी
नेपाल–चीन संयन्त्र बैठकपछि ३ बुँदे समझदारीपत्रमा दुई देशका अधिकारीबीच हस्ताक्षर भएको छ । चीनले मनाङमा अस्पताल निर्माण, स्वयंसेवक भाषा शिक्षक आपूर्ति र आपतकालीन बसोबासका लागि ५ हजार टेन्ट सहयोग गर्ने समझदारी भएको हो । यो समझदारीअनुसार मनाङमा अस्पताल ‘रिकभरी प्रोजेक्ट’ का लागि ३५ करोड ६० लाख रुपैयाँ आउने भएको छ । नेपालका सरकारी विद्यालयमा ‘ऐच्छिक’ रूपमा पढाइ हुने चिनियाँ भाषाका लागि स्वयंसेवक शिक्षक पनि चीनले पठाउन लागेको हो ।

विदेशमन्त्री वाङको भ्रमणअघि परराष्ट्रमन्त्री ज्ञवालीले ‘बीआरआई योजनामा नेपालले प्रस्ताव गरेका ९ वटा योजनाको अन्तिम कार्ययोजना, सहयोगको स्वरूप र कार्यक्षेत्रबारे स्पष्ट हुने’ धारणा राखेका थिए । तर, संयन्त्र बैठकले ‘विभिन्न चरणमा संवाद र सहकार्य जारी राख्ने’ भन्दै यी एजेन्डालाई ओझेलमा राखिएको छ ।

गत वर्ष बेइजिङबाट सिगात्सेसम्म आइपुगेको चिनियाँ रेल्वे सेवालाई काठमाडौं ल्याउन ‘तत्काल सम्भव नभएको’ भन्दै यो योजनालाई अध्ययनको अर्को चरणमा लैजान चिनियाँ पक्षले यसपटक प्रस्ताव गरेको परराष्ट्रका एक अधिकारीले बताए । केरुङ नाकाबाट रसुवागढी हुँदै काठमाडौं (टोखा) आउन ७२ किलोमिटर दूरीका लागि ३ खर्ब रुपैयाँभन्दा बढी लाग्ने र कम्तीमा १० वर्षमा मात्रै सम्भव हुने भएकाले नेपालले प्रस्ताव गरेको बीआरआई योजनाबाट समेत यसलाई ‘वैकल्पिक योजना’ बनाउन आग्रह गरिएको छ ।

तीनबुँदे समझदारी
१.मनाङमा अस्पताल निर्माण
२.स्वयंसेवक भाषा शिक्षक आपूर्ति
३.पाँच हजार टेन्ट सहयोग

प्रकाशित : भाद्र २३, २०७६ २१:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्