१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वीपी प्रतिष्ठानको उपकुलपति नियुक्तिमा देखिएको जटिलता समाधान गर्न अदालतसँग राय माग्ने : मन्त्री यादव

प्रदीप मेन्याङ्बो

सुनसरी — उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा केही कानूनी जटिलता रहेकाले अदालतसँग राय माग्ने तयारी भइरहेको बताएका छन् । 

वीपी प्रतिष्ठानको उपकुलपति नियुक्तिमा देखिएको जटिलता समाधान गर्न अदालतसँग राय माग्ने : मन्त्री यादव

अख्तियारको कारबाही पछि प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार निलम्बनमा परेको तर बर्खास्ती नभएकाले प्रतिष्ठान सञ्चालन गर्न नयाँ उपकुलपति नियुक्तिमा कानूनी जटिलता रहेको उल्लेख गर्दै मन्त्री यादवले अदालतसँग राय माग्ने तयारी भइरहेको बताए ।


वीपी कोइरालाको १०५ औँ जन्मजयन्ती तथा प्रतिष्ठानको २६ औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गरेपछि कान्तिपुरसँग मन्त्री यादवले भने, ‘आर्थिक अनियमितताको कारण एउटा उपकुलपति निलम्बनमा छन् । तर बर्खास्त नभएको अवस्थामा नयाँ उपकुलपति नियुक्ति गर्न मिल्छ कि मिल्दैन भनेर अदालतसँग राय माग्ने छौँ । रौनियारको मुद्दाको फैसला हुन अदालतमा पाँच सात वर्षसम्म लागे के गर्ने ? प्रतिष्ठान सञ्चालन गर्न उपकुलपति त चाहियो ।’


उनले हाल प्रतिष्ठानमा बिग्रेका महंगा मेडिकल उपकरण मर्मत सम्भार तत्काल बनाउने बताए । ती उपकरणहरु बन्न नसके नयाँ खरिद गरिने पनि बताए । प्रतिष्ठानमा मुटु रोगको उपचार गर्ने ८ करोड रुपैयाँको कार्डियाक क्याथल्याब, ३ करोड २४ लाख रुपैयाँको अक्सिजन प्लान्ट, डेन्टलको सेफालो ग्राम एक्सरे बिग्रेका छन् । त्यस्तै ८५ प्रतिशत डेन्टल चियर, सिटी स्क्यान पनि बिग्रेर कामै नलाग्ने भएका छन् ।


सोमबार नै मन्त्री यादवले धरानमा समाजवादी पार्टी धरान नगरसमितिले आयोजना गरेको अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी भए । कार्यकर्ता भेलामा उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र पहिचानको मुद्दा कांग्रेस र नेकपाले बोक्न नसक्ने बताएका थिए ।

प्रकाशित : भाद्र २३, २०७६ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?