कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सातसय वर्षदेखि पुजिँदै खप्पर’ 

शुभ, सफलताको लागि स्थानिय र लामाले पुज्छन् गुरु लामाको खप्पर 
अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका वडा ४,सेलाङकट्टी गाउँमा पुरानो कलात्मक साङछ्योलिङ  गुम्बा छ ,जहाँ दिनहुँ एउटा मानव खप्परको पुजा हुन्छ । करिब ७ सय वर्ष पुरानो मानिने कलात्मक (तालुको भाग) ‘नम्देन्’ खप्परलाई बौद्ध र हिन्दु धर्मका समुदायले देवताको रुपमा पुज्दै आइरहेका छन् । 

‘सातसय वर्षदेखि पुजिँदै खप्पर’ 

साङछ्योलिङ गुम्बाका प्रमुख लामा साङदोर्जे लामाकाअनुसार खप्पर बौद्धधर्मका सिद्ध गुरु लामाको भएकाले देवताझैं पुज्ने परम्परा सातसय वर्षदेखि नियमित रुपमा चल्दै आइरहेको छ । खप्परले छोएमात्रै रोग, पाप नाश हुने, सपनामा आएर गुरुले मार्गदर्शन गर्नेजस्ता अनेक विश्वासमा खप्परको तान्त्रिक र साधरण दुवै अनुष्ठान, पुजा हुने गरेको उनले बताए ।

‘यो गुरुबाट शिष्यमा हस्तान्तरण भएको एउटा महत्वपुर्ण परम्परा हो, त्यहीअनुरुप यहाँ आउने प्रत्येकलाई खप्परले छोएर आर्शिवाद दिइरहेका छौं,’ गुम्बाका ‘टिका लामा’ पदमा बसेका उनले भने । साधारण मान्छेकोभन्दा उच्च साधक कोटीको खप्पर भएकाले पुस्तौली रुपमा यसको पुजा अर्चना हुने गरेको उनले सुनाए ।

पूर्वीय हिन्दु र तिब्बती बौद्ध संस्कृतिका संगम धार्मिक धरोहर गुरु रिन्पोछे (पदमसम्भव), महायोगी मिलारेपा र बुद्धजस्ता असंख्यौं गुरुले तपस्यापछि शरिरको केही अंश छाडेको बौद्धमतको कथन छ ।

त्यस्तै भोटेकोशी किनारक्षेत्रको तत्कालिन लामाको प्रमुखको रुपमा चिनिएका गुरु लामाले वर्षौपछिको ध्यानपछि देवताझैं शक्तिशाली बनेको लामाले निर्वाणपछि आफ्नो खप्पर छाडे । केही शिष्यलाई गुरु लामाले शरिर छोड्नुअघि आफु खप्पर रुपमा अमर रहने बताएको मानिन्छ ।

भोटेकोसी – ४ सेलाङकट्टीको माथिल्लो लेकाली छमम् डाँडा वा तपस्यास्थल डाँडामा गुरु लामाले गुम्बा,कुटी बनाएर तपस्या थाले । देवताझै (सिद्ध) भइसकेपछि टेकेको दाहिने पाइला र गाउँलेको पानीको अभावलाई मेटाउन शक्तिबाट उत्पन्न गरेको भनिने पानीको मुल रहेको स्थानीय विश्वास गर्छन् । लामाको भनाईअनुसार आफ्नो मृत्युकालबारे थाहा पाइसकेपछि घर फर्किन लागेको भेडा गोठालालाई सेलाङकट्टी गाउँलेलाई जानकारी दिन सन्देश पठाएर उनले ध्यानमै समाधि लिए । गुरु लामाको अन्तिम इच्छालाई मानेर कुटिभन्दा झण्डै ७० मिटरमाथिको डाँडामा लगेर शरिरलाई संस्कार गर्न खोजेपनि वर्षात हावाहुरीका कारण सकिएन् ।

कुटीकै पिढीमा संस्कार गरेपछि बाँकी अवशेष बोकेर (गुरु लामाले बनेको स्थान) डाँडा पुग्दा एउटा चम्किलो वस्तु देखे । जुन नै गुरु लामाको पवित्र खप्पर (तालुको हाड )थियो । ‘त्यही ‘नम्देन’ पवित्र खप्पर आजसम्म पुजा भइरहेको छ, यो हाम्रो अनमोल परम्पराको सम्पदा हो,’ स्थानीय अगुवा निमा लामाले भने । चोरीको त्रास बढेपछि सुरक्षाको लागि लामो समय ‘नम्देन’ जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले जनाए ।

‘नम्देन्’ पुजालाई नियमित र व्यवस्थित बनाउन पहलकदमी लिइरहेको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘यो अचम्मको खप्परको सुरक्षासहितको सांस्कृतिक सम्पदा झल्कने गुम्बा बनाएर पर्यटकीय प्रवर्द्धनमा जोड दिने लक्ष्य राखेका छौं । गुरु लामाबारे अझै जानकारी खोज्ने प्रयासमा छौं,’ उनले भने ।


प्रकाशित : भाद्र २२, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?