कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेशसभामा प्रतिपक्षको गुनासाे– ‘हाम्रो आवाज सुनिदैन’

सन्जु पौडेल

रूपन्देही — प्रमुख प्रतिपक्ष कांग्रेसले प्रदेशसभामा आफ्नो आवाज सुनुवाइ नभएको दुखेसो पोखेको छ । दुई तिहाइको आडमा सत्तापक्षले विपक्षीलाई बेवास्ता गरेको कांग्रेसले आरोप लगाएको हो । 

प्रदेश ५ मा कुल ८७ जना प्रदेशसभा सदस्यमध्ये कांग्रेसका १९ जनामात्र छन् । प्रदेश सभामा विपक्षीले उठाएका विषयमा छलफल नै नहुने उनीहरूले बताए । प्रदेशसभाको अहिले चौथो अधिवेशन चलिरहेको छ ।


यस अवधिमा प्रमुख प्रतिपक्ष कांग्रेसले चारपटक बैठक अवरोध गरेको छ । दोस्रो अधिवेशनमा कांग्रेसले बजेटका विषयमा उठेका विभिन्न प्रश्नको जवाफ मुख्यमन्त्री स्वयंले दिनुपर्ने भन्दै संसद्मा अवरोध पुर्‍यायो । त्यस्तै स्थायी राजधानी तोक्ने विषयमा मुख्यमन्त्रीले प्रस्ट रूपमा बोल्नुपर्ने भन्दै बैठक अवरुद्ध गर्‍यो ।


तेस्रो अधिवेशनमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई कारबाही गर्नुपर्ने र चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने भन्दै बैठक अवरोध भयो । राजधानी सम्बन्धमा सिफारिस गर्न बनेको विशेष समितिमा १५ सदस्य छन् । त्यसमा सभामुख र मुख्यमन्त्रीले आफूखुसी सदस्य थप गर्न थालेपछि प्रतिपक्षले सदन अवरोध गरेको थियो ।


बैठकमा विभिन्न घटना र सुरक्षासम्बन्धी विषय उठाए पनि सरकारले त्यसमा कुनै औचित्य देखाएन र चासो नै नराखेको कांग्रेस प्रदेश ५ का प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले बताए ।


‘प्रत्येक बैठकमा प्रतिपक्षीले सुझाव दिनुका साथै चित्त नबुझेका कुराको उत्तर खोजिरहेका हुन्छौं,’ उनले भने, ‘सात दिनभित्र दिनुपर्ने जवाफ मन्त्रिमण्डलले ६०/७० दिन हुँदासमेत दिएको छैन ।’ संख्या थोरै भए पनि विषय उठानमा आफूहरू कमजोर नभएको सचेतक निर्मला क्षत्रीले बताइन् । ‘सभामा गठित समितिका सक्रिय सदस्य पनि हौं,’ उनले भनिन्, ‘सत्ता पक्षसित दम्भ छ, कुरा सुन्नै चाहँदैनन् ।’ बहुमत र सरकार आफ्नै भएपछि प्रतिपक्षको के अर्थ भन्ने भावनामा चलिरहेको सरकारले आफूहरूको प्रश्नको उत्तर दिन सक्ने क्षमता नराख्ने उनले बताइन् ।


सभामुखले प्रदेश सभा सदस्यले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरे पनि बेवास्ता गरिएको सदस्य भुवनेश्वर चौधरीले बताए । ‘जनताका कुरा राख्नकै लागि चुनिएर आएकाले जनताका समस्या ध्यानाकर्षण गराउने कुरामा कमी छैन,’ उनले भने, ‘सुनेर पनि नसुनेको जसरी बसिदिएपछि के लाग्छ ।’


प्रदेशसभा बैठकमा नागरिकको आवाज सदस्यले बोल्ने भएकाले पहलकदमी चाल्न जरुरी रहेको कांग्रेसका फकरुद्दिन खाँले बताए । ‘हाम्रा प्रश्नमा सरकारको जवाफ नै आउँदैन,’ उनले भने, ‘हाम्राअगाडि सरकारको भूमिका कमजोर देखिएको छ ।’ क्षेत्राधिकार बाहिरका कुरा भए पनि नागरिकका समस्या समाधानमा संघीय सरकारसँग समन्वय गरेर समाधान निकाल्नेतर्फ सरकार लाग्नुपर्ने उनले बताए ।


सरकार प्रतिपक्षले उठाएका मुद्दासँग भागेर जवाफदेही बन्न नसकेको सभाका प्रतिपक्षी सदस्यले आरोप लागाएका छन् । प्रदेश सभामा दर्ता भएका ४९ विधेयकमध्ये सभाबाट ४२ कानुन पारित भई प्रमाणीकरण भएको प्रदेश सभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले बताए । उनका अनुसार पाँच कानुन पारित भएर प्रमाणीकरण हुन बाँकी छ ।


त्यस्तै एक संशोधन विधेयक सभामा छलफलमा छ । एक विधेयकको संशोधन प्रतिवेदन सभामा पेस भएको छ । तर, कुनै विधेयकमा कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छैन । बैठकमा विरोध पनि हुँदैन । पारित भएका अधिकांश विधेयक सर्वसम्मतबाट पारित भएका छन् । सभामुखले निर्णयार्थ पेस गरेका विधेयकमा कांग्रेसले हुन्न भन्ने आवाज प्रस्तुत गर्दैन ।


सत्तापक्षका सदस्य दधिराम न्यौपानेले भने कांग्रेस सदस्यले प्रदेश सभामा आफ्नै वरिपरिको विकास निर्माणभन्दा अन्य नीतिगत कुरा उठाउन नसकेको बताए । ‘हामीले हारेका ठाउँमा समेत धेरै बजेट छुट्याएका छौं,’ उनले भने, ‘त्यसमा पनि चित्त नबुझेको भए बैठकमै छलफल गर्न तयार छौं ।’

प्रकाशित : भाद्र २३, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?