कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आश्रयस्थलमै मर्न थाले गाई

दैलेखबाट फर्काएर नेपालगन्जस्थित कान्जी हाउसमा राखिएका गाईलाई न ओत छ न छहारी । शुक्रबारयता मात्रै त्यहाँ पाँचवटा गाई मरिसके ।
मधु शाही

बाँके — नेपालगन्ज उपमहानगरपालिका–२१ स्थित कान्जी हाउसमा शनिबार मात्रै दुईवटा गाई मरेको अवस्थामा भेटिए । शुक्रबार तीनवटा गाई मरेका थिए । घाम र पानीबाट जोगाउन नसक्दा पशु बिरामी हुँदै गएको कान्जी हाउस रेखदेख गर्दै आएका नगरप्रहरी हवल्दार पवन कनौजियाले बताए ।

आश्रयस्थलमै मर्न थाले गाई

‘कमजोर गाई बचाउन मुस्किल परिरहेको छ,’ उनले भने, ‘घामपानीको ओत छैन ।’ नगरपालिकाले समय–समयमा घाँस, भुस, भिटामिन खुवाइँदै आएको दाबी गरेको छ ।


स्थानीय भने स्याहार–सुसार अभावमा गाई मर्ने सिलसिला बढेको बताउँछन् । कान्जी हाउसमा न घामबाट बच्ने छहारी छ न त पानी पर्दा ओत लाग्ने छानो । वरिपरि काँडेतारले बारिएको छ । स–साना बाच्छाबाच्छी भोकाउदै घाँसको खोजीमा त्यहीँ तारबारबाट बाहिरिन्छन् । घस्रिएर निस्कँदा धेरैजसोको ढाडमा कोतरिएर घाउ भएको छ ।


नेपालगन्ज उपमहानगरले छाडा चौपाया नियन्त्रणका लागि विभिन्न पहल गरेपनि त्यसले गाईको संरक्षण र संवर्द्धनमा खासै प्रभाव पारेको देखिँदैन । कान्जी हाउस अव्यवस्थित भएकाले दिनानुदिन गाईगोरु मरिरहेको नेपालगन्ज उपमहानगर–२१ की नन्दी बर्माले बताइन् । ‘छाडा गाईगोरु सडकबाट ल्याएर कान्जी हाउसमा कोचिदिन्छन्,’ उनले भनिन्, ‘राम्रो स्याहार नपाएर दिनदिनै गाई मरिरहेका छन् ।’


३ सय ६४ वटा छाडा चौपाया रहेको कान्जी हाउसमा पछिल्लो समय चौपाया संरक्षण गर्दै आएका अभियन्तासमेत देखा पर्न छाडेको हवल्दार कनौजियाले सुनाए । उनका अनुसार दैलेखमा गाई लैजानुअघि यहाँ अभियन्ताहरूले बेलाबेला आएर घाँस, भुस खुवाउने गर्थे । ‘नगरपालिकाले आफ्नै बलबुतामा भुस, पानी खुवाएर बचाउने प्रयास गरे पनि गाई मर्न छाडेनन्,’ उनले भने ।


नेपालगन्ज उपमहानगर प्रमुख धवलशमशेर राणा अध्यक्ष रहेको कान्जी हाउस व्यवस्थापन समितिका कोषाध्यक्ष एवं आर्य समाज नेपालगन्जका अभियन्ता श्याम शाक्यले दैलेखमा भएको गाई काण्डपछि समिति आन्दोलमा उत्रिएको बताए ।


चौपाया संरक्षण गर्ने बहानामा कान्जी हाउसमा मार्नु पनि पाप रहेको उनको भनाइ छ । ‘चोरी शैलीमा सुटुक्क गाई दैलेख लगे,’ उनले भने, ‘गाई नै नभएपछि सहयोग गर्ने कुरै आएन ।’ उनले बिरामी गाई उपचार नपाएर मरिरहेको बताए । ‘भीरबाट जोगिए, कान्जी हाउसमा आएर मरे,’ उनले भने, ‘यहाँ गाई बचाउने कसैलाई चासो छैन ।’

प्रकाशित : भाद्र २३, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?