२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

शरणार्थी बालबालिकाको पढाइ रोकिँदै

दमक / काठमाडौं — कुनै बेला झापा र मोरङका शिविरमा ७ वटा मावि र ३३ वटा सेक्टर स्कुल रहेकामा घट्दै गएर अहिले एउटा छ । त्यो पनि आगामी 
शैक्षिक सत्रदेखि बन्द हुँदै छ । यूएनएचसीआरले शरणार्थीलाई गर्दै आएको सहयोग पनि रोक्दै छ । 

शरणार्थी बालबालिकाको पढाइ रोकिँदै

भुटानी शरणार्थी शिविर बेलडाँगीका अविनाश सुब्बा कक्षा ७ मा पढ्छन् । उनी अनुशासित विद्यार्थीमा पर्छन् । बुबा बुद्ध सुब्बा भने उनको पढाइप्रति चिन्तित छन् । ‘शरणार्थी शिविरको विद्यालय अर्को वर्षदेखि बन्द हुने रे, छोरालाई कहाँ लगेर पढाउनु ?’ उनले भने ।

बुद्धजस्तै बेलाडाँगीका अरू शरणार्थीहरूलाई पनि यस्तै चिन्ताले सताएको छ । शरणार्थी शिविरमा सञ्चालित एक मात्र पञ्चावती आधारभूत विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द हुने भएको छ । सहयोगी संस्था शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले सन् २०२० देखि शरणार्थीलाई गर्दै आएको सबैखाले सहयोग बन्द गर्ने उद्घोष गरिसकेको छ ।

सन् २००३ मा भुटानी शरणार्थी शिविरमा ४० हजार २ सय ६० शरणार्थी विद्यार्थी विद्यालयस्तरमा अध्ययनरत थिए । उनीहरूका लागि झापा र मोरङका सात वटा शिविरमा ७ वटा मावि र ३३ वटा सेक्टर स्कुल थिए । तेस्रो देश पुनर्वास कार्यक्रम सुरु भएपछि भुटानी शरणार्थी र उनीहरूका शिविर घट्दै गए ।

सबैखाले सेवा सुविधा कटौतीको मारमा परेका भुटानी शरणार्थीहरू ‘आधारभूत’ शिक्षाको अधिकारबाट समेत वञ्चित हुने अवस्थामा पुगेका छन् । अन्तिम वर्ष सञ्चालित पञ्चावतीमा अहिले ८ सय ५५ जना शरणार्थी विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालय सञ्चालनका लागि कारितासमार्फत यूएनएचसीआरले सहयोग गर्दै आएको कारितास दमकका एजुकेसन मेनेजर लोकनाथ (एलएन) पोखरेलले जानकारी दिए ।

सन् २००८ मा भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम सुरु भएपछि शिविरमा शरणार्थीको संख्या घट्न थालेको थियो । यूएनएचसीआरले सन् २०११ र ०१२ मा छरिएर रहेका शिविरलाई मोरङको पथरी र झापाको बेलडाँगीमा मात्र केन्द्रित गर्‍यो । शिविर गाभिएपछि विद्यालय संख्या पनि घट्यो ।

बेलडाँगीमा त्रिरत्न मावि, ग्रिनबेल्ट पञ्चावती र मेरीगोल्ड आधारभूत तथा ७ वटा सेक्टर स्कुल सञ्चालित थिए । सन् २०१५ मा मेरीगोल्ड र सन् २०१६/१७ मा ग्रिनबेल्ट पञ्चावतीमा गाभिएको थियो । त्यसबेलासम्म एक मात्र मावि त्रिरत्न सन् २०१८ मा बन्द भयो ।

शरणार्थी शिविर पथरीमा यही वर्ष न्यु होराइजन एकेडेमी बन्द भएको छ । अब पथरी शिविर विद्यालयविहीन बनेको छ । कक्षा ४ सम्म मात्र पढाइ हुने न्यु होराइजन बन्द हुँदा १ सय १८ जना विद्यार्थी थिए । उक्त शिविरबाट यो वर्ष १ सय ६२ जना विद्यार्थी शिविर बाहिरका विद्यालय जान्छन् ।

बेलडाँगीमा मावि स्कुल बन्द भएपछि सन् २०१८ देखि कक्षा ९ अध्ययनका लागि शरणार्थी विद्यार्थीहरू दमकको ढुकुरपानी र हिमालय माविमा जान्छन् । शिविरभित्रको स्कुलमा अध्ययन गर्दा विद्यार्थीले पुस्तक, कापी, पेन्सिल, पोसाक विद्यालयबाटै पाउने गर्थे । शिविर बाहिरका विद्यालयमा पढ्न थालेदेखि सबै आफैं जुटाउनुपर्ने बाध्यता छ ।

पञ्चावतीका प्रिन्सिपल पूर्ण गुरुङले विद्यालय बन्द हुने हल्लाले विद्यार्थी र अभिभावकमा नकारात्मक असर परेको बताए । ‘पहिलाभन्दा थोरै छौं । तर अझै बेलडाँगीमा ५ हजारभन्दा बढी शरणार्थी छौं,’ उनले भने, ‘यति जनसंख्याका लागि पनि शिविरमा एउटा स्कुल आवश्यक छ ।’

उनले शिविरभित्रको एक मात्र स्कुल बन्द गर्नुभन्दा कुनै विकल्प खोजेर निरन्तरता दिनुपर्ने बताए । पञ्चावती विद्यालयका विद्यार्थीलाई आगामी वर्षदेखि नजिकैको चुलाचुली आधारभूत विद्यालय दुम्से र ढुकुरपानी माविमा व्यवस्थापन गर्ने गरी गृहकार्य अघि बढाइएको छ ।

प्रकाशित : भाद्र २२, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?