कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मन्दिर निर्माणका अधिकांश योजना मन्त्रीकै जिल्लामा 

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारकी उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले पर्यटन विकासअन्तर्गत मन्दिर निर्माणका अधिकांश योजना गृह जिल्ला बैतडीमा केन्द्रित गरेको पाइएको छ ।

मन्दिर निर्माणका अधिकांश योजना मन्त्रीकै जिल्लामा 

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ०७४/७५ को आंशिक बजेटदेखि चालु आवको बजेटमा पर्यटनसम्बन्धी योजना बैतडी केन्द्रित छन् । बैतडीमा कतिपय मन्दिरका योजना वर्षेनी दोहोरिएका पनि देखिएका छन् । मन्त्रालयको ३ सय ५७ योजनामा ३२ करोड ७७ लाख मध्ये आधा बजेट बैतडीका मन्दिरहरूमा खर्च भएको छ ।

आफ्ना माइतीदेखि घरको कुल देवताका मन्दिरसम्ममा मन्त्री भट्टले बजेट र योजना पारेको आरोप लागेको छ । पर्यटन एकाइका शाखा अधिकृत लोक दाहालले सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा पर्यटनसम्बन्धी योजना बैतडीमा बढी परेको बताए । उनले पर्यटन क्षेत्रको बजेट पर्यटकीय पूर्वाधार विकासमा भन्दा समग्रमा मन्दिर निर्माणमा बढी गएको स्विकारे ।

मन्त्रालयका अनुसार गत वर्ष बैतडीमा ७८, कैलालीमा ५२, डडेल्धुरामा १६, दार्चुलामा २१, बझाङमा २२, अछाममा ४७, डोटी ४५ र बाजुरामा २१ वटा योजना मात्रै परेका थिए । पर्यटन ब्यवसायी सुरेन्द्र चन्दले प्रदेश सरकारले समानुपातिक ढंगले सबै जिल्लामा पर्यटन प्रवर्द्धनका योजना वितरण नगरेको बताए । बैतडीका त्रिपुरा सुन्दरी, देहिमाण्डौं, रौलाकेदार, पतालभूमेश्वरलगायत केही मन्दिरमा बजेट र योजना दोहोर्‍याएर/तेहेर्‍याएर परेको देखिन्छ ।

मन्त्रालयका एक कर्मचारीले चालु आवमा ४२ करोड पर्यटन बजेटमा पनि बैतडीकै लागि मन्त्री भट्टको दबाव आउन थालेको बताए । ‘उप–शीर्षकमा बजेट बाँडफाँडको तयारी भइरहेको छ,’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, मन्त्री भट्टले बैतडी मोह देखाएकी छिन् । उनले बैतडीमा योजना र धेरै पार्न निर्देशन दिन थालेकी छिन् ।’

उनले गएको वर्ष पनि यसैगरि मन्त्री भट्टले पर्यटनको डल्लो बजेटबाट धेरै योजना आफ्नो जिल्लामा लगेको बताए । अन्तरिम बजेट ०७४/७५ मा पर्यटन बजेटको ठूलो हिस्सा बैतडीकै मन्दिर र धार्मिक पर्यटकीय विकासको सम्भाव्यता अध्ययनमा खर्च भएको थियो । मन्त्री भट्टले बैतडीमा धेरै मन्दिर भएकाले बजेट र योजना धेरै पर्नु स्वभाविक भएको बताइन् ।

धार्मिक दृष्टिकोणबाट ७ देवीभगवतीका मन्दिरदेखि १३ किमि पतालभुमेश्वर गुफा त्यही छ,’ उनले भनिन्, ‘त्यसैले बैतडीमा पर्यटन प्रवर्द्धन गर्नुपर्ने मन्दिर तथा पर्यटकिय क्षेत्रमा योजना पर्नु कुनै गलत होइन ।’ उनले अन्य जिल्लाका धार्मिक पर्यटन स्थलहरूमासमेत योजना र बजेट परेको दाबी गरिन् ।

पर्यटन ब्यवसायी दिनेश भण्डारीले पर्यटन क्षेत्रको बजेट मन्दिरको भजनकृतन समितिलाई बाढेर पर्यटनका क्षेत्रको विकासमा टेवा नपुग्ने बताए । उनी मन्दिरमा पर्यटनका योजना पार्नुलाई बजेट सक्नु र आर्थिक अनियमितता गर्नु हो भन्छन् । ‘पर्यटनको ४०/४२ करोडको बजेट उपभोक्ता समितिमार्फत सकिन्छ,’ उनले भने, ‘देखिने गरी पर्यटन पूर्वाधारको काम केही भएको छैन् ।’

उनले प्रदेश सरकारले हरेक वर्ष करोडौं रकम पर्यटन क्षेत्रको विकासका नाममा बाँड्नुभन्दा कुनै एक पर्यटकीय गन्तब्यको विकासमा केन्द्रित गर्नुपर्ने बताए । उनले धार्मिक पर्यटकीय दृष्टिकोणले यस क्षेत्रको महत्वपुर्ण मानिने कैलालीको घोडाघोडी, कञ्चनपुरको ब्रह्मदेव शिव मन्दिर, डडेल्धुरामा उग्रतारा, परशुराम, डोटीको शैलेश्वरी, बाजुराको बडिमालिका, दार्चुलाको मालिकार्जुन, बैतडीको त्रिपुरासन्दरीमा पर्यटकीय पूर्वाधारमा लगानी गर्न उचित भए पनि घरआँगनको मन्दिरमा लगानी गर्नुको कुनै अर्थ नहुने बताए ।

प्रकाशित : भाद्र २३, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?