कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जीवजन्तुको अंग तस्करी

काँकडभिट्टा — महिना दिनअघि भारतको सीमा सुरक्षा बलले छेपारो प्रजातिको जीव ‘टोक्यो जे’ तस्करी आरोपमा दुई नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मोहनलाल क्षत्री र ठाकुरप्रसाद गौतम थिए । एसएसबीका अनुसार दुर्लभ प्रजातिको छेपारो उनीहरूले भारतबाट नेपालतिर ल्याउँदै थिए ।

घरेलु औषधि बनाउन यसको प्रयोग हुने कारण तस्करी गरिएको बुझिए पनि कसले र किन ल्याएको भन्नेबारे अभियुक्तहरू नै बेखबर देखिन्थे । तर, स्रोतका अनुसार यो छेपारो भारतबाट नेपाली हुँदै चीन तस्करी हुने बुझिएको छ ।


कहिले गोमन सर्पको विष त कहिले सालकको खपटासहित मान्छे पक्राउ हुने क्रम उस्तै छ । दुर्लभ, संरक्षित वन्यजन्तु र तिनको आखेटोपहारको अवैध कारोबारका लागि काँकडभिट्टा नाका ‘ट्रान्जिट’ बन्दै गएको देखिन्छ । हरियो वन कार्यक्रमले सोमबार यहाँ आयोजना गरेको वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी छलफलमा पूर्वको काँकडभिट्टा नाका वन्यजन्तुको अवैध व्यापार हुने सम्भावित नाका रहेको उल्लेख गरिएको थियो ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वउपमहानिर्देशक फडीन्द्र खरेलले विभिन्न समयमा भइरहेको वन्यजन्तुको तस्करीका आधारमा पूर्वी नाका सम्भावित क्षेत्र मानिएको बताए । उनका अनुसार हात्तीको दारा, छेपारो, सालकको खपटा, बाघको छाला, चिरुको रौं, पन्छीको प्वाख, समुद्री घोडा, पाहा र पुतलीलगायतका जीवजन्तुको तस्करी भएको देखिन्छ । ‘वन्यजन्तुको अंगको कुनै मूल्य छैन । जीवित वन्यजन्तुको मात्रै मूल्य छ,’ उनले भने, ‘यो मनोवैज्ञानिक व्यापार मात्रै हो ।’


उनका अनुसार वन्यजन्तुहरूको प्राकृतिक रूपमा महत्त्व हुन्छ । पर्यटन व्यवसायसँग सम्बन्ध छ । तर, मरेपछि यसको कुनै महत्त्व छैन । वन्यजन्तुको अंग चोरी पैठारी लागू औषधपछि संसारकै ठूलो अवैध कारोबार हो । यसमा अन्तर्राष्ट्रिय संगठित गिरोहको संलग्नता हुन्छ । सिकारी, मध्यस्थकर्ता र नाइके हुँदै वन्यजन्तुका अंग विभिन्न देश पुर्‍याइन्छ । यो नाकाबाट पन्छीजन्य वस्तुको प्वाँख र समुद्री घोडासमेत तस्करी हुने गरेको छ । गैंडाको खाग, कछुवा, पाहा भ्यागुतो र दुर्लभ सर्प तस्करीको ट्रान्जिट पनि यही नाका रहेको विभिन्न समयका पक्राउ र बरामदीका घटनाले देखाएका छन् ।


डिभिजन जिल्ला वन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०७०/७१ मा रेडपान्डाको छाला, कछुवा, अजिंगर, निरबिरालो, हरिण, सालकलगायतका वन्यजन्तुको अवैध कारोबार र त्यसमा संलग्नलाई पक्राउ गरी कारबाही गरिएको थियो । त्यस्तै २०७१/२०७२ मा चराको प्वाँख र हरिणको अवैध तस्करीमा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो । २०७३/७४ मा लुइचे चरा तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको थियो । २०७४/७५ मा चित्तलको तस्करीमा संलग्न र ०७५/७६ मा सालकको खपटा तस्करीमा संलग्नविरुद्ध मुद्दा दायर गरिएको थियो । यसको अनुसन्धान अझै जारी छ ।


वन कार्यालयका डीएफओ विष्णुलाल घिमिरेका अनुसार झापाको भारतसँग १ सय १८ किलोमिटर सिमाना खुला छ । खुला सिमानाले तस्करलाई सहज हुने गरेको हो । ‘यस किसिमको अपराधमा संलग्नहरूको गिरोह बलियो छ,’ घिमिरेले भने, ‘अपराध न्यूनीकरणका लागि हाम्रो सञ्जाल त्योभन्दा बलियो हुन जरुरी छ ।’


मेची भन्सार अधिकृत टेकबहादुर अर्यालले काँकडभिट्टा वन्यजन्तुको अंग तस्करीका रूपमा प्रयोग भइरहेको पाइए पनि तस्करको पहिचान गर्न नसक्दा नियन्त्रणमा समस्या हुने गरेको बताए । उनले भने, ‘वस्तु जाँचपास गर्दा कर्मचारीले चनाखो बन्न जरुरी देखिन्छ ।’

प्रकाशित : भाद्र २३, २०७६ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?