महिनामा दुईपल्ट विदेश

दीपक परियार

पोखरा — चीनबाट फर्किएको तीन दिनमै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जीसी दक्षिण कोरिया उडे । जलवायु परिवर्तनका लागि संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) को कार्बन व्यापारसम्बन्धी कार्यक्रममा भाग लिन उनी गत मंगलबार कोरिया गएका हुन् ।

ZenTravel

भदौमा मात्रै यो उनको दोस्रो विदेश भ्रमण हो । निर्वाचित भएर कार्यभार सम्हालेयता दुई वर्षको अवधिमा उनी कोरिया दोस्रोपल्ट गए, विदेश १२ औंपल्ट ।

प्रमुख जीसीको विदेश यात्राको शृंखला २०७४ भदौबाट सुरु भएको हो । दक्षिण कोरियामै उनले एसिया प्यासिफिक सिटी समिटमा चार दिन बिताए । गत कात्तिकमा श्रीलंका, पुसमा चीन, चैतमा ताइवान, २०७५ को जेठमा चीन, भदौमा पुनः चीन, साउनमा जापान, असोजमा युरोप र फागुनमा बेलायत पुगे । गत जेठमा उनी भारत घुमे । भदौको ३ देखि १० दिन पुनः चीन गएर फर्किए । कोरियाबाट एक सातापछिसोमबार उनी स्वदेश फर्कने छन् ।

चारपल्ट चीन गएका महानगर प्रमुखले दुई वर्षको अवधिमा साढे २ महिना विदेशमै बिताएका छन् । कम महत्त्वका कार्यक्रममा समेत महानगर प्रमुख नै सहभागी हुने गरेको भन्दै उनको आलोचना पनि हुने गरेको छ । कम्प्युटर एसोसिएसनको कार्यक्रममा उनले ताइवानमा पाँच दिन बिताए ।

पोखराले भगिनी सम्बन्ध गाँसेका चीनका सहरमा पुगेर उनले घुमघाममै समय खर्चिए । गैरसरकारी संस्थाको निमन्त्रणामा समेत उनी विदेश जाने गरेका छन् । हेफर इन्टरनेसनलले उनलाई दुई दिन भारत घुमाएर ल्याएको थियो । जापान जाँदा उनले नौ जनाको ठूलो टोली साथै लगेका थिए ।

पछिल्लोपल्ट प्रधानमन्त्रीको सिफारिसमा नेकपाबाट निर्वाचित प्रमुख र उपप्रमुखलाई चीनले युनान प्रान्तको कुन्मिङमा लगेर प्रशिक्षण दियो । उनीहरूले वित्त व्यवस्थापन, सहरी विकास र सहलगानीलगायत विषयमा तालिम लिए । तालिम राम्रो भए पनि चीन र नेपालको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाले कार्यान्वयन गर्न अप्ठेरो हुने महानगर प्रमुख स्वयं बताउँछन् ।

यसपल्टको दक्षिण कोरिया भ्रमण भने फलदायी हुने उनको दाबी छ । ‘पहिला पहिला भात खान मात्रै गइयो,’ कोरिया प्रस्थानअघि उनले भनेका थिए, ‘यसपालि पोखरालाई राम्रै लाभ हुन्छ ।’ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले पोखराको सहरी यातायात गुरुयोजना निर्माणमा सहयोग गर्ने भएको उनले बताए । उक्त सम्बन्धमा कोइकाकाप्रतिनिधिसँग भेटघाटको कार्यक्रम छ ।

उपमेयर मञ्जुदेवी गुरुङलाई कार्यवाहक दिएकाले आफू बाहिर रहँदा महानगरपालिकाको दैनिक कामकाजमा अप्ठेरो नहुने दाबी उनको छ । ‘वडालाई अधिकार दिएको छ, योजना सम्पन्न भइसकेका छन्,’ उनले भने, ‘केही दिन मेयर हुनु र नहुनुमा तात्विक भिन्नता आउँदैन ।’ भ्रमणको सबै खर्च आयोजकले नै बेहोर्ने गरेको उनले बताए ।

राजनीतिशास्त्रका उपप्राध्यापक कपिलमणि दाहाल जनप्रतिनिधि विदेश भ्रमणबाट के–के उपलब्धि भए भन्ने जानकारी जनताले पाउनुपर्ने बताउँछन् । उपलब्धिका बारेमा नबताई दैनिक कामकाजमा समस्या नहुने भन्दैमा उम्किन नमिल्ने उनको तर्क छ । ‘घुम्नका लागि मात्रै जानु गलत हो,’ उनी भन्छन्, ‘यो–यो उपलब्धि भयो भनेर स्पष्ट पार्नुपर्छ, होइन भने त्यसले सुशासनमा टेवा पुर्‍याउँदैन ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५ जारी गरेको छ । मन्त्रालयका अनुसार स्थानीय तहलाई आर्थिक र सामाजिक रूपान्तरणमा प्रत्यक्ष सहयोग पुग्ने वैदेशिक सहयोग परिचालनमा मद्दत पुर्‍याउने भ्रमण कार्यक्रमलाई मात्र स्वीकृति दिने गरेको छ ।

गाउँपालिका अध्यक्ष ५० दिन चीनमा
कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ साउन १० देखि चीनमा छन् । विकासशील देशका लागि बाँसको प्रविधिसम्बन्धी तालिममा सहभागी हुन उनी गएका हुन् । ५० दिन चीनको हाङझाउ सहरमा रहने उनी भदौ ३१ मा मात्रै फिर्ने कार्यक्रम छ । चीनको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनअन्तर्गत राष्ट्रिय बाँस अनुसन्धान केन्द्रको निमन्त्रणामा उनी त्यहाँ पुगेका हुन् ।

उनले उपाध्यक्ष कृष्णकुमारी दवाडीलाई कार्यवाहक सुम्पिएका छन् । अध्यक्षले लामो समय विदेशमा बिताउँदा गाउँपालिकाका कामकाज प्रभावित भएको स्थानीय बताउँछन् । कार्यवाहक अध्यक्ष दवाडी भने खासै अप्ठेरो नपरेको बताउँछिन् । ‘म्यासेन्जरमा कुराकानी भइरहन्छ,’ उनले भनिन, ‘ठूलो केही गर्न पर्‍यो भने सल्लाह गरिन्छ ।’ नियमित काम नरोकिएको उनको दाबी छ ।

कार्यवाहक अध्यक्ष र उपाध्यक्षको दोहोरो भूमिका निभाउँदा कामको चाप केही बढी भएको उनले स्विकारिन् । ‘दुवै भूमिकामा हुँदा कामको चाप हुनु स्वाभाविक हो,’ उनी भन्छिन्, ‘उपाध्यक्ष भएर गर्नुपर्ने योजनाको अनुगमन केही कम भएको छ ।’ अध्यक्ष गुरुङ आयोजककै खर्चमा विदेश गएको गाउँपालिकाका सूचना अधिकृत हरिलाल आचार्यले बताए । कास्कीका प्रदेश सांसद मनबहादुर गुरुङ पनि उक्त तालिममा अध्यक्ष कर्णबहादुरसँगै सहभागी छन् ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सेतो पुतलीदेखि सावधान !

दीपक परियार

पोखरा — बेलुका राम्रैसँग सुतेका बागलुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले । दाहिने आँखा मिच्दामिच्दै रातो भयो । धमिलो देख्न थाले । उनकी आमा सीता झारफुकमा लागिन् । बिसेक नभएपछि पर्सिपल्ट छोरालाई धौलागिरि अञ्चल अस्पताल पुर्‍याइन् ।

त्यहाँबाट पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो । आँखा दुखेको ४ दिनपछि बिहीबार पोखरा आउँदा सन्दीपलाई ‘सापु’ भएको पत्ता लाग्यो । अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् ।

पोखरामा भदौ १६ यता सन्दीपजस्ता सापुका ८ बिरामी भेटिएका छन् । सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा हुने यो रोगको स्रोत पत्ता लाग्न सकेको छैन । २०३२ मा पोखराको लामाचौरमा पहिलोपटक यो रोग भेटिएको थियो । आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले नेपालमा पहिलोपल्ट यो रोग पत्ता लगाएका हुन् । उनैले यो रोगलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नाम दिएका हुन् ।

उपाध्यायका अनुसार हालसम्म सेतो पुतली (मोथ) लाई सापुको कारकका रूपमा प्रायः जोडिने गरेको छ । सेतो पुतलीको संसर्गमा नआएका बिरामीमा पनि योरोग देखा परेको छ ।

बिरामीको आँखामा सूक्ष्म जीवाणु (ब्याक्टेरिया) र विषाणु (टक्सिन) समेत पाइएको छ । ‘यो रोग लाग्ने स्रोतको पहिचान नभइसकेकाले रहस्यमयी छ,’ बीपी नेत्र प्रतिष्ठानका अध्यक्ष उपाध्यायले भने, ‘सेतो पुतलीका कारण सापु हुन्छ भन्ने तथ्यमा नजिक छौं तर शतप्रतिशत स्थापित गर्न सकेका छैनौं ।’

बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगन्जकी सहायक प्राध्यापक डा. रञ्जु खरेलका अनुसार यो रोग हरेक अंग्रेजी बिजोर वर्षमा देखिँदै आएको छ । यसले बालबालिकामा बढी असर पुर्‍याउँछ । वर्षातको अन्त्यबाट यो रोग देखापर्छ । पुस र माघसम्म पनि बिरामी भेटिन्छन् । यो रोग लाग्दा एक्कासि आँखा रातो हुन्छ । चिप्रा लाग्दैन । उज्यालोमा हेर्न सकिँदैन । आँखाको दृष्टि तत्कालै घट्छ । आँखामा दुखाइ बढी हुन्छ । नानी सेतो हुँदै जान्छ । पिपैपिप जम्छ ।

‘यसको उपचार भनेकै जतिसक्दो छिटो आँखा अस्पताल पुगेर पिप निकाल्नु हो,’ डा. खरेलले भनिन्, ‘आँखाको पर्दा सुरक्षित नभए च्यातिन्छ । त्यो अवस्थामा पुग्दा आँखाको ज्योति गुम्छ ।’ आँखा रातो हुनेबित्तिकै थोपा औषधि राखेर घरमै उपचार गर्न नहुने उनले बताइन् । ‘४८ घण्टाभित्र उपचार भए निको हुन सक्छ,’ उनले भनिन् ।

यो वर्ष भेटिएका ८ बिरामीमध्ये ७ जना पोखराका हुन् । पोखराको नदीपुर, चाउँथेलगायत क्षेत्रमा सापुका बिरामी भेटिएका हुन् । ‘विगतमा उपचार पद्धति राम्रो नहुँदा ५० प्रतिशतसम्मले ज्योति गुमाएको तथ्यांक छ,’ डा. खरेलले भनिन्, ‘उपचारमा नयाँ प्रविधि भित्रिएपछि त्यो दर घटेको छ ।’

अध्ययनका अनुसार दुई वर्षअघि बिरामीमध्ये ३० प्रतिशतले एउटा आँखा गुमाएका थिए । त्यतिखेर ३८ दिनको बच्चादेखि ५० वर्षीय वृद्धसम्ममा यो रोग भेटिएको थियो ।

तीन दिनअघि पोखराकै एक बैंकमा काम गर्ने २७ वर्षीय युवामा सापु भेटियो । अस्पतालको टोली उनी सुतेको ठाउँ पुगेर हेर्दा सेतो पुतली भेटिएको थियो । अस्पतालकी चिकित्सक हरिमाया गुरुङले यो वर्ष भेटिएका ८ मध्ये ३ जना बिरामीमा पुतलीको रौं भेटिएको बताइन् ।

उनले दुई जनाको अस्पतालमै राखेर उपचार गरेको र अन्य बिरामी उपचारका लागि काठमाडौं गएको जनाइन् । सापुको आकस्मिक उपचार आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रियासमेतबाट गरिन्छ । शल्यक्रिया गर्न १५ देखि २० हजार रुपैयाँ खर्च लाग्छ ।

पुतली पाइने ठाउँको भौगोलिक वातावरण पनि अध्ययन गर्न जरुरी रहेको विज्ञ बताउँछन् । सापु हुने भनिएको पुतलीको पखेटामा तेर्सो, ठाडो र कालो धर्सा हुन्छ । ‘ग्याजेलिन ट्राइसोफा’ प्रजातिको सेतो पुतलीको रौं हानिकारक हुने मानिएको छ । हालसम्म पुतलीले ब्याक्टेरिया लगेर आँखामा छाडेको हो कि विष भन्ने नै पत्ता लाग्न नसकेको डा. खरेल बताउँछिन् ।

४४ वर्षमा अनुमानित १५ हजार बिरामी भेटिएका छन् । आधिकारिक तथ्यांक भने कसैसँग छैन । डा. उपाध्यायले पुतलीको वंशाणु अध्ययनको आवश्यकता औंल्याए । ‘सबै बिरामीमा ब्याक्टेरिया देखिएको छैन । संक्रमण मात्रैले यत्ति चाँडै दृष्टि गुम्ने हुँदैन,’ उनले भने, ‘एक, दुई बिरामीलाई मात्रै हेरेर विश्लेषण गर्न सकिँदैन । रोग प्रतिरोधात्मक क्षमता बढी हुनेलाई पनि सापुले आक्रमण गर्न सक्छ ।’

विराट आँखा अस्पतालका चिकित्सक अनादी खत्री असोज २५ देखि २९ सम्म हुने सभामा भाग लिन अमेरिका जाँदै छन् । ‘नेपालको प्रविधि र अनुसन्धानले नभ्याएको समस्या प्रस्तुत गर्नेछु’ उनले भने । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ मेडिकल अधिकृत डाक्टरभोजराज गौतम सापु रोग संघ सरकारले चिन्नुपर्ने बताउँछन् ।

प्रकाशित : भाद्र २०, २०७६ ०७:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×