कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

७८ रुपैयाँ मिलाउन २३ हजार खर्च

रमेशचन्द्र अधिकारी

धनकुटा — एक सरकारी कार्यालयको बैंक खातामा रहेको ७८ रुपैयाँ मिलाउन राज्यकोषको २३ हजार रुपैयाँ खर्च भएको छ । खातामा रहेको रकम शून्य गराउन कार्यालयले कर्मचारीलाई जहाज चढाएर दैनिक भत्तासमेत दिएर मन्त्रालय पठाउँदा त्यति खर्च भएको हो । 

तत्कालीन पशु सेवा कार्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक धनकुटाको खातामा ७८ रुपैयाँ बाँकी थियो । नयाँ संरचनामा गएपछि गत मंसिरदेखि उक्त कार्यालयको नाम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रमा परिणत भएको छ ।


नाम परिवर्तन भएपछि पहिलेको बैंक खातामा रहेको सबै रकम शून्य भए मात्र बैंक खाता सञ्चालन गरिने कोष तथा लेखा नियन्त्रण कार्यालयबाट दबाब आएपछि कार्यालयले कर्मचारी काठमाडौं पठाएको हो ।


खातामा रहेको रकम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा विभागबाट सहज रूपमा मिलाउन ध्यान नदिंदा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अधिकृतस्तरको एक कर्मचारीलाई खटाएको स्रोतले जनायो । गत असार अन्तिम साता कोष तथा लेखा नियन्त्रण कार्यालयले केन्द्रको खातामा ७८ रुपैयाँ रहेको थाहा पाएपछि तत्काल शून्य गर्न दबाब दिएको पशुविज्ञ केन्द्रका प्रमुख डा. शिवजीप्रसाद दासले बताए ।


‘कार्यालयको बैंक खाता नै रोक्का हुने भएपछि हतारमा मन्त्रालयमा कर्मचारी पठाउनुपरेको हो’, उनले भने, ‘७८ रुपैयाँका लागि प्लेन भाडा र डिए (दैनिक भत्ता) खर्चिंदा २३ हजार रुपैयाँ खर्च पो भयो ।’ पशुविज्ञ केन्द्रले शाखा अधिकृत दुर्गा सुवेदीलाई नयाँ आर्थिक वर्ष सुरु हुने तीन दिनअघि हतारमा खटाएको थियो । हतार गरेर जानुपर्दा काठमाडौं जाँदा ५ हजार २ सय र फर्कंदा ७ हजार ५ सय रुपैयाँको जहाज भाडा, दैनिक १६ सयको दरले भत्ता, गाडी तथा खाना लगायतको जम्मा २३ हजार खर्च भएको कार्यालयले जनाएको छ ।


लगातारको वर्षाका कारण पहिरो जाँदा राजमार्ग बन्द भएको र समय छोटो भएकाले हतारमा प्लेनको विकल्प नै नभएको शाखा अधिकृत सुवेदीले बताए । कार्यालयको नाममा रहेको बैंक खातामा पशुसम्बन्धी घुम्ती कोषको रकम ७८ रुपैयाँ बाँकी रहेको उनले जानकारी दिए । रकम थोरै भए पनि मन्त्रालयले मात्र मिलाउन सक्ने भएकाले धाउन बाध्य भएको उनको भनाइ छ ।


कोलेनिकाले जानकारी दिनुअघि उनले बैंक खातामा रकम कति थियो भन्नेबारे आफू जानकार नभएको कार्यालय प्रमुख दासले बताए । एक वर्षमा चार जना लेखापाल परिवर्तन भएकोले खातामा रहेको रकमबारे अलमल परेको दाबी गरे ।


मंसिरमा परिवर्तन भएको कार्यालयले ७ महिनाको अवधिभित्र खाता शून्य गर्नुपर्नेमा ढिलासुस्ती गर्दा बढी खर्च व्यहोर्नुपरेको कोष तथा लेखा नियन्त्रक नरेश खरेलको भनाइ छ । पशु सेवा विज्ञ केन्द्रले समयमा काम नगर्दा राज्यको लागत बढेको छ, उनले भने, गत मंसिरदेखि नयाँ संरचनामा गएको कार्यालयले किन अन्तिम समयसम्म खाता शून्य गर्न चासो दिएन भन्ने कुरा जटिल हो ।


आर्थिक वर्षको अन्तिम क्षणमा मन्त्रालयमा पनि कामको बोझले उक्त काममा चासो नदिएको हुन सक्ने उनको तर्क छ । समयमा ध्यान गएको भए खर्च बिना नै काम सल्टिन्थ्यो, उनले भने, राज्यकोषको व्ययभार बढी हुने भएपछि मन्त्रालय तथा विभागले पनि त्यसतर्फ चासो दिनुपर्थ्यो । कतिपय कार्यालयको सम्बन्धित विभागले नै क्लियर गरिदिंदा जटिलता भएन ।


पशुसम्बन्धी घुम्ती कोषको रकम भएकाले कार्यालयको अर्को खातामा कोलेनिकाले उक्त ७८ रुपैयाँ सार्न नसकिएको जनाएको छ । मन्त्रालयबाटै समाधान गरिनुपर्ने विषय भएकोले बेलैमा सोचिनु पर्नेमा अन्तिम क्षणमा हतारिंदा राज्यकोषको व्ययभार बढेको कोष प्रमुख खरेल बताउँछन् ।


यसैबीच, तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको नामको बैंक खातामा पनि यस्तै समस्या रहेको थियो । शिक्षा विकास निर्देशनालयका रूपमा परिवर्तित भएपछि पुराना कार्यालयको बैंक खाता शून्य गर्नुपर्ने कोलेनिकाले जनाएको छ । उक्त कार्यालयको खातामा ७२ हजार रुपैयाँ बाँकी थियो ।


तर कार्यालयको अरू थप कामको सिलसिलामा मन्त्रालय जानेक्रममा बैंक खाताको कामसमेत टुंग्याएको निर्देशनालयका उपसचिव कृष्ण पोखरेलले जानकारी दिए । खाताको कामका लागि मात्र खर्च नभएको उनको दाबी छ ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?