१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चीनसँग समस्या रहित सम्बन्ध : प्रधानमन्त्री 

देवेन्द्र भट्टराई

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चीनसँग ‘समस्यारहित सम्बन्ध रही आएको’ बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीसँग बालुवाटारमा सोमबार अपरान्ह भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालको ‘एक चीन नीति’को अडान दोहोर्याउँदै चीनविरोधी कुनै प्रकारको गतिविधि नेपाल भूमिबाट हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए ।

चीनसँग समस्या रहित सम्बन्ध : प्रधानमन्त्री 

‘हामी राजनीतिक स्थायित्वपछि आर्थिक सुधार र विकासका दिशामा जुटेका छौँ,’प्रधानमन्त्री ओलीको भनाइ थियो—‘नेपालको पूर्वाधार विकास, सामाजिक–आर्थिक क्षेत्रको प्रवर्द्धनमा चिनियाँ सहयोग अपेक्षित छ । नेपालको गरिबी निवारण र सामाजिक रुपान्तरणमा चिनिया अनुभव हामीलाई काम लाग्नेछ ।’


विदेशमन्त्री यीले नेपालसँग रहीआएको चिनियाँ आर्थिक, सामाजिक र राजनीतिक सबै प्रकारका सम्बन्ध र परस्परको सहयोगबारे परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र बैठकमा कुराकानी भैसकेको सन्दर्भ उल्लेख गर्दै नेपालको छनौट र प्राथमिकताका योजनामा चिनियाँ सहयोगको प्रतिबद्धता दोहोर्याएका थिए । बालुवाटार बैठकमा परराष्ट्र सचिव शंकर बैरागी, चिनियाँ विदेश मन्त्रालयका सचिव लु झोवी, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीलगायतको उपस्थिती थियो ।


परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र बैठकमा भने चीनबाट आउने भनिएको केरुङ–रसुवागढी–काठमाडौं रेल्वे परियोजना र वन बेल्ट वन रोड(बीआरआई) अन्तर्गत छनौटमा परेका नेपालका योजनाहरुबारेमा पनि छलफल भएको जानकारी परराष्टमन्त्री ज्ञवालीले दिए । ‘रेल्वे र बीआरआई प्रस्तावित योजनामा चिनियाँ सहयोगको प्रतिबद्धता दोहोरिएको छ,’मन्त्री ज्ञवालीले भने—‘यसको विस्तृत स्वरुप, ढाँचा र मोडालिटीबारे अब कार्यायोजना तय हुने भएको छ, अब योजनाहरु कार्यान्वयनको दिशामा अघि बढ्नेछन् ।’ परराष्ट्र मन्त्रीले संयन्त्र बैठकले नेपाल–चीन सम्बन्ध र परस्पर सहयोगको स्वरुपलाई अर्को उचाइमा पुर्यउने विश्वास लिए ।


विदेश मन्त्री यीले सोमबार अपरान्ह राष्ट्रपति विद्यादेवी भेण्डारीसँग पनि भेटवार्ता गरेका थिए । भेटमा दुई देशीय सम्बन्ध र परस्पर सहयोगका प्रतिबद्धताहरुमाथि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । विदेश मन्त्री यीले सोमबार बिहान चन्द्रागिरी केवलकारको भ्रमण तथा मातातिर्थ क्षेत्रमा झण्डै एक घण्टा पैदल यात्रा गरेका थिए ।

विदेश मन्त्री यीले मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देयवालगायतका राजनीतिक नेता र नेपाल–चीन व्यापार सम्बद्ध प्रतिनिधिसँग भेटघाट गर्दैछन् । विदेशमन्त्री मंगलबार दिउसो बेइजिङ फर्कदैछन् ।

प्रकाशित : भाद्र २३, २०७६ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?