१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

काठमाडौंमा ‘उर्लंदो सय करोड अभियान’ मनाइयो

काठमाडौँ — ‘नो मोर भ्वाइलेन्स, नो मोर साइलन्स, नीड वी आर फ्रि...’ अर्थात् ‘हिंसा होइन, मौनता होइन, हामी स्वतन्त्रता चाहन्छौं...’ शनिबार धोबीघाटस्थित डिएभी स्कुलको हल गुन्जयमान बन्यो । दक्षिण एसियाका महिलावादीहरुले यो गीत गाउँदै उर्लंदो सय करोड अभियान २०२० को सुरुआत गरे ।

काठमाडौंमा ‘उर्लंदो सय करोड अभियान’ मनाइयो

नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान लगायत ८ देशका प्रतिनिधि महिलावादीहरुको उपस्थितिले न्याय, समानता र शान्तिका लागि महिलावादी ऐक्यबद्धताको उत्सव मनाए ।


नेपालमा उर्लंदो सय करोड अभियान २०२० को आरम्भ गर्दै दक्षिण एसिया संयोजक कमला भसिनले भनिन्, ‘यो अभियान महिला एकताको मिसाइल हो, हामी सफल हुन चाहन्छौ, पराजित हुन चाहन्नौं ।’ समाजमा पितृसत्तामात्रै हाबी छैन, यदाकदा मातृसत्ता पनि छ, यसकारण हिंसापिडित सबैका लागि साझा आवाज उठाउने भनाइ पनि व्यक्त गरिन् ।


२०२० मा महिला हिंसाविरुद्ध सय करोड महिलावादीहरुलाई एकसाथ उतार्ने अभियान छ । सोहीअनुसार नेपालमा सुरु भएको भसीनले बताइन् ।


उर्लंदो सय करोड बालिका तथा महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न सुरु भएको दक्षिण एसिया महिलावादी अभियानकर्मीहरुको सञ्जाल हो । विश्वस्वास्थ्य संगठनले सन् २०१२ मा गरेको सर्भेक्षणअनुसार विश्वमा प्रत्येक ३ मध्ये एक महिला अर्थात लगभग सय करोड बालिकाका तथा महिलाहरु हिंसाको सिकार हुन्छन् । यही तथ्याङ्कलाई मध्यनजर गरेर विश्वभर अभियान सुरु भएको हो भने विश्व स्वास्थ्य संगठनकै सर्भेक्षणअनुसार नेपालमा प्रत्येक ४ मध्ये एक महिला जीवनकालमा शारीरिक यौन दुर्व्यबहार भोग्नुपरेको हुन्छ । यही सर्भेक्षणका आधारमा महिलाको हिंसाविरुद्ध उर्लंदो सय करोड अभियान नेपालमा सुरु भएको हो ।


विश्व स्वास्थ्य संगठनको तथ्याङ्गअनुसार हरेक दिन संसारभरीका १३७ महिला आफ्नै परिवार, आफन्तद्धारा हत्याको सिकार हुन्छन् । प्रत्येक १० जना मानव बेचविखनको सिकार भएकामध्ये ७ जना बालिका/महिला हुन्छन् । ६५ करोड बालिका र महिलाहरुको १८ बर्ष नपुर्ग्दै विवाह हुन्छ ।


अवार्ड वितरण

संङ्गती ग्रान्ट अवार्ड-२०१९ बाट व्यक्तिगत तर्फबाट चित्रकार सुनैना ठाकुर सम्मानित भइन् । सुगभवानीपट्टी महोत्तरीकी सुनैना मिथिला चित्रकलाको माध्यमबाट लैगिंक समानता, सामाजिक परिवेशीकरण तथा महिलामाथि हुने हिंसाहरु विश्वमाझ प्रस्तुत गर्ने चित्रकार उद्यमी हुन् । उनी १५ वर्षकै उमेरमा विवाहित भइन् । बुहारीलाई चुलाचौकामा सीमित राख्नुपर्छ भन्ने कुसंस्कार बोकेको समाजमा चित्रकलाको माध्यमबाट महिला शसक्तिकरणको आवाज उठाउँदै आएकी छन् । ‘अवार्डले मलाई हौसला मिलेको छ, उर्लंदो सय करोडको अभियानलाई सफल पार्न मेरो तर्फबाट सक्दो सहयोग गर्नेछु,’उनले भनिन् ।


यसैगरी काठमाडौंको सृजनशील महिला समाज संस्थागत विधाअन्तर्गतको अवार्डबाट सम्मानित भयो ।

प्रकाशित : भाद्र २१, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?