कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दसैं अघि कम्तीमा २० सहरमा फोरजी सेवा विस्तार

विजय तिमल्सिना

काठमाडौँ — एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्यसहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि कम्तीमा २० सहरमा फोरजी सेवा सुरु गर्ने तयारी गरेको छ । यो माघ मसान्तसम्म फोरजी सेवा देशैभर विस्तार गर्ने योजनासहित कम्पनीले अघिल्लो वर्ष माघ २० मा फोरजी विस्तारको लागि ठेक्का सम्झौता गरेको थियो ।

दसैं अघि कम्तीमा २० सहरमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले दसैंअघि कम्तिमा २० प्रमुख सहरमा फोरजी विस्तारको तयारी भएको जानकारी दिए । उनका अनुसार सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गरिनेछ । नेपालभर ६ महानगर, ११ उपमहानगर र २ सय ७६ नगरपालिका छन् ।


फोरजी विस्तारको काममध्ये कोर नेटवर्क विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले आफ्नो काम करिबकरिब पूरा गरेको छ । कोर नेटवर्क भनेको टेलिकमको आफ्नै बीटीएस टावरबीच सम्पर्क स्थापित गर्ने प्रणाली हो । कोर प्रणालीको परीक्षण गर्न टेलिकमले शनिबार राति साढे ११ बजे आफ्नो सिस्टम अपग्रेड गरेको थियो । उक्त अपग्रेड सफल भएको टेलिकमले जनाएको छ ।


टेलिकमको फोरजी विस्तारको काममध्ये रेडियो एक्सेस नेटवर्क (र्‍यान) को जिम्मा भने हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) ले पाएको छ । सीसीएसआईले अर्को चिनियाँ कम्पनी हुवावेसँगको साझेदारीमा र्‍यान विस्तारको काम गरिरहेको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले र्‍यान विस्तारको करिब ४५ प्रतिशत काम सकिएको जानकारी दिइन् । उनका अनुसार कोर नेटवर्क विस्तारको काम भने ७० प्रतिशत भन्दा बढी सकिएको छ ।


कोर नेटवर्कको काम समयमै सकिने भए पनि र्‍यान विस्तारको काम भने चुनौतिपूर्ण रहेको उनले बताइन् । र्‍यान विस्तारको लागि टेलिकमका देशैभर रहेका ८ हजार बढी बीटीएस टावरमा उपकरण र सफ्टवेयर अपग्रेडको काम गर्नुपर्ने हुन्छ ।

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले एक वर्षमा देशैभर फोरजी विस्तार सक्ने लक्ष्यका साथ समानान्तर हिसाबले काम भइरहेको जानकारी दिए । ‘कोर, र्‍यान र बिलिङ प्रणालीको काम समानान्तर हिसाबले अघि बढिरहेको छ,’ कान्तिपुरसँगको टेलिफोन कुराकानीमा उनले भने, ‘यी कुनैमा समस्या आएनन् भने तोकिएकै समयमा फोरजी विस्तारको काम सकिन्छ ।’


हाल नेपाल टेलिकमको फोरजी सेवा काठमाडौं उपत्यका र पोखरामा मात्रै उपलब्ध छ । परीक्षणको रुपमा २०७३ पुसमा सुरु गरिएको सेवाले ग्राहकको पछिल्लो आवश्यकता धान्न सकेको देखिँदैन् । फोरजी सेवातर्फका ग्राहकमा टेलिकमलाई अर्को सेवा प्रदायकले एनसेलले उछिनेको छ ।

एनसेलका दुई दर्जन बढी सहरमा फोरजी सेवा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार असारसम्ममा टेलिकमका फोरजी सेवा तर्फका ग्राहक ८ लाख पुगेको छ भने एनसेलको सोही सेवाका ग्राहक २९ लाख ३० हजार भन्दा बढी छन् ।


फोरजी विस्तारमा भएको ढिलाईले टेलिकमले डाटातर्फ प्राप्त गर्ने आम्दानी गुमाइरहेको छ । कम्पनीको पछिल्लो समयमा नाफा र आम्दानी दुवै घटेको वित्तीय विवरणमा उल्लेख छ ।

करिब १९ अर्ब लागतको देशभर फोजी विस्तारको परियोजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भन्दै करिब १० महिना रोकेको थियो ।


टेलिकमले फोरजी विस्तारका लागि २०७४ कात्तिकमा टेन्डर आव्हान गरेको थियो । परेको प्रस्तावको मूल्यांकन सुरु गर्नुअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेको थियो ।

२०७४ पुसमा फोरजी विस्तारको अनुसन्धान थालेको आयोगले २०७५ कात्तिक ७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी फोरजी विस्तार प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।


टेलिकमले गर्ने फोरजी विस्तारले एकै पटक ६५ लाख उपभोक्ता धान्न सक्छ । फोजी विस्तारका लागि ६ हजार ७ सय बढी टावर परिचालन हुने टेलिकमले जनाएको छ । योबाहेक सहरी क्षेत्रमा बाक्ला घरहरू भएका स्थानमा करिब छ हजार साना टावरहरू राख्ने योजना छ ।

कोर नेटवर्क विस्तारका लागि हुवावे, जेडटीई र सिंगापुरको मभिनियरले प्रस्ताव दर्ता गराएका थिए । र्‍यानका लागि जेडटीई र सीसीएसआईले प्रस्ताव हालेका थिए । टेलिकमले प्रस्ताव माग गर्दा सम्झौता भएको ३३ महिनामा महिनामा काम सक्नुपर्ने सर्त राखेको थियो ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ठेक्का सम्झौता हुने केही साता अघि टेलिकमलाई पत्र लेख्दै १२ महिनामा काम सक्ने गरी सम्झौता गर्न निर्देशन दिएको थियो । मन्त्रालयले पुस १६ गते टेलिकमलाई पत्र लेख्दै एक वर्षभित्र फोरजी विस्तारसहित चार सहरमा फाइभजी सेवा परीक्षणका रूपमा उपलब्ध गराउने सर्त सम्झौतामा राख्न निर्देशन दिएको थियो ।


कोर नेटवर्क विस्तारको काम १ अर्ब ५६ करोड ७३ लाखमा सक्ने गरी जेडटीईले प्रस्ताव हालेको थियो । र्‍यान विस्तारका लागि दुई चरणमा प्रस्ताव माग गरिएको थियो । र्‍यान–१ अन्तर्गत तत्कालीन मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्र छन् । त्यस्तै, र्‍यान–२ अन्तर्गत सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्र राखिएका छन् ।


र्‍यान १ का लागि ८ अर्ब ७५ करोड २६ लाख र र्‍यान २ का लागि ८ अर्ब ३९ करोड ३१ लाखको प्रस्ताव सीसीएसआईले राखेको टेलिकमले जनाएको छ ।

फोरजी विस्तार : कहिले के ?

२०७४ कात्तिक १७ गते कोर नेटवर्कको बोलपत्र आव्हान

२०७४ कात्तिक २२ गते र्‍यानका लागि बोलपत्र आव्हान

२०७४ पुस ११ मा अख्तियारमा फोजी विस्तार प्रक्रियाविरुद्ध उजुरी

२०७४ पुस २३ मा बोलपत्रविरुद्ध पाटन उच्च अदालतमा रिट

२०७४ फागुन ९ मा पाटन अदालतद्वारा रिट खारेज

२०७५ कात्तिक ७ गते अख्तियारद्वारा फोजी विस्तार अघि बढाउन सञ्चार मन्त्रालयलाई पत्र

२०७५ पुस १६ गते मन्त्रालयद्वारा १ वर्ष्भित्र फोजी विस्तार सकाउन टेलिकमलाई निर्देशन

२०७५ माघ १५ गते संसद्को अर्थ समितिद्वारा कम लागत र बढी लाभ हुने गरी फोजी विस्तार गर्न निर्देशन

२०७५ माघ २० गते फोजी विस्तारका लागि जेडटीई र सीसीएसआईसँग सम्झौता

२०७६ भदौ २१ गते कोर नेटवर्कको परीक्षणको लागि सिस्टम अपग्रेड

प्रकाशित : भाद्र २३, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?