हामी वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छाैं : दाहाल

रासस

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । 



'हामीले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएका छौँ, लोकप्रिय मत पाएका छौँ, बहुमतको सरकार छ, तर वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौँ, जनताको आवश्यकताभन्दा पनि हाम्रो आवश्यकतालाई महत्व दिएका छौँ,' उनले भने।

अध्यक्ष दाहालले पार्टीलाई जनतामा समर्पित गर्न सकेको खण्डमा मात्र सहिदकोे वास्तविक सपनामा पूरा हुने बताए। 'कमरेड वासु वैचारिक, बलिदान, बौद्धिक र निष्ठा र चरित्रको हिसाबले अत्यन्त उच्च तहमा हुनुहुन्थ्यो, उहाँबाट हामीले पनि सिक्नुपर्ने हुन्छ,' उनले भने।

पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता प्रक्रिया जतिसक्दो चाँडो सक्ने तयारी भइरहेको बताउँदै सहिदको सपना पूरा गर्न नयाँ संकल्पसहित अगाडि बढ्ने बताए। उनले भने, 'हामीले पार्टीलाई जति गतिशील बनाउन सक्छौँ त्यति नै सहिद सुरेश वाग्लेको सपना पूरा गर्न सक्छौँ।'

नेकपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको सम्पूर्ण काम टुङ्गो लागेपछि पार्टीले जनताको आवश्यकतानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित : भाद्र २३, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

छुरा प्रहार गरी वृद्धको हत्या

रासस

धनुषा — धनुषामा आइतबार साँझ धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको  मिथिला विहारी नगरपालिका–९ कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो । 

अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तारापट्टी बजारबाट बेलुकी करीब ८ः१५ बजे तरकारी किनेर घर फर्किदै गर्दा मिथिला विहारी नगरपालिका–८ कचुरी सडकखण्डमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले शर्माको घाँटीमा छुरा प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थल पुगी प्रकृति मुचुल्का उठाएर मृतकको शव परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ । शर्मालाई कसले र किन हत्या गरेकोबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

प्रकाशित : भाद्र २३, २०७६ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्